banner
banner

कहासम्म पुग्ला यो आन्दोलन ?

शाश्वत शर्मा--
एकातिर कोरोनाको महामारी छ, अर्कोतिर ििभन्न दलहरुद्वारा संविधान संशोधनका लागि आफ्ना आफ्ना पार्टीका तर्फबाट संशोधनको प्रस्ताव दर्ता गराउनेलहर नै चलेको छ । अझ अर्कातिर महामारीको समेत परवाह नगरी सडकबाट ‘राजतन्त्र’ फर्काउनका लागि जुलुस, राँके जुलुस र नाराबाजी गर्ने क्रम पनि बढ्दो छ । यो आन्दोलन जनतामाथि लोकतन्त्र भनेर नेताहरुले गरेको अन्याय र अत्याचारको विरुद्ध र शान्ति र सुरक्षाको माँगकै लागि हो । यो शान्ति र सुरक्षा अभिभावकबिना सम्भव देखिन्न पनि ।
माइतीघर मण्डलाबाट सुरु भएको राजा आउ देश बचाउ र राजतन्त्र जिन्दावादजस्ता नारा रुपन्देही, सुनसरी, बारा, मोरङ हुँदै देशभरि फैलिने क्रम बढ्दो छ । उल्लेख्य नागरिकको सहभागिता रहेन गरेको यस्ता खाले जुलुस र नारावाजीले गर्दा सुस्ताएका अधिकांश राजावादीहरु फेरि जुर्मुराउन थालेका छन् । जेहोस्, सडकबाट नै माँग उठ्न सुरु भएको छ । यो नारावाजी र माँग बढ्दै जाँदा राष्ट्रिय स्तरमा पु¥याउने अभिभारासहितको नेतृत्वको जिम्मा कसले लिने ? यो गम्भीर प्रश्न उठिसकेको छ ।
एकजना नैतिकवान नेतृत्व सार्वजनिक हुने हो भने यो बिद्रोहको झिल्को देशव्यापी डढेलोजसरी सल्किन सक्छ । संविधानको संशोधनको बखेडा सुरु भइसकेपछि राप्रपा अथवा कसैले पूर्वाजालाई पनि संविधानमा स्पेस दिनुपर्छ भनेर संशोधन हालेका छैनन् । संविधानविपरितका संशोधन हाल्न पाइन्न भने पार्टीका माँगमा संशोधन किन हालियो ? राष्ट्रको मामिला सर्वसम्मत हुनुपर्ने हुनसकेन । स्पष्ट कुरो के हो भने राजावादीको सकृयताले गणतन्त्रवादीको निद हराएको चाहिँ पक्का हो । किनकि ठूला दलका देशभक्त कार्यकर्ताहरु समेत यो आन्दोलनमा सहभागी भएका देखिन्छन् । यसबाट चेत खुलेको र संचेतना आएको मान्नुपर्छ ।
नेपाली नक्सालाई निशानछापमा सामेल गराउने उद्देश्य संविधान संशोधनको हो । यही कार्य हुन नदिने मधिसे दलहरुले बिघ्न हाल्न पार्टीका माँग संशोधनमा सामेल गराउन दबाब दिइरहेका छन् । अंगीकृत नागरिकता दिनुपर्ने र तिनलाई राष्ट्रपति हुनपाउने सुविधा तिनीहरुको अभिष्ट हो । अहिलेसम्म ४० लाख भारतीयलाई नेपाली बनाउन सफल मधेशवादी दलहरुले मधेशका जनतामाथि अन्याय गरिरहेका छन् । यो अन्याय अझ बढाउने उनीहरुको उद्देश्य रहेको छ । नेपाल नेपालीको हो, नेपाल र नेपालीको रक्षार्थ राजतन्त्र चाहिएको कारण नै यही हो ।
आज मूल मुद्दा राष्ट्र नै रहने कि नरहने भन्ने छ । तसर्थ यो मुलुकलाई सार्वभौम नै राखिराख्ने हो भने, नेपालीहरु भएर नै बाँचिरहने हो भने, बल्झिरहेको राजतन्त्रवादी आन्दोलनलाई साथ र समर्थन दिन जरुरी देखिन्छ । यो जरुरतको पूर्ति आमनेपाली घरघरबाट निस्केपछिमात्र सम्भव छ । खासगरी युवा बर्ग अगाडि आउनुपर्छ । जुनसुकै दलका हुन्, अवको नेतृत्व बुढापुस्ताले होइन, युवाहरुले लिनुपर्छ र देशका लागि सतिसाल बनेर युवाहरु नै हरेक मोर्चामा उभिनुपर्छ । नेपाली अस्तित्व बचाउने उत्तम उपाय अभिभावकसहितको युवा नेतृत्व हो । होला, यी तथाकथित गणतन्त्रवादीको जस्तो आक्रामक आन्दोलन नहोला, तर एउटा आन्दोलनको झिल्को आमनागरिकको मनमनमा सल्किएको असन्तुष्टिको प्रस्फुटन हुनथालिसकेको छ । आम देशभक्त नागरिकहरुको साथ र सहयोग, युवाको सक्रियताले यो आन्दोलनलाई बढ्दो बिकृति र बिसंगतिका विरुद्ध आवाज बुलन्द गर्नेछन्, यत्ति भए आन्दोलन निर्णायक तहमा पुग्ने पक्का छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper