banner
banner

यसैले मूल मनोवृत्तिमा परिवर्तन हुन जरुरी छ

मदनराज थापा–
मनुष्य एक श्रेष्ठ बिबेकशील प्राणी हो र चिन्तनधर्मी र तार्किक बुद्धिको अधिस्थाता हो ।
विचारशील र  मननशील  प्राणी भएकाले  मानिसले समुचित  बौद्दिक बिकाश गर्दै  आफ्नो जीवनलाई ब्यबस्थित रुपले परिचालन  गर्दै आउन सम्भव भएको हो  । हाम्रा पूर्वज तत्वज्ञानी ऋषिमुनीहरुले आदिकालदेखि नै मानिसलाई पबित्र, कर्मठ, समृद्ध र गतिशील बनाउन  सतत प्रयास पनि गरे र यशस्वी आचार्यहरुले मानिसलाई  आत्मबिकास र आत्मानुभूतितर्फ डो¥याउन  जीवनमूल्य युक्त मानिसको कल्पना गर्दै पुरुषार्थ प्राप्त गर्न  अनेक पक्षहरु निर्धारण गरे र जीवनको लक्ष्य निर्धारण गरी त्यसलाई पूर्ति गर्न अनेक उपायको खोजीमा  लाग्दै रहे र समस्या पहिचान गर्न र त्यसको समाधान गर्न सिकाउँदै रहे । किनकि मनुष्यले जीवनमा सुख प्राप्त गरोस भन्ने असीम चाहना थियो ।  हुन पनि हरेक मानिस सुख चाहन्छन्    र यसको  अर्थ हो मानिस जहिले पनि ‘समाधान‘  चाहन्छ र  समस्या भएको ठाउमा सुख हुँदैन । समाधानको स्थितिमा मात्र सुख हुन्छ । अब समाधान त्यहाँ हुन्छ जहाँ समस्याको निदान हुन्छ र त्यसको ओखति मुलो हुन्छ ।  
आजको कठिन समस्या भनेकै  समयमा समस्या चिन्न नसक्नु हो । नैतिक ह्रास र मूल्यहीनताले एकतर्फ मानबीय समाजमा अत्याचार, अनाचार, भ्रष्टाचार, हिंसा, आतंकबाद र सांस्कृतिक स्खलन जस्त विसंगति ल्यायो भने  अर्कोतर्फ अनेक कारणले गर्दा आर्थिक विषमता, गरीबी, अशिक्षा, बेरोजगारी, कुपोषण जस्ता समस्या बिकराल रुपमा देखापरेका छन् । यसले गर्दा समस्टिमा मानबीय जीवन अन्त्यन्त कुण्ठा, लाचारी, मजबूरि र निराशको क्षणमा बिताउन बिबस छन् । कारण, एकातर्फ तथाकथिक अत्याधुनिकता र पास्चात्य संस्कृतिको घुसपैठ छ भने अर्कोतर्फ समस्या सुल्झिनुको सट्टा अझ बल्झिनु रह्यो । समस्याको यथार्थ रुप र स्थितिको अडकल गर्न नसकी अल्झीनुमा नै समय बित्यो । 
साधारणतया, समस्याको  दुइवटा  बर्गीय रुप हुन्छ– एक  ‘शाश्वत’ र  अर्को ‘सामयिक’,  भने प्रत्येक समस्याका ‘मूल‘ र ‘प्रतिफलन’ गरी  दुई स्थिति हुने गर्दछ । समस्याका यी बर्गीय रुप र स्थिति आआफ्नै परिधिमा प्रतिष्ठित हुन्छन् र जुन समस्या ‘मनोगत’ अवस्थामा उत्पन्न भएर बाह्य सामाजिक ब्यबस्थामा प्रतिफलित हुन्छ, त्यो ‘शाश्वत’  समस्याको कोटीभित्र पर्दछ, भने ‘सामयिक’ समस्या चाही प्राकृतिक अवस्थामा उत्पन्न भएर सामाजिक ब्यबस्थामा प्रतिफलित हुने गर्दछ ।
अहिले चिन्तनका आस्थाहरु फरक छन्, नजरिया फरक फरक छन् ।  पौरस्त्य चिन्तनले  पुरुषार्थको व्यवस्था गरेको छ, जसमा ‘मोक्ष’ लाई जीवनको परम मूल्यको रुपमा, ‘अर्थ’ र ‘काम’ लाई मोक्ष प्राप्तिको साधनको रुपमा तथा ‘धर्म’ लाई ती साधनहरु प्रयोगमा ल्याउन नियमनकारी भूमिकाको रुपमा उल्लेख गरेको छ । तर अहिले पुरुषार्थलाई हेर्ने  दृष्टिकोणमा परिवर्तन आएको छ । पास्चात्य चिन्तनले त अझ वर्तमानलाई नै सत्य मानेर साध्य मान्दछ, भोगबादी दर्शन नै यसको बिशेषता हो जसमा अर्थ र कामलाई प्राथमिकता दिइएको छ । धर्मको परिभाषा पनि फरक परिसक्यो र यसैकारण, मानिसले आफुभित्र रहेको  ‘अहम’ लाई आफूभित्र विलिन गर्न सक्ने क्षमतामा ह्रास आएको छ । जबसम्म त्यो अहम वा अभिमान व्यक्ति मै रहिरहन्छ, उसमा एक जबर्जस्त भोक प्यास जागेर आउँछ, तब त्यसको तृप्तिको लागि अरुलाई ‘लघु’ देखने र आफु भन्दा ‘कमजोर’ बनाइ राख्न उद्धत रहन्छ । यस प्रतिक्रियाको परिणाम स्वरूप उसको मनमा अनेक धारणाहरु बद्ध मूल हुन्छन्, अनि बेला बखतमा त्यस व्यक्तिको आन्तरिक समस्या सामाजिक ब्यबस्थामा प्रतिफलित भएको देख्छौ । 
धनी–गरिब, उच्च–नीच, नेता–कार्यकर्ता, उन्नति, अबनति, यी सब  प्राकृतिक विभिन्न प्रतिफलन स्थिति हुन् र समाज व्यवस्थाको  काल, परिस्थिति र सन्दर्भ अनुसार यी सबै परिबर्तन हुने गर्छन्  र  तर  अर्को तर्फ, ‘म’ र ‘त’ भन्ने एक प्रकारको ‘अहम’ शाश्वत  मनोवृत्तिको प्रतिबिम्ब चाही  सामाजिक ब्यबस्थामा अनेक रुपबाट रहिरहन्छ । यसको निराकरण नभए सम्म समस्या समाधान हुन मुस्किल पर्दछ र यो प्रतिबिम्ब समाजमा रहिरहनुको कारण यसको समाधानको कार्य समाज ब्यबस्थामा परिबर्तन गरेर गर्न थालियो । बुझुनुपर्ने के छ भने मानसिक रुपबाट आउने समस्यालाई  समाज ब्यबस्थामा परिबर्तन गरेर हुँदैन, केही हुन्छ तर अपूर्ण र मूल समस्या समाज ब्यबस्थामा थिएन, र औषधि गरियो केवल प्रतिफलनको अनि बस के थियो र अहम प्रतिबिम्बले समाजमा निरन्तरता पाइनै  रह्यो ।
अघिनै भनियो, धनी र गरिब  स्थिति हुनु प्रतिफलन कुरो हो । को कहिले कति धनी थिए ? को कहाँ कति निर्धन भए ? भन्ने कुरा समाजमा परिबर्तन भै रहन्छ । गरिबलाई  निर्मुल गर्न ‘आर्थिक सहयोग दिएर ‘जग्गा बितरण’ गरेर समाधान  हुने होइन । अहिलेको समस्या हो  धनीलाई  हेर्ने र गरिबलाई हेर्ने मूल मनोबृतिको,  दृष्टिकोंणको, अनि हामी त्यो मूललाई निराकरण गर्न पटक्कै नलाग्नु   ।
त्यस्तै उपल्लो जात र दलित वर्ग को भेदभाव केवल सामाजिक व्यवस्थामा परिबर्तन गरेर समस्या समाधान गर्ने पट्टि लाग्ने होइन । ऐंन, कानुन बनाएर समाजको रितिस्थिति केहि परिवर्तन हुन्छ तर परिबर्तन हुन पुस्तौपुस्ता लाग्छ र जातीय भेदभावको मूल समस्या नै सुक्ष्म मनोबृति भएकाले, त्यसको रुपान्तरण पट्टि लाग्नुपर्छ । मानिसको ‘शाश्वत’ मनोबृति के हुन्छ भने– ऊ आफु शक्ति सम्पन्न होस् र दीनहीन अशक्त व्यक्तिहरु त्यस्तै स्थितिमा बाँचिरहुन भन्ने सोच राख्दछ  ।  कवि शिरोमणि लेखनाथको शब्दमा– ‘मै खाउ, मै लाउँ, सुख सयल वा मोज म गरुँ । म बाचूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरु’ । उसको हृदयमा गुन्जी रहन्छ ।
आफु समान भएर अरु पनि त्यसरी नै रहुन भन्ने उसलाई स्वीकार हँुदैन र व्यक्तिको मनमा लोभ, मोह, मद्,   इष्र्या –द्वेष, हर्ष–शोक, आशा ,निराशा, क्रोध आदि भाव कुनै न कुनै रुपमा पाइन्छ । स्वबिबेक र सामाजिक मर्यादाको कारण व्यक्ति आफ्ना यी भावलाई नियन्त्रणमा राखेको हुन्छ तर कुनै अवसर पाउनासाथ सबै मर्यादा भुलेर आफ्नो आदर्शबादी मुकुण्डो उतारेर फ्याँक्छ, अर्थात् यो सामाजिक  स्थितिमा प्रतिफलित हुन्छ, प्रतिबिम्बित  हुन्छ र  यस्तो अवस्थामा हुन्छ के भने  समस्या नयाँ आकारमा प्रकट हुन्छ र नबिन समस्या जन्मिन्छ । 
यसरी हेर्दा के देखियो भने, समस्या जहाँ प्रतिफलित हुन्छ, त्यहाँ सही उपचार हुन सक्दैन, सतही मात्र हुन्छ । त्यसको मूलमा हुनुपर्छ, रुट कज पत्ता लगाउनु पर्छ र यस उपचार पद्दतिको सुत्र या त चेतनाको स्तरमा मानसिक विकास गर्दै जानुपर्छ या त प्राकृतिक सम्पदाको बिकास गर्नुपर्छ । यसको लागि समाजमा जीवन मुल्यको अर्थ बोध गराउने अनबरत  प्रयास गर्दै रहनुपर्छ । समाजमा परस्पर मानबीय सम्बन्धलाई सतत गतिशील बनाउन जीवनलाई बहुआयामीक दृष्टिबाट हेर्ने भिजन दिने  प्रयास गर्नुपर्छ । मनुष्य जीवनको अर्थ, आकर्षण, उच्चता र श्रेष्ठता मूल्यले प्रदान गर्नेगर्छ  । यिनै मूल्यको कारण मानिसको मनमा बिश्वास, श्रद्दा  प्रेरणा, बफादारी, जिम्मेवार र कर्तब्यको भावना जागृत हुन्छ । मानिस आफ्नो जीवन दृष्ठिकोण मूल्यको आधारमा निश्चित गर्दछ । यसर्थ मुूल्यको पालना अनुपालन गर्दै सही ढंगले समस्याको पहिचान र उपचार गर्न जरुरी छ ? यसैले मूल मनोबृतिमा परिबर्तन जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper