banner

तरिका यस्तै हो र ?

शाश्वत शर्मा - -
खुशीको खबर दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर प्रम ओली निवास फर्किनुभएको छ । उनका निकटेहरु भनिरहेका छन्– ओलीमा अझ थप आत्मविश्वास देखिएको छ । वहाँ अव बाँकी तीनवर्षको कार्यकाल सजिलै चलाउनु हुन्छ । त्यसो त नेपालमा नै मिर्गाैला प्रत्यारोपण गराएर प्रम ओलीले आम नेपालीबाट प्रशंसा र शुभकामना पाइसक्नु भएको छ । भान्जी नाता पर्नेबाट मिर्गौला ग्रहण गरेका प्रम ओलीले नेपालमा पनि सक्षम डाक्टर छन् भन्ने सन्देश दिनुभएको छ । यो नेपालको चिकित्सा क्षेत्रको लागि गौरवको विषय हो । यसअघि बैंकक, सिंगापुर लगायतका देशहरुमा स्वास्थ्य परिक्षण र उपचारगराएर राष्ट्रको अरवौं स्वाहा पारेको भन्ने आरोपलाई पनि स्वदेशमा नै उपचार गराएर निस्तेज पारिएको छ ।
जेहोस्, प्रम ओलीको स्वास्थ्य ठिक भएको छ । उहाँले अझ सशक्त तरिकाले काम गर्नुहुनेछ भनेर विश्वास गर्न सकिन्छ । तर यति हुँदा पनि वहाँका चिकित्सकहरुले ओलीले अझै ६ महिनासम्म सकृय भूमिका निर्वाह गर्नुहुन्न भनेर भनिरहेका छन् । तथापि बिरामी ओलीको तुलनामा स्वस्थ ओलीबाट अझ धेरै आशा पलाएको छ । ओलीलाई उनका निकटेले मात्र होइन, स्वतन्त्रहरुले पनि स्वस्थताको कामना गरे । धेरैले ओलीबाट यो महगो संघीयता र गणतान्त्रिक शासन प्रणालीलाई समाप्त पार्न ओलीको भूमिका देखेका छन् । जनआन्दोलनका बेलामा बयलगाडामा चडेर अमेरिका पुगिन्न भन्ने उद्घोषण गरेका ओलीले त्यतिबेला कथित माओवादी जनयुद्ध र रत्नपार्क केन्द्रित आन्दोलन गरिरहेका दलहरुलाई जवाफ दिएका थिए । यसकारण पनि केही विश्लेषकहरुलाई राजावादी राप्रपाभन्दा ओली र नेकपाभित्र रहेको सशक्त समूह अझ पत्यारिलो लागिरहेको छ । कि त ठूलो आन्दोलनको आँधीबेहरी आउनुपर्छ, कि गणतन्त्रभित्रैबाट ठूलो भाँडभैलो उत्पन्न गराएर यो लादिएको गणतान्त्रिक शासन व्यवस्थालाई ढाल्नुपर्छ । अहिलेको अवस्थामा हिन्दुवाद र राजतन्त्रवादको आन्दोलनको सम्भाबना न्यून छ । यसकारण पनि ओलीलाई साथ दिनुको विकल्प छैन । यद्यपि देशविदेशभरिका मठ मन्दिर र क्षेत्रमा पूर्वराजा घुम्दा यथार्थ स्थिति पूर्वराजाले बुझेका छन् । देश, राजा र जनतावीच सम्बन्ध विकास भएकै छ । अव गरिने परिवर्तनका लागि केपी ओली अपरिहार्य बन्न पुगेका छन् । विश्लेषकहरु भन्छन्– मुलुकमा घटेका ठूला ठूला काण्ड, प्रकरणहरु, नातावाद र अपराधीमाथिको राज्यकृपा, बढ्दो बिभेद र निषेध, संस्कृति र राष्ट्रिय सम्पत्तिमाथिको भ्रष्टाचारले मात्र होइन, मुलुकको साँघुरिदै गइरहेको नक्साले समेत गणतन्त्र निकम्मा साबित भइसकेको छ । बढ्नुसम्मको बिकृति बढेको छ, जन जनमा बितृष्णा जागेको छ ।
यसमाथि कालापानी नेपालको नक्सामा ल्याउनुपर्छ भनेर ल्याएको संकल्प प्रस्तावलाई संसदको कार्यसूचीबाटै हटाउने जुन दुस्कर्म भएको छ, गणतन्त्र पूरै बदनाम हुनपुगेको देखिन्छ । मोहमद लामदेखि विजय गच्छदारसम्म, बाबुराम भट्टराईदेखि प्रचण्डकी बुहारीसम्मको भ्रष्टाचार काण्ड उजागर हुनु पनि गणतन्त्र अफाप भएकै हो । प्रचण्ड विरुद्धको लडाकाको रकम हिनामिनादेखि उपेन्द्र यादवको मधेश आन्दोलनका नाममा गरिएको हत्या प्रकरणको फाइल खोल्नु पनि ठूलै कुरा हो । आम नेपालीहरु योभन्दा पुराना अपराधहरु पनि खोतल्नुपर्ने बताइरहेका छन् । जनयुद्ध पीडितहरु त सडकमै उत्रिएका छन् । कांग्रेसीहरुलाई मात्र किन भ्रष्टाचारमा डाम्ने,  बेलायत भाग्न लागेकी सुजातादेखि गोकर्ण पौडेलसम्मलाई कारवाही गर्ने माँग पनि उठ्न थालेको छ । यसमा शेरबहादुर देउवा पनि मिसिन पुगेका छन् । मुलुक लुट्न कोही कम छैनन्, सकेजति लुटेका लुटाहरु कारवाहीमा पर्नुपर्छ । कांग्रेस, एमाले, मधेशवादी, समाजवादी सबैलाई भ्रष्टाचारमा लपेट्न सकिन्छ । ओली स्वयम् पनि भ्रष्टाचारमा समेटिन सक्छन् । पर्यटन मन्त्रीकी श्रीमतीको जाबो ३ लाख भ्रष्टाचार काण्ड र गोकुल बास्कोटाको ७० करोड कमिशन काण्ड बाहिर आइसकेपछि प्रम मौन छन्, यो आश्चर्यको विषय हो । विमान खरिद काण्डमा मुछिएका मन्त्रीकी श्रीमतीलाई चुनाव जिताउने ओली नै हुन् । भ्रष्टाचारविरुद्ध कारवाही गरे स्थानीय निकाय नै खाली हुने गृहमन्त्रीको अभिव्यक्तिले देश भ्रष्टाचारमय भइसकेको प्रमाणित गर्छ ।
भ्रष्टाचार माथिदेखि तलसम्म, तलदेखि माथिसम्मै छ । अझ यती काण्ड बाहिर आउने हो भने कांग्रेस र नेकपा कालाम्मे हुनेछन् । जनता कति सहनशील, सडकमा निस्कन छाडेर तमासा हेरिरहेका छन् । ललिता निवास प्रकरणमा त चोखा भनिएका माधव नेपालसमेत खन्चुवा देखिए । कार्वाही त हुन्छ, कहिले हुन्छ, प्रतिक्षा गरौं । द्वापर युगमा यदुवंशी आपसमै लडेर सखाप भएका थिए । नेपाली राजनीतिमा द्वापर युग सुरु भएको छ, को को सकिन्छन्, हेर्दै जाउँ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper