banner
banner

बिरामी देशमा बिमारी शासक

नरेन्द्रराज प्रसाई -
नेपालको इतिहासमा आफै जान्ने, आफै सुन्ने र कुरा फेरेको फेर्यै गर्ने प्रधानमन्त्री पनि जन्मेका छन्’ र तिनको नाउँ के हो ? भनेर कसैले सोधे भने खड्गप्रसाद वलीको नाउँलाई प्राथिकता दिनै पर्ने हुन्छ । त्यतिमात्र होइन, ‘हुकुमी शासन चलाउन राणा प्रधानमन्त्रीहरू र श्री ५ हरूलाई समेत माथ गर्ने सरकार प्रमुख एक जनाको नाउँ भन’ भनेर सामान्यज्ञानमा सोधियो भने हामीले खड्गप्रसाद वलीको नाउँ सगौरव बक्नै पर्ने हुन्छ ।
‘नेपालको इतिहासमा नैतिकताले राजिनामा गर्ने प्रधानमन्त्रीमा कीर्ति्िनधि विष्टको नाउँ आउँछ भने देश कुहुन लाग्दा पनि १४ बर्षे जेलयात्राको प्रमाणपत्र देखाएर सिंहासन नछोड्ने प्रधानमन्त्रीको नाउँ  के हो’ भनेर प्रश्न गर्दा पनि अरू मान्छे खोजेर मगज खियाउनु नपर्ने भयो । नैतिकताको ख्यालै गर्न छाड्नु भनेको त ज्यादै नै दुख्खको कुरा होइन र ?
हो, म मान्छु— खड्गप्रसाद वली पनि दुख्ख गरेर आज यो मर्या्दित ठाउँमा विराजमान भएका छन् । उनले ज्याद्रो, थेत्तरो र ढिट मात्र नभई मुलुकको चौतर्फी विकास र जनताको सुक्ख समृद्धिमा आफूलाई समाहित गरेका भए घरघरमा उनको तस्विर टाँसिन पनि सक्थ्यो ।
नेपालको अवस्था जर्जर थियो । माथि हेर्दा अत्यास लाग्ने र तल हेर्दा कहाली लाग्ने नेपालको अवस्थामा खड्गप्रसाद प्रधानमन्त्री थिए र उनी अझै त्यसै कुर्सीमा टाँस्सिएकै छन् । यस्तो बेला नेपालमा मन, वचन र कर्म रोपेका भए उनले राजा महेन्द्रलाई शायद बिर्साउन पनि सक्थे । वास्तवमा छेउछाउमा नवरत्न राखेर शासनको आसनमा बसेका भए उनी नेपालका माओत्से तुङ बन्न सक्थे, अनि गान्धी र नेहरू पनि हुन सक्थे । तर उनले उखान कथेर मात्र समय खाए । उनलाई ईश्वरले दुईदुई पल्ट अति नै ठूलो अवसर दिएका पनि थिए । तर उनको बौद्धिक क्षमता, स्वास्थ्य र भाग्यले उनलाई साथ नै दिएन । त्यसैले उनी आठराई ईवा र झापाको घैलाडुबाका ध्रुव वलीभन्दा माथि उक्लन सकेनन् । यदि उनले प्रधानमन्त्री हुनु नै ठूलो प्राप्ति मानेका रहेछन् भने प्रधानमन्त्री नभएर पनि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाभन्दा गणेशमान सिंहको उचाइ एक बाँस माथिको नै देखियो ।
खड्गप्रसाद वलीको सरकारले लकडाउनमा रहेकाहरू उपर त्यति ख्याल गर्ने सकेन । थुनिएका अक्षमहरूको गाँस र बासउपर सरकारले सुरक्षा नै दिनु नपर्ने ? ईश्वरको कृपा रहोस्– भोकले कसैको प्राण चाहिँ नजाओस् । ती प्रायःले खड्गप्रसादलाई कति धिक्कारेका होलान् ?
जनताको धिक्कार, श्राप र गालीबाट खड्गप्रसादले मुक्ति पाउने अझै पनि एउटा सानो भए पनि खालि ठाउँ देखिन्छ । त्यो के हो भने– यो परजीवी कोरोना भाइरसबाट जन बचाउ गर्न उनले एउटा पवित्र कृत्य गर्नु नै पर्छ ।
खड्गप्रसादले गहिरिएर बुझ्नै पर्ने कुरा के हो भने, यो कोरोना कोभिड (१९ भन्ने रोग काङ्ग्रेस, कम्युनिष्ट, राजावादी वा अवसरवादीजस्ता कुनै पनि दलको भात्री सङ्ठन होइन । यस्ले मौका पाउनासाथ राजादेखि रङ्कसम्मलाई आफ्नो शिकार बनाइदिन्छ । त्यसैले अहिलेसम्म खड्गप्रसाद र उनको सरकारले राष्ट्रको ढुकुटी नास्नका लागि आफ्ना दलका भतुवाहरूलाई जतिसुक पोसे पनि र पाले पनि यस महामारीग्रस्त समयलाई दलगत स्वार्थको रछ्यानमा पार्नबाट बचाउन सके हुन्थ्यो । कोरोनाबारे अझै पनि आफै विशेषज्ञ भएर खड्गप्रसाद वली देखिनु भनेको उनीप्रति जनताको प्रेमको सट्टा घृणाको जरा गाडिने प्रबल सम्भावना हो । अहिलेको अप्ठ्यारो परिस्थितिमा खड्गप्रसादले कोरोना उपर संवेदनशील हुनुपर्छ । यदि यसमा पनि उखाने शासन गर्ने हो भने त्यो पनि ठूलै मुर्खताको बेहोरा हुन जान्छ ।
प्रधानमन्त्रीले परजीवी कोरोना नियन्त्रण तथा उन्मुलनका लागि आफैले शासन नगरेर स्वास्थ्य क्षेत्रका अनुभवी विशेषज्ञलाई शासन गर्ने अधिकार दिनु पर्छ कि पर्दैन ? त्यसका लागि उनले विशेषज्ञहरू मात्र सम्मिलित आयोग बनाउनु पर्छ कि पर्दैन ? यस प्रकारको आयोग छिटै बनोस् भन्ने जनमत रहेको पाइन्छ । तर यसरी बनेको आयोगमा मन्त्रीको छायाँ पनि पर्यो भने उक्त आयोग सडेर जान सक्छ । अनि यस प्रकारको आयोग प्रधानमन्त्रीकै प्रत्यक्ष सरोकारमा चाहिँ हुनुपर्छ ।
‘कोरोना संक्रमण नियन्त्रण आयोग’का लागि मैले विविध सर्वेक्षण गरेर सम्माननीय प्रधानमन्त्रीका आँखासम्म पुगोस भनेर विशिष्ठ स्वास्थ्यकर्मीहरूको नाउँ पेस गरेको छु । यी नाउँहरू नै निर्णायक होइनन् । यदि प्रधानमन्त्रीले आयोग नै बनाउने हो भने विशेषज्ञहरूकै परामर्शमा छुटेका अरू नाउँ पनि थप्न सल्लाह दिन चाहन्छु ।
विगतमा विभिन्न ठाउँमा आफ्नै दलका खुर र धुपौरेहरूलाई कुलपति, उपकुलपति नियुक्ति गरेर प्रधानमन्त्रीबाट जगत् हसाउँने काम त भएकै थियो । तर कोरोना नियन्त्रणको व्यवस्थापनमा पनि आफ्नै भाटहरूलाई भर्ना गर्न थलियो भने जगतकै प्रलय हुन्छ भन्ने कुरामा पनि प्रधानमन्त्रीले हेक्का राख्नु पर्ला !
जनचाहना अनुसार सुन्दरमणि दीक्षितको संयोजकत्वमा कोरोना सङ्क्रमण नियन्त्रणको व्यवस्थापन गर्ने आयोगको गठन होस् । साथै यस टोलीमा व्यवस्थापनमा दक्ष, स्वास्थ्य विषयक समर्पित र संक्रमणबारेका ज्ञाता निम्नलिखित डाक्टर छुट्तै नछुटुन् भन्ने मेरो आग्रह रहेको छः (वर्णानुक्रमानुसार) अर्जुन कार्की, अरूण सायमी, केदार न्यौपाने, बालमानसिंह कार्की, भगवान कोइराला, मथुरा श्रेष्ठ, महेश मास्के, नन्दबहादुर सिंह, रवीन्द्र समीर, वसन्त पन्त, वासुदेव पाण्डे, शशि शर्मा, शेरबहादुर पुन, सञ्जय पोखरेल (आयुर्वेद), समीरमणि दीक्षित, सरोज धिताल, सरोज वन्त, सुभाष आचार्य, हरिप्रसाद पोखरेल (योग तथा प्राकृतिक चिकित्सा) आदि । ‘कोरोना सङ्क्रमण नियन्त्रण आयोग’का लागि प्रधानमन्त्रीले आफ्ना भक्तहरू निलम्बन गरेर स्वास्थ्य सेवामा समर्पित विज्ञहरूलाई मात्र अगाडि सार्नै पर्ने आजको आवश्यक्ता हो । यदि कोरोनाप्रति पनि जिस्किने र उखानैले जित्न खोज्ने हो भने बरू राजिनामा दिएर खड्गप्रसादले घर बसे मुलुकैको कल्याण हुन्छ । किनभने बिरामी देशमा बिमारी शासकको खाँचो छैन । राष्ट्रमा अन्तराष्ट्रिय महामारीको सङ्कट परेको बेला प्रधानमन्त्रीले कि त डटेर तन, मन र धनले जनज्यानको सुरक्षा गर्न सक्नुप¥यो, अन्यथा जनताको ज्यानमाथि खेलबाड गर्ने गरी नानाभाँतीको नाटक मञ्चन चाहिँ गर्न पाइदैन ।   
प्रधानमन्त्रीले तागत निकालेर जनधन जोगाउन समर्पित हुनै पर्ने आजको खाँचो हो । अर्को व्यवस्था नभइन्जेल उखानटुक्कालाई पनि खड्गप्रसादले थाँती राख्नु पर्यो । नत्र जनता बोल्न  थाल्नेछन्— ‘बिरामी देशमा बिमारी शासकले शासन गर्नु भएन ।’ यदि जवरजस्ती शासन गरे कसरी देश उँभो लाग्छ ? देशै भस्सिन पनि सक्छ ।  

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper