banner
banner

बालविवाह र छोरा नै किन ?

अधिवक्ता गंगा दाहाल---
संयुक्त राष्ट्रसंघको जनसंख्या कोषले एउटा रिपोर्ट सार्वजनिक गरेको छ– बाल विवाह रोक्न र छोरीभन्दा छोरा नै चाहिन्छ भन्ने मानसिकता परिवर्तन गर्न जरुरी देखिन्छ । दक्षिण एसियामा यो समस्या बनेको छ ।
नेपालको सन्दर्भमा यो रिपोर्ट सही छ । बालविवाह घटेको छैन, कानुनको कसैले पर्वाह गर्दैनन् र छोरी भए गर्भपतन गराउने क्रम पनि बढ्दो छ ।
यो रिपोर्ट सत्यमा आधारिता छ । नेपालमा बाल विवाहको समस्या छ । पहाड र तराईमा बाल विवाह अहिले पनि भइरहेका छन् । छोरी जन्मिए रुने, दिक्क मान्ने र छोरा जन्मिए भोजभत्तेर नै गरेर खुशियाली मनाउने चलन पनि छ । छोरी र छोरामा यतिबिघ्नको बिभेद, यथार्थमा हिंसाको कारण यही हो ।
राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले जारी गरेको ‘विश्व जनसङ्ख्या स्थिति प्रतिवेदन २०२०’ अनुसार विश्वभर कम्तिमा १९ हानिकारक अभ्यास मध्ये स्तनाकार मिलाउनेदेखि कुमारीत्व परीक्षणसम्मका अभ्यासलाई मानव अधिकार उल्लंघनका रुपमा लिएको  छ । यी अभ्यासहरु मध्ये मूलतः बालविवाह र छोरीभन्दा छोराको चाहना बढीलाई यस प्रतिवेदनले जोड दिएको छ । निर्देशक डा.नतालिया कानेम भन्छिन्– किशोरीहरू विरूद्धको हानिकारक अभ्यासले गम्भीर प्रकृतिको मानसिक आघात निम्त्याउँछ । यसले उनीहरूको पूर्ण प्रगतिको संभाव्यताको अधिकार  समेत हरण गर्दछ । बालविवाह हुने एसियाली देशहरु मध्ये नेपाल पनि एक हो । कानुनले विवाहका लागि २० वर्ष तोकेको भए पनि पहाड र तराई क्षेत्रमा ९ वर्षदेखि १८ वर्षसम्मका बालिकाहरुको विवाह धेरै हुने गरेका छन् । ती बालिकाहरुलाई  न शिक्षा, स्वास्थ्यको चेत छ, न त उनीहरुमा लगानी,  विवाह गर्ने उमेर बढाउने र छिटो बच्चा नजन्माउने ज्ञान नै छ । नेपालको सन्दर्भमा यो ठूलो समस्या हो, जसले महिलामा हिंसा र अनेक समस्या सिर्जना गर्नेगर्छ ।
छोरा नै जन्माउनु पर्ने समस्या झन विकराल छ । बुहारीले छोरा नजन्माउँदा उनले अनेक गोता खानुपर्छ, मानसिक शारीरिक यातना खप्नुपर्छ । यतिमात्र होइन, छोराकै लागि बहुविवाह गर्ने प्रचलन पनि धेरै छ । छोराकै लागि गर्भ परीक्षण गर्ने र छोरी भए गर्भ पतन गराउने महामारी पनि फैलिसकेको छ । देशका प्रत्येक सहर र टोलटोलमा ‘यहाँ सुरक्षित गर्भपतन गरिन्छ’ भन्ने साइनबोर्ड र मेरी स्टोप्सका शाखाहरु गुल्जार तरिकाले चलेका छन् । ती सबैमा असुरक्षित गर्भपतन गराउने धन्दा चलिरहेको छ । यौन छाडापन र यौन हिंसा बढ्नु र छोरा विवाहिता दम्पत्तिमा छोरा नै जन्माउनु पर्ने भन्ने मानसिकताले पनि गर्भपतनको मात्रा बढेर गएको छ । यो बिकृतिलाई रोक्न जरुरी देखिन्छ ।
कानुन र भाषणमा छोरा र छोरी बराबर भन्ने गरिन्छ । सक्षम महिलाहरुले अवसर पाएका छैनन् । राजनीतिक र प्रभावमा महिलाले पाउने अधिकार निश्चित हुन्छ । हुन त स्वयम् महिलाहरु ३३ प्रतिशत राजनीतिक अधिकार पाए पनि धेरै हुन्छ भनेर सन्तोष गरेका देखिन्छन् । जब कि महिलाले १० प्रतिशत पनि राजनीतिक अधिकार पाएका छैनन् । जब राजनीतिक अधिकार पाउन्नन् भने महिलाले सामाजिक, अािर्थक, राज्यका सबै सञ्जालहरुमा समान अवसर कसरी पाउन सक्छन् ? महिला कमजोर छैनन् तर महिला माथि विभेद बढी छ ।
अव त छोरी जन्माउनै कम गर्न थालेपछि आउने समय कस्तो होला ? लैङ्गिक भेदभाव जबसम्म हट्दैन, तवसम्म समृद्धी र शान्तिको कल्पना नगरौं ।
यो पितृसत्तात्मक समाज हो । छोरी बिहे गरेर गइहाल्छे भन्ने मानसिकताले पनि समान व्यवहार हुन्न । बाल विवाह र छोरा नै चाहिने सोच बदलौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper