banner
banner

कोरोनाविरुद्ध एकजुट नेपाल

शाश्वत शर्मा -
कोरोना भाइरस (कोमेड १९) का कारण विश्व नै भयभित भइरहेकोमा हाम्रो मुलुक यसबाट अछुतो रहदैन । केही महिना अघिसम्म मुलुकमा व्याप्त भ्रष्टाचार, अस्थिरता, राजनीतिक अन्यौलता आदिबाट पीडित नेपाली अव आयातित रोग अर्थात कोरोनाबाट भयभित छ । त्यसो त अहिलेसम्म कसैलाई संक्रमण भेटिएको छैन । तर जोखिम छ, विश्व स्वास्थ्य संगठन पनि उच्च जोखिममा नेपाल र दक्षिण पूर्वी एसियाका ११ देश परिसकेको सूचित गरिसकेको छ ।
भारतसँग खुला सीमा छ । दिनहुँ भारतीय नेपालीसमेत नेपालतिर ओइरिरहेका छन् । विदेशीहरुसमेत भिसा थपेर नेपालमै बस्न रुचाएका छन् । खतरा बढेको छ । चीनबाट सुरु भएको भए पनि चीनमा नियन्त्रण भएको छ, थप संक्रमित फेला नपरेको दावी चीनको छ । कोरोनाको प्रकोपले युरोप, अमेरिका थचक्कै परेका छन् । विश्व दुस्चक्रमा फसेकाले नेपाल पनि भयभित छ । कोरोनाको त्रासदी नफैलिएको भए मुलुक राजनीतिक परिवर्तनमा पुगिसकेको हुनेथियो । यद्यपि सत्तारुढ नेकपा फुटको संघारमा छ । कांग्रेस, प्रतिपक्षभित्र अधिवेशन र नयाँ सभापतिको चर्चा सुरु भएको छ । क्षेत्रीय र जातिवादी दलहरु रनभुल्लमा छन् । कोरोनाका कारण राजनीति निस्तेज र त्रासदीले मुख वाएको छ । सबै एकजुट भएर कोरोनासँग लड्ने कुरा सोच्न थालेका छन् । राजनीतिक चित्र परिवर्तन हुनबाट कोरोनाले बचाएको छ । कोरोनाले कतिको ज्यान लिने हो भन्न सकिन्न । अहिलेसम्म नेपाल अछुत छ । यो स्थिति कायम राख्न नेपालका लागि मुस्किल परिरहेको देखिन्छ । यद्यपि तमाम नेपाली कोरोना विरुद्ध एकजुट भएका छन् । सचेतताको बिस्तार भइरहेको छ ।
पूर्वराजा भारत भ्रमणबाट फर्कनासाथ नेपालमा केही हुन्छ भन्ने लख काटिएको थियो । केहीको ठाउँ कोरोनाले लियो, सबैतित्र भय फैलाइदियो । हरेक दिन युरोप, अमेरिकामा मान्छेको ज्यान लिइरहेको कोरोना विश्व समाचार बनिरहेको छ । यो महामारीसँग नेपाली सबै एक भएर लडिरहेका छन् । आआफ्ना ठाउँबाट सकेसम्मको सहयोग जुटाइरहेका छन् । दु?ख यत्ति लागेको छ कि समाज मैत्री हुनुपर्ने उद्यमी, व्यापारी, अर्वपति, खर्बपतिहरु जनमैत्री भइरहेका छैनन् । विश्व कोरोनामय भइरक्दा पनि राजनीति अछुत हुने सवालै भएन ।
कोरोनाविरुद्ध सबै शक्तिहरुको सहमति जुटेको छ । सहकार्य भइरहेको छ । पूर्वराजाले पनि कोरोना भाइरसविरुद्ध सार्क मुलुकहरु एक भएर सामना गर्नकालागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलको प्रशंसा गर्नुभएको छ । मोदीले चैत २ गते सार्क सदस्य राष्ट्रहरुवीच भिडियो कन्फरेन्स गरेपछि सार्कसमेत व्यूँतने सम्भाबना बढेको छ । आफ्नो ट्वीटरमा पूर्वराजाले कोरोना भाइरसको प्रकोपभन्दा दैनिक उपभोग्य सामानको कालोबाजरीले गर्दा देशमा हाहाकारको स्थिति आउने संकेत देखिएको र यस्तो अवसमा सरकारले स्थितिलाई सामान्यीकरण गर्नेतर्फ खासै कदम चालेको देखिएन भन्ने गुनासो गर्नु भएको छ । बेलैमा सचेत भएर देशमा अकल्पनीय स्थिति आउन नदिनेतर्फ सरकार, नागरिक सचेत हुनुपर्छ भनेर पूर्वराजाले सबैलाई जिम्मेवारीवोध गराउनु भएको छ । सरकारले जतिसुकै अभाव नहुने, उपचारको प्रवन्ध गरेको भने पनि विश्वसनीयता घटनाक्रमले शिद्ध गर्न सकेको छैन । एउटा सत्य के हो भने कोरोनाका कारण राष्ट्रिय एकताको वातावरण बनेको छ । केही अघिसम्म काटामारको स्थितिमा, विभेद र निषेधको स्थितिमा सुधार आएको छ । सरकारको हात दह्रो पार्न सबै एकजुट भएका छन् । कोरोनाबाट मुक्ति पाएपछि झगडा हुनु स्वभाविक होला, अहिले देखिएको सहमतिको वातावरण देशको शक्ति पनि हो । कोरोनाविरुद्ध लड्न जुन एकता देखिएको छ, यो स्वागतयोग्य छ । देश विकास र कूशासनविरुद्ध पनि यस्तै एकता देखिए समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा हुनेथियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper