banner

नागरिकता कसलाई दिने ?

बरिष्ठ अधिवक्ता शिव सिग्देल--
भारतमा विदेशीलाई ७ वर्षपछिमात्र अंगीकृत नागरिकता दिने प्रावधान भएकाले नेपालले पनि यही बिधि अपनाउने निर्णय गरेको छ सत्तारुढ दलले । प्रतिपक्षी नेपाली कांग्रेस भन्छ– नागरिकता तुरुन्तै दिनुपर्छ । सत्तारुढ दलसँग बहुमत छ पास होला, तर बिबाद टुङ्गिदैन ।
हो, देशको नक्सा, सीमाका बारेमा सरिता गिरीले भारतलाई नसोधी किन जारी गरेको भनेर प्रश्न गरेपछि, संविधान संशोधन रोक्न प्रयास गरेपछि शंका उत्पन्न हुनु स्वभाविक हो । बिहे गरेर नेपाल भित्रिएकालाई नागरिकता दिने सवाल पेचिलो बन्दै गएको छ ।
सबै सरिता गिरी हुँदैनन् ।
र, बिहे गरेर ल्याएकी परिवारकी सदस्यलाई किन नागरिकता नदिने ?
रोक्ने संविधानमा हो । अमेरिकाको संविधानमा अमेरिकी भूमिमा जन्मेको बाहेक कसैले पनि राष्ट्रपतिको उमेदवारसमेत बन्न पाउँदैनन् । यस्तै प्रावधान संविधानमा राख्न सकिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखजस्ता कुनै पनि संवैधानिक पदमा अंगीकृत नागरिकता भएको व्यक्तिलाई पद धारण गर्न बन्देज लगाउनु पर्छ । यति बन्देज लगाएपछि परिवारको सदस्य भएर कोही आउँछ भने उसलाई नागरिकताबाट बन्चित गरिरहन जरुरी छैन ।
हो, फिजीमा सहज नागरिकता दिएका कारण भारतीयहरुको बर्चस्व रह्यो र बैधानिक रुपमै महेन्द्र चौधरीजस्ता व्यक्ति शासक बन्न पुगे । फिजीमा भारतीयहरुको दबदबा कायम रह्यो । नेपालले त्यस प्रकारको विदेशी हस्तक्षेपलाई रोक्न नागरिकता नियममा कडाइ जरुरी छ । जनमत संग्रह, ०४६ साल र ०६३ सालको परिवर्तनपछि पचासौं लाख विदेशीलाई नागरिकता दिइयो । भारतका सहर सहरमा नेपालके नागरिकता इधर मिल्ता है भन्ने विज्ञापन बोर्ड पनि देख्न पाइयो । सजिला सर्तहरु, राजनीतिक दबाब, कर्मचारीको सेटिङमा नेपाली नागरिकता कति बेचिए बेचिए । किनबेच भएका ती नागरिकताको छानबिन जरुरी छ । र, नागरिकता दिने अधिकृतहरुलाई पक्राउ गर्ने हो भने नागरिकता आलुभेण्डा बिक्री भएजसरी बेचिएका यथार्थ देखिनेछ ।
समस्या शासनमा छ, प्रशासनमा छ, राजनीतिमा छ । परिवारको सदस्य बन्न कोही आउँछ भने उसलाई अंगीकृत नागरिकता दिनु ठूलो समस्या होइन, ठूलो समस्या त जालझेल, मिलिभगतमा नागरिकताको बेचबिखनमा छ । यसकारण अहिलेसम्म विदेशी जो कसैलाई बितरण भएका शंकास्पद नागरिकताको छानबिन हुनुपर्छ । अव दिइने नागरिकतामा सहजता हुनुहुन्न ।  अन्यथा नेपाल धर्मशाला बन्नजानेछ ।
जबसम्म कानुन बनाए पनि कानुन छल्ने छिद्रहरु कायम रहन्छ, नागरिकता किनबेच भइरहन्छ । लाखौंलाख विदेशीसँग बंशजका आधारमा नेपाली नागरिकता छ । यो कसरी भयो ? यसमा नीतिनिर्माता, प्रशासन र राजनीतिक दबाब जिम्मेवार छ । कानुनका साथै शुद्धिकरण र इमानको विकास गरौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper