banner
banner

यी कसरी बन्छन् कर्णधार ?

अधिवक्ता गंगा दाहाल -
हरेक बालबालिकालाई राजा र रानी भनेर पालनपोषण गरेकाले उत्तर कोरियाका हरेक बालबालिका राष्ट्रका कर्णधार बनेर निस्केका छन् । अरु सम्पन्न मुलुकहरुमा पनि बालबालिकालाई राज्यले नै कानुनी संरक्षण दिएर हुर्काउँछ, त्यसकारण उनीहरु बिलक्षण प्रतिभाका हुन्छन्, युवा बनेपछि देश बोक्छन् ।
हाम्रा बालबालिका भोको पेट, नाङ्गो शरीर, काँधमा काम, फोहरी बनेर कुकुर बोकेर घाँसपात गर्छन्, दाउरा खोज्छन् । यिनीहरुले पढ्ने कहिले ? यिनको संरक्षण गर्ने राज्य कहाँ छ ? जब राज्यले नागरिक निर्माण गर्न सक्दैन, देशको भविष्य कसरी भरलाग्दो र उज्यालो हुन्छ ? यिनको बालअधिकार कता छ ?
आजका बालबालिका भोलिका भाग्य र भविष्य हुन् । एकसरो लाउने कपडा छैन, पुस्तक बोकेर स्कूल जानुपर्ने बालबालिका यसरी हातमा कुकर र पिठ्यूँमा डोको बोकेर जीवन धान्न बाध्य छन्  । कुपोषण, अशिक्षा, अभाव र अनेक व्याधिबाट बालबालिकालाई बचाउनै गाह्रो छ, बचाएपछि यसरी सानैदेखि घरेलु काममा लाग्नेहरुले चेतनाको उज्यालो पाउने कहिले, दिने कस्ले ?
यी बालबालिकाको भविष्य सोचौं, कस्तो भविष्य होला यिनको र यिनले  देशको कस्तो भविष्य निर्माण गर्लान्, समाजशास्त्रीहरुलाई कहाली लाग्दैन ? योजनाकारहरु कता छन् ? नागरिक समाजले किन बोल्दैन ? सम्पन्न र विपन्नको यति ठूलो विभेद भनेको आफैमा बम र बारुद होइन र ? शान्ति शान्ति भनेर शान्ति आउँदैन, शान्ति ल्याउन विभेदको अन्त्य हुनुपर्छ । सोच खोई ?
नीति गलत कि नेतृत्व गलत ? सोच सही भए व्यवहारमा समानता खोई ? बच्चालाई उनीहरुको उमेर र इच्छा अनुसारको ज्ञान हासिल गर्न सक्ने वातावरणमा अभिभावकले सृजना गरिदिनै पर्छ यो जरुर हो ता कि उनीहरुको शारीरिक, मानसिक, बौद्धिक, शैक्षिक बिकासमा प्रभावकारी भूमिका खेलोस् र उनीहरु आफ्नो परिवारभित्र सहयोगी, अनुशासित, मर्र्यािदत, ब्यबहारिक र आत्म बिश्वासी बनुन् । तव न समाज बलियो हुन्छ, राष्ट्रको बलियो आधार तैयार हुन्छ । हामी जग बिनाको घर निर्माण गर्दैछौं, हावा गफले देश सम्पन्न हुनसक्दैन ।
बालबालिका भनेका गीलो काँचो माटो हुन् । माटोलाई जुन आकारमा ढाल्न सक्यो त्यही आकारको आकृति बन्छ, जस्तो बनायो त्यस्तै बन्छन् । बालबालिकाको क्षमता बिकास गर्नका लागि पारिवारिक हेरचाह र संरक्षणको जरुरत पर्छ । पहिलो जिम्मेवारी बाबु आमाको हुन्छ । यदि बाबु आमा छैनन् भने आफन्तकोमा भए पनि बालमैत्री वातावरणमा हुर्कन पाउनु पर्ने बालबालिकाको नैसर्गिक अधिकार नै हो  । त्योभन्दा पनि बालमैत्री सरकार हुनुपर्छ । सरकारले प्रत्येक बालबालिकाको शिक्षा, स्वास्थ्य, खाना र बासको प्रवन्ध गर्नुपर्छ । मानसिक क्षयीकरणले विकासको गफ हाँकेर विकास सम्भव छैन । चेतनशीलता ल्याउन सके विकास चेतनाले ल्याउँछ ।
आज समाजमा फैलिदै गरेको बाल हत्या, हिंसा, बालयौन दुराचार, बलात्कार जस्ता जघन्य अपराधका मुख्य कारण अशिक्षा हो । विदेशका यौन दुराचारी, दुव्र्यसनी समेत नेपाल आएर यस्ता घटना घटाइरहेका हुन्छन् । नेपाल गरीव छ, गरीवी व्याप्त छ । गरीवी र अशिक्षालाई ढाल बनाएर दुराचारीहरुले पैसाको बलमा कानुन मिचिरहेका छन् । नेपालको भविष्यमाथि खेलबाढ गरिरहेका छन् । नेपालले त्यस्ता तत्वहरुलाई पूर्ण नियन्त्रण गर्न सकेको छैन । उल्टै नेपाली भ्रष्टहरुले त्यस्तो कुतत्वहरुलाई सघाइरहेका देखिन्छन् । मूल कुरो नेपालमा बालमैत्री कानुन नै छैन, भएका कानुनको पनि पालना गरिन्न । नेपाल त बालबालिका बेचिने मुलुकमा पनि बदनाम हुनथालेको छ । बालबालिकालाई सवल नबनाउने हो भने देश सवल हुनसक्दैन । देशको भविष्य अन्धकार हुँदैछ भनेर बुझौं ।
चेतनाको अभावकै कारण, कानुन निर्वल भएकैले नेपाल मानव बेचेबिखन र यौन व्यापारको थलो बनेको छ । सुरक्षा बाल यौनदुराचार, बालबालिका बेचबिखन रोकिन सकेको छैन । बलियो कानुन र फितलो कार्यान्वयन तथा भ्रष्ट प्रशासनका कारणले विश्वभरिका माफियातत्वहरु नेपाल भित्रिरहेका छन् । बालहिंसा र बाल यौन दुराचारीका लागि नेपाल सुरक्षित थलो बन्दै गएको छ । बालबालिकामाथिको दुव्र्यवहारले बिग्रने देशका होनहार नागरिक र देशको भविष्य नै हो । हामी भविष्यमाथि बन्चरो हानिरहेका छौं । हामीमा राष्ट्रिय चेतना जाग्ने कहिले ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper