banner
banner

ठूलो दान नै रक्तदान

देवी काफ्ले, हाल न्यूजिलेण्ड -
मानव शरिरको बनोटको एउटा मुख्य अंश रगत हो  । रगत नभए शरीर बन्दैन । स्वस्थ्य शरिरको लागि  स्वच्छ रगत आवश्यक हुन्छ ।
कहिलेकाँही शरीरमा रगत कम हुँदा ज्यानै जाने सम्भावना हुन्छ । दुर्घटनामा परेर रगत बढी बग्यो भने, गर्भवती महिलाले बच्चा जन्माउने समयमा रगत कम भयो वा अत्यधिक रुक्तस्राव भयो भने र बच्चाहरूलाई रक्तअल्पता हुनगएमा  आवश्यक हुन्छ रगत । 
रगत कम भयर मृत्युको मुखमा पुगेका मान्छेलाई फेरि नयाँ जीवनदान दिन सकिन्छ, रक्तदानको माध्यामबाट ।
रक्तदान जीवनदान
हामी कतिपय मानिसलाई  रक्तदान गर्दा शरीर कमजोर हुन्छ, रगत सकिन्छ भन्ने भ्रम छ । यो कुरा बिल्कुल गलत हो । रक्तदानले शरीरमा रगत कम हुँदैन । हामीले तीन देखि चार महिनाको अन्तरालमा एक पल्ट रक्तदान गर्नु उत्तम हुन्छ । हामीले दिएको रगत २१ दिनमा पूर्ती भैसक्छ । रगतको मात्रा २४ देखि ७२ घन्टामा पूरा बन्छ । त्यसैले ढुक्कसँग रक्तदान गर्दा हुन्छ ।
रक्तदानबाट शरीरलाई  हुने फाईदा– अनेक छन् ।
रक्तदानले हृदयाघात हुने खतरा कम हुन्छ । क्यान्सर जस्तो रोग लाग्ने सम्भावना कम हुन्छ । शरीरमा आइरनको मात्रा कम हुनुहुँदैन । आइरनको मात्रा पनि ब्यालेन्समा रहन्छ । शरीरको बिषालु पदार्थलाई बाहिर निकाल्छ । रक्तदानले वजन कम गराउन मदत गर्छ । बढी क्यालोरी र बोसो घटाउँछ । शरीरलाई फिट राख्छ । बोनम्यारोमा नयाँ रेड सेल बनाउँछ र शरीर फिट र तन्दुरुस्त राख्न मद्दत हुन्छ ।
रक्तदान गर्ने दाताको विभिन्न जाँच गर्नु पर्ने हुन्छ । मिनी ब्लड टेष्ट हुन्छ जसमा हेमोग्लोबिन टेष्ट, ब्लड प्रेशर र वजन । जो स्वस्थ छ, उसलाई मात्र रक्तदानको सुझाव दिइन्छ ।
रक्तदान पछि रगतको जाँच गर्नु पर्ने हुन्छ । जसमा हेपाटाइटिस बि,सि,एच आई भि,मलेरिया आदिको जाँचमा यदि यी लक्षण देखियो भने रगत लिनु हुँदैन र दातालाई तुरुन्त जानकारी दिनुपर्छ । 
      रक्तदाताले रक्तदान गर्नु अगाडि  ध्यान दिनु पर्ने कुराः
रक्तदाताले रगतदान गर्नुभन्दा पहिले र दान गरेको केही घन्टापछि सम्म धुम्रपान गर्नु हुदैन । २४ देखि ४८ घन्टा पहिले देखि कुनै लागूपदार्थको सेवन गर्नु हँुदैन ।
रक्तदान गरेपछि केही समयसम्म मात्रै  शरीरमा कमजोरी भएजस्तो हुन्छ । कमजोरी धेरै बेरसम्म रहँदैन ।
आउनुहोस् हामी पनि रक्तदान गरेर जीवनदान दिऔं । हामीले रक्तदान नगरे पनि शरीरमा बनेको बढी रगत फोहरको रुपमा नष्ट भएर जाने हो । किन नष्ट हुने रगत दान गरेर मानवीय धर्म निर्वाह नगर्ने ? आफैलाई किन स्वस्थ नबनाउने ? हाम्रो शरीरमा दौडेको रगत खेर फाल्नु भन्दा कसैको जीवन बांच्ने आधार बनाऔं ।
हाम्रो धर्मसंस्कार अनुसार कसैलाई  जीवनदान दिनु सबैभन्दा पुण्यको काम हो । रगतको कमीले जानै लागेको ज्यान हाम्रो शरीरको रगतले बच्छ भने त्यो भन्दा ठूलो पूण्य अरु केही हुनै सक्दैन ।
जीवनको सबैभन्दा ठूलो दान  नै रक्तदान हो । यो जीवनदान हो । कल्याणम् परमम् सुखम् ।
महिलाहरु शारीरिक रुपमा अलि कमजोर हुन्छन् हो तर उनीहरु पनि रगतदान गर्न सक्छन् । जन्मदै आमाको रगतसँगको नाता गाढा हुन्छ । त्यसैगरी हामीले दिएको रगतले पनि कैयौं गाढा नाता बनाएको छ । हाम्रो रगत जसको शरीरमा सिंचित भएको छ उनको नयाँ जीवनको लागि रक्तदाता आमा सरह नै त हुन् । तपाईले दिएको करोडौं पैसा दानले कसैको ज्यान बचाउन सक्दैन जुन ज्यान हाम्रो एक पोका रगतले बचाउन सक्छ । जीवनदान दिनु सानो दान होइन त्यसैले रक्तदान गरौं ।
आज कोरोनाको महामारीले गर्दा अन्य रोगबाट ग्रसित, दुर्घटनामा परेर ज्यान जोखिममा परेकाहरुलाई रगतको कमीले अकाल मृत्युवरण गर्नु पर्ने अवस्थाले द्वार कुरीरहेको छ । त्यसैले पनि स्वस्थ्य मानिसहरुले रक्तदान गरौं । यो संकटको घडीमा कसैको प्राणरक्षा हाम्रो एकमुठी रगतले गर्छ भने किन खुशी खुशी रक्तदान नगर्ने त ? जीवनदान नदिने ?
अहिले विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम चलाई रगत संकलन गरिरहेका छन् । देशका विभिन्न भागमा रगतको अभाव हुनथालेको छ । हामी त्यसमा सहभागी हुनसक्छौं । अझ रक्तदान गर्न मिल्नेले रक्तदान गरेर मानव संरक्षणमा एक ईटा थपौं रक्तदान गरौं । आखिर मरेर जाने जीवनमा एउटा पुण्यकाम किन नगर्ने, पछि किन पर्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper