banner
banner

परदेशी छोरालाई आमाको चिठी

हरिओम काफ्ले -
प्यारो छोरा हर्के आमाको आशिर्वाद छ बाबु तँलाई ! हामी यहाँ यो चिठ्ठी लेख्दा सम्म निका आराम छौ, र तेता तिमीलाई पनि आरामै होला भन्ने आसामा उनै दयालु भगवान श्री पशुपतीनाथसँग हात जोड्दै प्रार्थना गर्दै बसिरहेकी छु.।
बाबु! बोल्न त निकैबेर मन हुन्छ तर के गरुँ मसँग कल गर्ने उपाए हुदैन, तैले एकछिनमै राखेहै आमा भन्छस् तेरो समस्या पनि मलाई थाहा छ बाबु प्रदेश हो निकै गाह्रो छ....,, बाबु म त अक्षर चिन्दिन ! तर आज धेरैकुरा भन्न मनलागेर भर्खर तराईबाट गाऊ फर्केकी नातिनी लाई बोलाएर यो चिठी लेख्न लगाएकी छु, बाबुहर्के! मोबाईलको जमाना मा पनि के चिठी लेखेकी बुडिमाउले भनेर झर्को नमानी पढेस् है ।
बाबुहर्के, हामी त यहा सबैजा आरामै छौ भनिहाले! तेरो चैं के हालखबर छ? फोनमा त सबै ठिकै छ आमा भन्छस् तर यहा रेडियोमा आउने समाचार र टिभीले ‘केके जाति रोग आयो र चारैतिर फैलिदैछ’ भनेको कुराले त मलाई रातदिन भोकनिद छैन बाबु तेरै याद आईरहन्छ, आफ्नो स्वास्थ्यको राम्रो ख्याल गरेस है बा..। 
तैले त मलाई केहि भन्दैनस् हुन त बुडीआमाले पिरगर्छिन भनेर पनि होला, तर तँ बसेको एरिया तिर त सबै पुलिसले घेरा हालेको छरे, धेरैजसो कम्पनीहरु पनि बन्द छन्रे, काम ठप्प छअरे, सबैतिर सिलबन्दी गरेको छरे सरसामान किन्न पनि निकै गाह्रो छरे, ममिसित बोलेको सुनेर होला मलाई नातीले यस्तै भन्दै थियो, यदि तेसो हो भने घर आईज बाबु ! र आउन नपाए पनि बसुन्जेल आफ्नो राम्रो ख्याल गरेस है ।
बाबु अर्काको ठाम्मा  सबैकुरा किनेर खाने हो, किन्न पनि पाइदैन वा गाह्रो हुन्छ भने दैनिकी कसरी चल्छर, यहाँ त बरु खासै केहिपिर छैन भकारीमा कोदो छ, सुलिमा मकै छन् । थैलामा धान पनि होलान्, अलिकति त अनि मुलाका चाना गुन्द्रुक गेडागुडी छँदैछ यता त महिनौ को बन्दमा पनि गुजारा चल्छ बाबु तर त्यहा त निकै गाह्रो होला आफ्नो ख्याल गरेस है...।
खैके भनम बाबु.., भनौ भने आमाको कुराले नराम्रो मान्लास् मन दुखाउलास् । बिश्वमा रोग फैलिए जसरी गाउँ गाउँमा कुकृत्य र बिकृति फैलिएको छ बाबु...! पल्तिर डल्ली र बाटामुनी फुलमयाँ पनि लौनि बिदेश हिडेदेखी शहर झरेका उतै केके नराम्रो काम गर्दैगर्दा होटेलमै पुलिसले समातेर लग्योरे र यस्तो माहामारीमा पनि गाउँ आउन पाएनन् भन्दैथे, फेरी यहि पल्लो गाउँमा पनि बिचरा स साना केटाकेटीको बिचल्ली र सम्पत्तिको हिनामिना पारेर अस्ति भर्खरै त्यो सन्तेकि स्वास्नी अर्र्कैिसत हिडेको कुरा पनि सुनेकैछस् खै के जमाना आयो, यो भाईरस जत्तिकै तिब्र गतिमा गाउँघर सहर जताततै बिकृती पनि भैलिदैछ, दुनियाको घर बिग्रदैछ बाबु, अन्तका त के कुरा गर्नु घरमै पनि निको चाल छैन आजकल, उता तँ अप्ठ्यारोमा छस् धेरै के लेखम् तर घरको अबस्था र तेरैबुडिको चर्तिकलाले म आजित परेकी छु, फोनमा बोल्न कतिबेलै खाँचो हुँदैन, तैं होकि अरु म बुडीलाई त के थाहा र, राती राती पनि मलाई लुकाएर भिडियोमा कल गर्नुहुन्छ ममिले भन्छ बाबुले, घरको काम पनि तेति मन लाएर गर्दिन मान्छे पनि खै कस्ता कस्ता हुन घरमा आईरहन्छन् बोलीमा पनि पहिला जस्तो मिठास पाइदैन, नैतिकता र लक्षिन पनि हराउँदै गएको महसुस गरेकीछु बाँकी कुरा आफैले जान है बा...।
बाबु म त अब तेल सकिएर निभ्न आँटेको दियो जस्तै हु कति पो टिकौला र, तं त दिनउमेरको छस् आफ्नो परिवार को अनि आफ्नो र भाई बहिनीको सधै ख्याल गरेस्, जिबनका कुनै पनि अप्ठ्याराहरुमा हरेस् नखाएस् । तँलाई मेरो आशिर्बाद छ बाबु... बाँकी अर्को पत्रमा भन्नेछु बाबु हिड्दा ठेस नलागोस््, कोर्दा केश नझरोस् । आजलाई यत्ति.. ।
                     – आमा

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper