उपेन्द्र प्रेमी -
१. कास्कीतिर जन्मेर चितवन हुँदै रोल्पा प्यूठानबाट उठ्दै दिल्ली आरोहणबाट नेपालको सत्ताशिखर चढ्न सफल बनेका स्वयंघोषित क्रान्तिकारी योद्धा नेता हिजोआज तेश्रो पटक नेपाल नेपाली राजनीतिका किङपिन बन्नलागेका छन् । महारथी भीमसेन थापाको उत्तराधिकारको क्रममा यसपटक उनको चयनमा परेका छन् माधवकुमार नेपाल, यद्यपि उनी टेष्टेड पात्र नै हुन् ।
२. जबर्दस्त क्रुद्ध, क्षुव्ध रुष्ठ र असन्तुष्ट भएर पनि प्रचण्ड आफु अत्यन्त भावुक, लचक, स्निग्ध शिष्ट रहेको बताउँछन् । त्यसैले त उनले झलनाथ खनाल, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, खिलराज रेग्मीजस्ता व्यक्तिहरुलाई सत्ताको शिखरमा आसिन गराउन सफलता हासिल गरे । अहिले पुनः अर्को परिवर्तनको मोडमा आइपुगेका छन् । प्रचण्डले आफ्नो पार्टीलाई एमालेसँग एकीकरण गराएर नेकपा बनाए । नेकपा बनाएको दुई वर्षमै शीर्ष स्थानमा पुगेको मात्र होइन, सिंगो नेकपाको हैकम उनपको हातमा आएको दृश्य देखिदैछ ।
प्रचण्ड, कालक्रमले देखाए अनुरुप उनी एकैपटक एउटै स्थितिलाई थरिथरि दृश्यमा देखाउन सक्छन् । हिजो के बोलियो के गरियो, त्योभोलि बिर्सने र पर्सिपल्ट त्यसको अर्कै दर्शन एवम् दृष्टिकोण राखेर आफ्नै वचनको बञ्चन गर्नेप्रपञ्च नै प्रचण्ड राजनीतिको सैद्धान्तिक तथा शास्त्रीय सार हो भनेर पनि कतिपय बुज्रुकहरु विवेचना गर्छन् ।
३. नेपालको दोस्रोपटक जब फेरि प्रधानमन्त्री भए, नेपालीहरुले अव त उनले केही दिगो भरपर्दो र देखुलाग्दो, कुनै गतिलो काम गर्लान् कि भन्ने सोचेका हुन् । पहिलोपटक रणबहादुर कष्ह र भीमसेन थापाको इतिहास जति नबुझेका एवम् नेपाली मूल मान्यता र गरिमालाई भुलेर अल्मलिएका उनले अब आफुलाई करेक्शन गरेर अरुको डाइरेक्शनमा नभई नेपाली इन्टन्सनमा काम गर्लान् भन्ने पनि कतिपय बुझक्कडहरुको बुझाइ थियो । तर नेपाल र नेपालीले राखेको त्यो सोच, त्यो समझ फेरि पनि बृथा र मिथ्या साबित भएको हो । तेश्रोपल्ट उनी शक्ति आर्जनतिर लागेकाले प्रधानमन्त्री बन्न अरुलाई अघि सारेका छन् । मान्छेहरु नानीदेखिको बानी जाँदैन भन्छन् । अनि साउनमा आँखा फुटेको गोरुले सँधै हरियै मात्र देख्ने पनि भन्दछन् । परिबन्दले आधुनिक नेपालका लालनायक प्रचण्डमा पनि त्यस्तै अहरित वा पीतदृष्टि रहेको यतिखेर धेरैको उही उस्तै अनुभूति छ । किनकि न उनले केही गर्न सके, न उनले उठाएका कुनै व्यक्तित्वले देश बनाए । अव पनि उही कानै चिरिएको गोरुको चाल न होला भन्छन् धेरै चिन्तकहरु ।
४. दोस्रो पटक नौ महिनाको अल्पविधिलाई क्यालेण्डरमा झुण्ड्याएर प्रधानमन्त्री बनेका प्रचण्ड आफ्ना विछट्ट किसिमका कार्य योजना र घोषित कर्म प्रक्रियाबाट निरन्तर विचलित बन्दै पुनः पतनोन्मुख पथमा भेटिएका थिए । देश बनाउँछु भन्ने, कुनै स्पष्ट खाका नदेखाउने र उही भ्रष्ट पंक्तिमा रमाउने उनको प्रवृत्तिले उनी जनयुद्धजस्तो सफल भएनन्, निरन्तर उनको छवि र छायाँ पतनोन्मुख नै रहेको इतिहास साक्षी छ ।
ओलीसँग बोली मिलाउन जति सजिलो थियो । अहिले देउवा, बादल, बैद्य, नारायणकाजी र माधव नेपालहरुसँग हिमचिम बढाउन उनलाई निकै कठिन भइरहेछ । संसदीय व्यवस्था बुर्जुवा प्रणाली हो, यो हाम्रो बाटो होइन, प्रचण्ड पटक पटक भन्दछन् । बुझ्ने, बुझ बुझारथ गर्ने चतुर बाबुरामहरु माक्र्सवादका थोत्रा पुराना पोथ्रा पल्टाएर हुँदैन भनेर नयाँ शक्ति सञ्चयतर्फ लागिसके । तर प्रचण्ड यही बुर्जुवा संस्था चलाएर आफूलाई रत्याइरहेका छन् । यसपटक उनको खेल ओलीसँग थियो, नैतिक रुपमा ओली पतन भएपछि विजय त प्रचण्डकै भएको छ, यो विजयले देशव्यापी विजयोत्सव मनाउन सक्लाजस्तो कसैलाई लागेको छैन । विप्लवको यतिखेरको मौनता अर्थपूर्ण मानिएको छ । हुनसक्छ, कोरोना कहरका कारण उनी चुप छन् ।
माधव वा अरु सत्तामा आउन्, स्थिति कहालीलाग्दो खरीखण्डे भीरको छेउ भागमा ठिंग उभिएको झैं प्रतीत हुन्छ । यतिखेर धेरैको अनुमान छ– नयाँ आउने राज पनि धेरै लम्बिदैन, यसको पनिे शीघ्र पतन सुनिश्चित छ ।
‘ओली पतन’को कारण भ्रष्टाचार र अपराधिकरण नै हो । सिंगो नेकपा पंक्ति पनि त्यही धरातलमा उभिएको छ । जो सफा छन्, उनीहरु छायाँमा छन् । जो खराव छन्, सत्ता निर्माण गर्दैछन् । कम्युनिजमको सिंगोपथका अधिनायक त्यत्रो क्रान्तिका योद्धा र आफुलाई विश्वकै दुर्दान्त नेता तथा दृष्टान्त ठान्नेहरु सानो परिसरभित्र किन अच्यूत अजेय र कुशाग्र बन्न सकेनन् ? यसमा पनि धेरैले उत्तरको अपेक्षा गरेका छन् । प्रस्तुत प्रसंगमा विवेचकहरु स्पष्ट विवेचना छ कि ‘क्रम भंगता’लाई नेपाली राजनीतिको नियमित आकष्मिकता झैं मान्दछन् उनी । क्रमागत निष्ठता र नेपाली समाज विधि प्रकृति र प्रक्रियागत सुव्यवस्था नै नेपाली मनोकांक्षा हो भन्ने कुरालाई कुनै राजनीतिक नेताले आत्मसात गरेनन् । त्यस्तो ‘निरंकूशकरण’ नै राजनीतिको पटक पटकको पतनोन्मुखी जंगी कारण हो ।
अव त शिल्प एवम् पद्धतिको अनुशरण गर्लान् भन्दाभन्दै जुग बित्यो । अर्को परिवर्तनले के गर्ला अव ?