लीला दाहाल -
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी तर हाम्रो वीर पुर्खाको रगत र पसिनाले सिर्जित नेपाललाई भारतको बिस्तारवाद र चीनको मौनताले खाँदै गर्दा हाम्रा नेताहरुको चुपचाप बसाई नेपालीहरुलाई सहन नसक्ने बनाएको छ ।
भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्याकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्रबीच थाँती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ । सुदूर पश्चिमको पहाडी जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक, कालापानी समेत नेपाल सिमाना भित्रका जमिन हुन्, लिम्पियाधुरा नेपालको सिमान्त नदी महाकालीको उदगम स्थल हो । सन् १८१४–१५ को नेपाल–अङ्ग्रेज युद्धपछि सन् १८१६ मा भएको द्विपक्षीय सुगौलीको सन्धिमा नेपालका राजाले महाकालीदेखि पश्चिमको भूभागमा मात्र दाबी नगर्ने कुरा लेखिएको छ । अर्थात् महाकाली र त्यसभन्दा पूर्वका सबै क्षेत्र नेपाली इलाका हुन् । त्यसैले ती भेगमा नेपालीहरूको बस्ती हुनु सर्वथा स्वाभाविक हुन्छ । नेपालको २२ जिल्ला छोएको भारतले २०११ सालदेखि नै नेपाल माथी गिद्दे नजर लगाएर अतिक्रमण गर्दै लिम्पिया धुरा लिपुलेक कालापानीका ६० हर्जा देखि ७० हजार हेक्टर जमिन हड्पी सकेको छ । दिनदिनै सिमानाका पिल्लर सारिएका छन् भने ३३२ सिमा पिल्लर गायब गरिएका छन् ।
आज बेलुका नेपालमा सुतेका मानिस बिहान उठ्दा भारतीय नागरिक बन्न बाध्य भएका छन् । सन् १९६२ मा भारत र चीन बीच युद्ध हुँदा कालापानी क्षेत्रमा भारतले अस्थायी रूपमा सैनिक शिविर राखेकोमा पछि द्वन्द्व सकिएपछि सो ठाउँ छोड्नु पर्नेमा नछोडेको स्थिति देखिएको छ । भारतको रवाफ दादागिरी र दबाबबाट नेपाली जनता आतंकित भएका छन् ।
वीरहरुले रगत पसिना आर्जित यो देश अहिले बाँदरको हातमा नरिबल जस्तो बनाएका छन् । अब ती पुर्खाहरुको रगतले जीवनको मूल्य खोज्दै प्रश्न सोधे के जबाफ दिने सोच्नु पर्ने बेला आएको छ सबैले । सबै सिमाना विवादको दीर्घकालीन समाधान गर्न कुटनैतिक तरिका ले समस्याको समाधान खोजिनुपर्छ । नत्र देशको सार्बभौमसत्ता माथि हस्तक्षेप हुनेछ । पछि हाम्रा सन्तति ले एउटा नेपाल देश थियो रे भन्दै पढ्ने छन् र हामीलाई धिक्कार्ने छन् । अहिले नचेते कहिले चेत्ने ?