देवी काफ्ले -
बाँच्न कसले चाहँदैन ?
गरिबीसँग लड्न कति गाह्रो हुन्छ त्यो त भोग्नेलाई थाहा हुन्छ ।
जमिनको भुभाग मात्रै राज्य होईन राज्य बन्न त जनता पनि चाहिन्छ ।जनता नै छैनन् भने शासकले को माथि शासन गर्ने हो ?
विभिन्न भौगोलिक बिबिधता, बिकटता, आर्थिक अवस्था कमजोर, सामाजिक परिवेश अचेत र सरकार नै स्वार्थी बने पछि जनता जनता नभएर रैती हुन पुग्दा रहेछन् ।
आजको हाम्रो अवस्था त्यस्तै देखिएको छ हामी रैती बनेको महसुस गर्न बाध्य छौं । आज राज्य जतिसुकै समुन्नत भए पनि बिकट नेपालका नागरिकले उहीँ पीडा भोग्न बाध्य छन् जो आर्थिक रुपमा निम्न वर्गको जीवन जिउन बाध्य छन् ।
भौगोलिक बिकटताका कारण सबै नेपालीले समान अधिकार पाएनन् भनेर नै लोकतन्त्र आइसके पछि संघिय राज्य निर्माण भयो । संघियता लागू त भयो तर गरिब निमुखा जन उहीँ बिवसतामा बांच्न बाध्य छन् । संघियता लागू गर्नु त सबै नागरिकलाई समान अधिकार प्रदान गर्नु भन्दा पनि राजनैतिक भर्ती केन्द्रको रुपमा प्रदर्शित गरिएको देखियो । गरिबका कथा ज्यूँ का त्युँ छन् ।बजेट बिनियोजन हुन्छ लक्षित वर्गमा पुग्दैन सबै बिचौलियामा बांडफांड, भत्ता, अनावस्यक भ्रमण, पारिवारिक भर्ति आदिमै सकिन्छ । केही बजेट बिकासका काममा लगाईन्छ तर पूरा लगाईंदैन भन्ने पुष्टि त पप्पु कन्स्ट्रक्सनबाट निर्मित पुलहरु र अन्य यस्तै कम गुणस्तरिय कामले देखाएका छन् । अर्थात् संघियताको औचित्य भ्रष्टाचारको लागि मात्रै होकि भन्ने देखिएको छ ।
यदि लक्षित वर्गमा बजेट पुगेको भए नेपालबाट परिवार पाल्नको लागि छिमेकि मुलुक भारतमा भारतियहरुको दुत्कार सहंदै कठोर परिश्रम गर्न जानू पर्ने थिएन । सबैभन्दा धेरै सुदुरपश्चिमका नागरिक भारत जान बाध्य छन् ।समस्या समाधान तर्फ न स्थानीय सरकार,न त प्रदेश सरकार न त केन्द्र सरकारले नै ध्यान दिएको छ । ।
दैनिकी गुजारा गर्न कठिन भएका नागरिक समक्ष न त हिजोका सरकार र शासक पुगे न त आजका शासक पुग्न चाहान्छन् । गणतन्त्र राज्यका नागरिक आज पनि भारतीयको जुठोभाँडा माझ्न जानुपर्ने बाध्यता ?
आज देशमा दैनिक ज्यालादारी गरि बिहान कमाउँदै बेलुकाको छाक टार्ने कति रहेछन् भन्ने यथार्थ त लकडाउन पछिको सडकमा देख्न पाईएको छ । घर छोडेर कोहि भारत त कोहि देशकै विभिन्न ठाउँमा ज्याला मजदुरी गर्न गएका मजदुरहरुलाई आजको बिषम परिस्थितिले थप चुनौती दियो । काम गर्ने ठाउमा काम रोकियो, कमाएको पैसाले कति दिन पुग्ने ? काम गरिरहेकै ठाउँमा भोकै बस्नु भन्दा घर गयर परिवारसंग दुखसुख बस्ने भए खाने नभए भोकै बस्न तयार भएर गाडीको बिकल्प पैदल हिंडेर दशौं दिन लगायर घर जान हिडेका छन् । भोकभोकै अलपत्र हिडेका मजदुरको गन्तव्य कतिबेला कहाँ रोकिने हो थाहा छैन । दुनियाँले देखेको छ स्थानीय केही मनकारी मान्छेहरुले खाना खुवाउने खाजा खुवाउने गरि सहयोग गरेका छन् ।तर सरकारले ती मजदुरलाई सडकमा देखेन ।यहाँ मजदुरका नेता बालुवाटारमा छन् त्यै भएर नै होला सरकारले सडकमा खाली खुट्टा हिडेका मजदुर नदेखेको ।
सरकारबाट फाइदा लिन सफल केही चाटुकारहरु सडकमा हिडेका मजदुरलाई आशुको व्यापार गरेको भनेर समेत भुक्न भ्याएका छन् ।यहि हो गणतन्त्र ?
संसारका राष्ट्रप्रमुखहरु दैनिक मिडियासामु उपस्थित भएर जनताका नाममा सम्बोधन गरेका छन् । कसरी नागरिक बचाउने भनेर दिनरात खटेका छन् हामीकहाँ खोइ ?
भारत र नेपालको सिमानामा पारीबाट सरकार बिरुद्ध नाराजुलुस गर्न किन बाध्य भए नेपाली ?
जनताद्वारा निर्वा्चित जनताकै छोराछोरीबाट गरिएको शासनमा त शासक र नागरिक बिच धेरै दुरी नहुनु पर्ने हो तर आज नेपालमा जनप्रतिनिधि हरु हिजोका राजा भन्दा धेरै माथिका सुबिधाभोगि किन बने ? जनताबाट निर्वा्चित राष्ट्रपतिको बग्गी सवारी गणतन्त्रले पाएपछि एउटा राजा हैन सयौं राजा जन्मे जनताका दुख ठामकाठाम जिवित छ ।
जनताले धेरै आशा र भरोसाका साथ सरकारले तोकेको कर तिरेका छन् तर तिनै कर तिर्ने जनता आज आशुको व्यापार गर्ने, सरकार असफल पार्ने तत्व कसरी भए ?
आखिर गरिबले कहिले महसुस गर्ने हो सरकार भएको अन्योल भयो । सरकार अझै पनि सडकमा आँखा च्यातेर हेर हिजोका तिनै गरिब मजदुरले तिमीहरुलाई त्यो महलमा पु¥याएका हुन् । दरबारको खोपी भित्र बिराजमान भएर गरिबको चुलो नजलेको देख्न सकिन्न । गरिबले उपचार नपाएर तड्पीतड्पी मरेको देखिँदैन सरकार बग्गीबाट ओर्ल । नवमहाराज बनेर फेरि उनै मजदुरको रगत नचुस । ती आँशुको व्यापार गर्ने भोट भोलि करोड तिरेर पनि नपाउन सक्छौ ।
गन्तब्य भाषण मात्रै हैन काम हो जवाफदेहीता हो । दिन सधैं एकैनाश
रहँदैन त्यसैले आफ्ना नागरिकले कोरोनासँग भन्दा भोकसँग लडेको दृश्य अवलोकन गर । सरकार भएको अनुभूति ती मजदुरले पाउन् जो आज घर पुग्न भोकभोकै अनगिन्ती पाईला रगडिरहेका छन् । सिमानामा रुन नपार । सिमाना बाहिरका जनताको आर्तनाद सुन ।