banner

योगीको किन बदलियो टोन ?

योगी आदित्यनाथ नेपालका हितचिन्तकका रुपमा खुब चर्चा गरियो । जब सिमानाको सवाल उठ्यो, योगीले भनिहाले– नेपालले सीमा निर्धारण गर्दा परिणाम पनि ख्याल गरोस् ।
नेपालले भारतको सिमाना कहिले माग्यो र ख्याल गर्ने ? नेपालले प्रमाणका आधारमा नेपालको सीमा अतिक्रमण नगरियोस्, अतिक्रमण गरिएको सीमा भारतले छाड्नुपर्छ भनेर नक्सा जारी गरेको हो । नेपालले वार्ताको प्रस्ताव गरिरहेकै छ, वार्ताबाट समस्याको निदान खोज्न भनिरहेकै छ, वार्तामा जोड दिनुपर्ने योगीले किन नेपाललाई धम्क्याए ?
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भविष्यको परिणाम ख्याल गरेर राजनीतिक सीमा निर्धारणसम्बन्धी कदम चाल्न नेपाललाई चेतावनी दिनु भनेको योगीको योगमा खिया लागेको हो । गत बुधबार लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा योगीले यसरी धम्क्याए ।
कात्तिक १६ गते नेपाली भूमि भारततिर पारेर काश्मिर खाएझैं नेपालका लिपुलेक, लिम्पियाधुरा, कालापानी खाएर नक्सा जारी गरेको हो भारतले । नेपालले पनि ती भूमि नेपालको हो भनेर नक्सा जारी गरेको हो । कूटनीतिक र राजनीतिक कुरा हुँदै थिए, जेठ २ गते भारतका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरभणेले नेपालमाथि कसैको उक्साहटमा नेपालले लिपुलेक सडकको विरोध गरेको अभिव्यक्ति दिएर नेपाल चीनतिर ढल्केको आरोप लगाइदिए ।
नेपालले ३ पल्ट कूटनीतिक नोट पठाइसकेको छ, वार्ता गरौं भनिरहेको छ, जवाफ दिनुको बदलामा यसरी सैनिक धम्की आउनु दुर्भाग्यपूर्ण हो ।
यसमाथि योगी आदित्यनाथजस्ता ज्ञानीले समेत नेपाललाई धम्क्याउनु, यो त झन ठूलो दुर्भाग्य हो । भारतका प्रधानमन्त्रीको विश्वासपात्र र भविष्यमा भारतका प्रधानमन्त्री हुने व्यक्तित्वले नेपालमाथि गलत चेतावनी दिन मिल्छ ?
योगीले भनेका छन्– ‘नेपाल र भारत दुई देश भए पनि हाम्रो आत्मा एउटै हो । नेपालले तिब्बतको भविष्य के भएको हो भन्ने विचार गर्नुपर्छ । उसले तिब्बतको जस्तो गल्ती गर्नुहुँदैन । नेपालसँग सांस्कृतिक रूपमा सम्बन्ध रहेको गोरक्षपीठका महन्तसमेत रहेका योगी विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका उपाध्यक्ष पनि हुन् । महासंघले नेपालमा राजसंस्थासहित हिन्दू अधिराज्यका पक्षमा राजनीतिक लबिङ गर्दै आएको छ । आदित्यनाथले नेपाललाई स्पष्ट शब्दमा भनेका छन्, ‘नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दाअघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा पनि सोच्नुपर्छ । विगतमा तिब्बतमा के भएको थियो, तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालीले सम्झिनुपर्छ ।’ यसको अर्थ भारतले जे जति नेपाली भूभाग अतिक्रमण गरेको छ, चुपचाप छाड्नुपर्छ भन्ने अर्थ लाग्छ, जुन नेपालले कदापि सहन गर्न सक्दैन ।
आदित्यनाथले नेपालको तिब्बतीकरणको भय पोखेका हुन् वा तिब्बत चीनमा मिसिएझैँ भारतले नेपाललाई लिने धम्की दिएका हुन्, बिबाद गर्न सकिन्छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा नेपाली भूमि भएर लिपुलेक–मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि नेपालमा ठूलै तरङ्ग उत्पन्न भएको छ । यसपछि नेपाल सरकारले ७ जेठमा नेपालले लिम्पियाधुरासम्म समेटिएको नयाँ नक्सा जारी गरेको थियो । यसपछि नेपाल र भारतमा बहस भइरहेका वेला योगी आदित्यनाथको नकारात्मक टिप्पणी आएको हो । भारत यतिबेला लद्दाखमा सीमा विवादमा युद्धकोजस्तो अवस्था भोगिरहेको छ । नेपाललाई जसरी मिच्न खोज्दा चीनसँग भारत लत्रनु परेको हो । भन्नलाई भारत १९६२ को भारत होइन भनेर चर्किरहेको सुनिन्छ, त्यतिबेला चीनले युद्धमा भारतलाई हराइदिएको थियो । बहादुरीका साथ भारत युद्धबाट पछि हटेको थियो ।
स्मरणीय छ, मुख्यमन्त्री आदित्यनाथले २४ पुस २०७४ मा पूर्वराजा ज्ञानेन्द्र शाहलाई लखनउस्थित निवासमा भेटेका थिए । उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री रहेका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग वार्ताबाट समस्या समाधान गर्ने बताइरहेका वेला आदित्यनाथले नेपाललाई भड्काउने अभिव्यक्ति दिएका छन् । आदित्यनाथले नेपाल र भारतबीच सदियौँदेखिको सांस्कृतिक सम्बन्ध रहेको र यो सीमाबाट निर्धारित हुन नसक्ने पनि बताएका छन् । यो सम्बन्धलाई आधार मानेर नेपाल सरकारले निर्णय लिनुपर्ने पनि उनको भनाइ छ । नेपाली जनता, खासगरी युवाजमात देशव्यापी रुपमा भारतको पुतला दहन गरिरहेका छन्, सरकारको साथमा एकढिक्का भएको छ नेपाल । यो नेपाली एकता फोड्नकै लागि भारतले संसदमा पेश भएको संविधान संशोधनमा मधेशी दल अगाडि सारेर र सरिता गिरीजस्ता सांसदलाई उचालेर भारतलाई नसोधी किन नक्सा जारी गरेको जस्ता प्रश्न गर्न लगाइरहेको छ । जुन सांसदको निकृष्ठताको परिचायक मानिएको छ ।
प्रचारमा आएको एउटा प्रसंग– एकजना उच्च सरकारी अधिकारीले नयाँ पत्रिकासँग भने, ‘आदित्यनाथले परिस्थितिलाई भड्काउन खोजेका छन् । उनले नेपाललाई चीनले लिन्छ भनेको हो कि हामी लिन्छौँ भन्न खोजेको हो स्पष्ट छैन, उनले जेसुकै बोले पनि यो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति हो ।’ 
भारतकै बरिष्ठ सैनिक अधिकारीदेखि सीमा ज्ञाताहरु भारत यस मामिलामा गलत स्थानमा रहेको बताइरहेका छन् । कालापानीका विषयमा कुनै विवाद छैन भन्नेमा म पुनः स्पष्ट गर्न चाहन्छु । कालापानी नदी हो । १८१६ को सन्धिअनुसार नेपाल भारतको सीमा महाकाली नदी हो । महाकाली नदीको उत्पत्ति लिम्पियाधुराबाट भएको छ । महाकालीको उत्पत्ति विन्दु बृटिशकालीन नक्साहरुले र चीनका नक्साले पनि स्पष्ट पारेकाले भारतले अतिक्रमण गरेका भूभागहरु नेपालकै हुन् । फेरि भारतले किन बखेडा गरिरहेको होला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper