– राजन कार्की --
छोरी भार कि भविष्य, बेकार कि भाग्य ? अविकसित नेपालमा मुख्य मुद्दा हो यो । यो मुद्दामा जति धेरै बहस हुनसक्यो, उति संष्कारगत रुपमा काई परेर बसेको बिकृति र बिसंगति घोट्न सकिन्छ, मिल्काउन सकिन्छ र छोरी संसार सभ्यताको सञ्चालक र सिर्जनाकार हुन् भनेर बुझ्न बुझाउन सकिन्छ ।
दूध बेचेर भिटामिन खाने, मकै–कोदो–गहुँ–फापरजस्ता अन्न बेचेर चामल बेसाउने मुलुक, हामीले बुझ्न कति बाँकी छ, छ । मेकेभेलियन शिक्षाले उच्छृङलतालाई सभ्यता भनेर मानवीय मूल्य मान्यताका सिँढीहरु चढाउन र समाजलाई संस्कारयुक्त धारिलो बनाउने खुट्टालाई कुँजो बनाइदिएको छ । हामीले जानेको हातमा मोवाइल बोक्न र अस्लिलतालाई जीवनपद्धतिमा ढाल्नमात्र हो । मोवाइल, कम्प्युटर समुद्र हो, यो समुद्रबाट सीपी टिप्न सकिन्छ भनेर सिकाउन शिक्षानीति असक्षम छ, शिक्षाविदहरु राजनीति शिक्षामा लाद्न हुन्न भनेर दबाब दिन भुलेका छन् ।
यद्यपि यो कुवाबाट केही युवाहरु भ्यागुताको जुनीबाट काँचुली फेर्दैछन् उठेका छन्, शिखर चुमेका छन् । युवामा कमी छैन, कमजोरी राज्यनीतिमा छ, पुरातन सोचमा छ ।
यस्तै लेख्दै र पढ्दै थिएँ– भाइबरमा छोरीको फोन आयो । बुवा मे २७ मा मेरो ग्य्राजुयसन छ, आमा बा दुबैजना आउनैपर्छ ।
मैले भने कसरी आउन सकिन्छ, खर्च लाग्छ, लामो यात्रा, बुढो शरीर आउन गाह्रो हुन्छ नि ।
तपाइहरु छोरो भनेपछि जता पनि दौडने, छोरीलाई छोरासरह सोच्नु पर्दैन । हामी छोराभन्दा केकम ? छोरी मान्छे होइनन्, आउनैपर्छ ।
एकमनको हम्मरले खप्परमा हानेजसरी पो बोली छोरी त । हुन्छ, भिसा दियो भने आउँला भने । र, भिसा लिन अमेरिकी दूतावासको प्रक्रियामा लागें ।
सयौंको भीडमा मेरो पालो आयो, झ्यालमा पुगें, सोध्यो– किन जान लागेको ? मैले भने छोरीको ग्य्राजुयसन छ, त्यसैमा सहभागी हुन जान लागेको । अरु को को छ उता ? उसले प्रश्न थप्यो । मैले भने– छोरी र ज्वाईं छन् एसएलसीमा । (साल्ट लेक सिटी, युटा स्टेट) गएको बेलामा तिम्रो नागरिक, मेरो नाती छ, उसलाई पनि भेटेर आउँछु । छोरी ज्वाईंको ग्रीनकार्ड छ कि छैन ? प्रश्न थप्यो, मैले छैन होला, उनीहरु वर्क परमिटमा गएका हुन्जस्तो लाग्छ भने । भिसा अफिसर निरन्तर कम्प्युटरमा केही टाइप गरिरहेको थियो, पढिरहेको थियो, उफ ग¥यो दुईतीन पटक र मतिर हेर्दै भन्यो– पासपोर्ट कलेक्ट गर्नुहोला ।
भिसा दियो, टिकट किनियो र २०७६ जेठ ३ गते कतार एयर चढ्न श्रीमतीका साथमा एयरपोर्टतिर लागियो । कतार एयरका ग्राउण्ड स्टाफहरु कति फरासिला, चाट्टचुट्ट सबैलाई बोर्डिङ पास दिएर जहाजतिर पठाइदिए । नेपाली सुरक्षाकर्मी सुरक्षाजाँच गर्दैथिए । व्यवहार धेरै रुखो । जेहोस्, जहाज उड्यो कतारतिर । सुरक्षित अवतरण गरेपछि ट्रान्जिटतिर लाग्दा एयरपोर्टमा काम गर्नेहरु त सबै नेपाली पो रहेछन् । मजाले नेपालीमा बोल्ने, कोही इलामका, कोही गोर्खाका, कोही धनगडीका । जता हे¥यो उतै नेपाली । साह्रै पुख्खली । दाजु, दिदी, आमा भन्दै कता जानुहुन्छ भनेर सहजकर्ताको भूमिका मजाले निभाइरहेका । अहा, कतार एयरपोर्ट त सानो नेपालै रहेछ नि । नेपालीलाई वाईफाईदेखि शौचालय, प्रतिक्षालय, सुत्ने ठाउँ, अर्को जहाज चढ्ने ढोका, सबै सबै उनीहरुले मजाले सिकाएको देखियो । कतै पनि फोहर देख्यो कि हातैले उठाएर ट्य्रासमा हाल्न कति छिटोछरितो नेपालीहरु ।
२८ लाख जनसंख्या भएको कतार, विश्व व्यापारिक केन्द्र पनि हो । १९७७ मा नेपाल कतारवीच कूटनीतिक सम्बन्ध स्थापित भएको हो । द्वीपक्षीय रुपमा कुनै समस्या छैनन्, समस्या नेपाली रोजगारी खोज्दै जान थालेपछि उत्पन्न भएको हो । नेपालले २० वर्षअघि कतारमा दूतावास खोलेको छ तर दूतावासले स्थानीय अभिभावकका लागि कुनै भूमिका निर्वाह गरेको देखिदैन ।
कतार एयर विश्वका ठूला एयरलाइन्सहरुमा गन्ती हुन्छ । नेपालमा दैनिक ४ देखि ७ उडानसम्म गर्ने कतार एयर भरपर्दो र विश्वसनीय एयरका रुपमा स्थापित छ । २ वर्षपछि सन २०२२ मा कतारमा विश्वकप फुटबलका लागि जे जति अत्याधुनिक भवन, रङ्गशाला, होटलहरु निर्माण भइरहेका छन्, ४ लाख नेपाली युवाहरु दिनरात काम गरिरहेका छन् । नेपाली कामदारलाई कतारका निर्माण व्यवसायी, सरकारले दासको जस्तो व्यवहार गरेको दोष लागेको छ । यो दोष अन्तर्राष्ट्रिय मानवाधिकारवादी, विश्व बैंकजस्ता संस्थाले नै लगाएका हुन् । कतारमा पनि नेपाली अकालमा, अप्ठेरोमा परेर मरिरहेका छन्, गतवर्ष १० नेपालीलाई मृत्युदण्डको फैसला सुनाइयो । यति हुँदा पनि असुरक्षित र अमानवीय व्यवहारमा परेका नेपालीका लागि न दूतावासले कुनै आवाज उठायो, न गतवर्ष कतार भ्रमणमा गएकी राष्ट्रपतिले नै यो विषयको उठान गरेको सुनियो । नागरिकप्रतिको राज्य दायित्व पटक्कै देखिन्न ।
४ घण्टापछि कतारको बडेमानको जहाजमा चढियो । कतारको दोहाबाट अमेरिकाको जेएफके एयरपोर्ट, न्यूयोर्कका लागि जहाज उड्यो । १३ घण्टा लामो यो उडानको लाइभ दृश्य जहाजभित्रै पनि हेर्न सकिनेरहेछ । जहाज उड्नासाथ एयर होस्टेसहरुले कान थुन्ने, आँखा छोप्ने, संगीत सुन्ने, अडेस लाग्ने, ओढ्नका लागि कम्बलहरु बितरण गरे । उडानभरि उनीहरु यसरी खटिए कि कुनै पनि यात्रुले कुनै समस्या भोग्नु परेन । त्यो जहाजमा त डाक्टरको सुविधासमेत रहेछ । जसलाई जे चाहिन्छ, चिया कफी, बियर, खाजा, खाना हरेक बस्तुका लागि उनीहरु तम्तैयार भएर काम गरे । मानौं उनीहरु असल सेविका हुन् । कसैको अनुहार रिसालु थिएन । मलाई लाग्यो, यो कतार एयरको जहाज होइन, हामी अस्पतालमा छौं र हामीलाई साह्रै मायाँ गर्ने आफन्तले झैं हेरबिचार गरिरहेका छन् । यस्तो पो हवाई सेवा । सन २०११, १२, १५, १७ पछि २०१९ को सम्मानित एयरलाइन्सको अवार्ड जित्ने कतार एयर साँच्चै राम्रो एयरलाइन्स हो भन्न मनलाग्यो ।
एकैदिनमा, नेपालबाट उडेको २१ घण्टामै अमेरिकी धर्तीमा टेकियो ।
जेएफकेमा प्लेन लेण्ड ग¥यो । काठमाडौंजत्रो एयरपोर्ट । एक मिनेटमा एउटा जहाज उड्ने र अर्को लेण्ड गर्ने व्यस्त एयरपोर्ट रहेछ जेएफके । मैले थाहा पाएअनुसार न्यूयोर्क सहरमा मात्र यस्ता ४ वटा एयरपोर्ट रहेछन् । नेपालमा जस्तो १९ सिटे, ४० वा ६० सिटे जहाज त एउटा पनि देखिन्न । सबै ठूला ठूला, ३ सय, ४ सयदेखि ६ सय यात्रु बोक्ने जहाज । हामी अस्तव्यस्त, उनीहरु व्यस्त ।
एयरपोर्टबाट बाहिर निस्कन हजारौंको लाइन, तर फटाफट क्लियर । सेक्युरिटीदेखि भन्सार, अध्यागमनका कर्मचारी कसैले टाउको कन्याएको, मोवाइल चलाएको, एकदोस्रासँग कुरा गरेको देखिएन । सबै आफ्ना काममा व्यस्त । अहा, यस्तो पो प्रशासन जस्तो लाग्यो ।
नेपालको एयरपोर्टमा त कहिले कहिले इमिग्रेसनमा मान्छे नै हुन्नन्, आउने यात्रु आफैले इमिग्रेसनको स्टेम्प लगाएर निस्केको पनि भेटिन्छ । नेपालका कर्मचारी, सुरक्षा निकाय, अध्यागमन अथवा अरु संस्थाका कनिष्ठदेखि बरिष्ठ कर्मचारीहरु मोवाइलमा खेलेर बस्छन्, फेसबुक हेरेर बस्छन्, लाइक र कमेन्ट गरेर बस्छन् कि एकआपसमा राजनीतिक कुरा गरेर र अरुको कुरा काटेर बसेका देखिन्छन् ।
गृहमन्त्री रामवहादुर थापाले सबैले सुन्ने गरी भनेकै हुन्– एयरपोर्टबाट ३८ क्विन्टल सुन भित्रियो । ३३ किलो सुनकाण्डमा त एयरपोर्टका लोडरदेखि ड्राइभरसम्म मारिए । हरेक दिन एयरपोर्टमा यात्रुका झोला चोरिन्छ, झोला फोरिन्छ र महँगा सामान झिकिन्छ । यो दरिद्र मानसिकता हो, प्रवृत्ति हो । र, यदाकता प्रश्न उ्ठ्यो भने मैले हो र ? भनेर अर्काको थाप्लोमा दोष थोपरेर पानीमाथिको ओभानो हुने गरिन्छ । अख्तियारले कतिलाई पक्राउ ग¥यो, छानबिन भयो, मन्त्री, ठूला अधिकारीले एयरपोर्टको अकस्मात जाँचपड्ताल पनि गरे, नतिजा खोदा पहाड, निकला चुहा ।
संसारले पक्राउ गर्न नसकेको बिकिनी किलरलाई नेपाली प्रहरीले पक्राउ ग¥यो । उनी चाल्र्स शोभराज हुन् । उनले भनेका छन्– पैसा दियो भने नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ । हो, भ्रष्टाचारको गहिराई कति छ, यो कथनले शिद्ध गर्छ । नेपाल किन पछि छ, किन थर्ड कन्ट्री हो ? यस्तै यस्तै सोचेँ मैले ।
नेपालको शासन र प्रशासनमा राजनीतिक अपराधिकरण जति गहिरो भए पनि स्मरणीय छ– नेपाल प्रहरी, नेपाली सेना विश्वमै नामी कहलिन्छ । नेपाली सेनालाई जता खटाए पनि बिना प्रश्न जिम्मेवारी निर्वाह गर्न कम्मर कसेर, ज्यान हत्केलामा लिएर खटिने हुँदा राष्ट्रसंघले समेत सह्राहना गर्ने गर्छ । विश्वमा यस्तो सेना कहीँ पनि छैन । एकपटक नेपाल आएका एक अमेरिकी सैनिकले भनेका थिए– उनीहरुलाई जता खटाए पनि पहिले बस्ने, खाने, पानी, आफ्नै सुरक्षाको बारेमा सोध्छन्, सोच्छन् रे । नेपालीको लागि आदेशको पालनाको मात्र महत्वछ । यसकारण नेपाली सेना, प्रहरी संसारकै उत्तम ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोङ उनवीच सिंगापुर र भियतनाममा वार्ता भयो । सिंगापुरमा वार्तास्थलको सुरक्षाको जिम्मा गोर्खा सैनिकलाई दिइयो र जिम्मेवारी निर्वाह गरे । अफगानिस्तानलगायत अन्यत्र पुगेका बेलायती राजकुमार ह्यारीको सुरक्षा नेपाली सैनिकले गरे । उनले पटक पटक भनेका छन्– जहाँ गोर्खा सेना छन्, म सुरक्षित अनुभव गर्छु । नेपाली जात र रगत नै इमान र अनुशासित, नमकको सोझो गर्ने । शायद यसैले बृटिश आर्मीमा अव नेपाली युवती पनि लिन थालिएको छ । राजकुमार नेपाल आएर पनि गोर्खा सैनिकको प्रशंसा गरेका छन् । तर दुर्भाग्य, त्यही बेलायतमा गोर्खा सैनिकमाथि असमान व्यवहार गरिएको छ र भूतपूर्व सैनिक संगठन गेसोले बिसौं वर्षदेखि समानताको माँग गरिरहेको छ । यसमा नेपाल सरकार मौन छ ।
जेएफके एयरपोर्टबाट बाहिर निस्कनासाथ छोरी रोशनी आमाबाउ देखेर दङ्ग परी । खुशीले उसका खुट्टा भुइँमा थिएनन् । उसका आँखामा खुशीको आँसु देखेंँ मैले । छोरीको आत्मीयता, प्रेम, अहा, सुखको क्षण यिो त्यो ।
मलाई लिन मेरा स्वर्गीय मित्र अधिवक्ता गणेशबहादुर ढुङ्गानाका छोरा गालव पनि आएका थिए । उनले दाइ भने, मैले भाइ भने । उनले आदर गरे, मैले उनको अनुहारमा उनका बाउलाई भेटें । गालवले आफ्नै गाडीमा हामी बुढाबुढी र छोरीलाई लिएर आफ्नो घरतिर लागे । घरमा खाना खाएपछि गालवले न्यूयोर्क सहरका स्टाचुअफ लिबर्टीदेखि न्यूजर्शी लगायतका स्थानहरु घुमाए । मन्दिर पनि पु¥याए । गालवको प्रशंसा यसकारण पनि गर्न मनलाग्छ कि उनी पच्चिसौं वर्षदेखि अमेरिकामा बस्छन्, वकालतको काम गर्छन् तर पिता गणेशबहादुर ढुंगानाले नेपालको मायाँ नमार्नु, नेपालीपन नछाड्नु भन्ने अर्तिलाई उनले मनको बुटी बनाएर राखेका छन् र आज पनि उनी नेपाली पासपोर्ट बोकेर हिड्छन् । प्रत्येक वर्ष नेपाल आएर नेपालको पानीको धीत मार्छन् । अमेरिका पुगेका गालवमा नेपाली पासपोर्टको त्यो अनुराग, नेपालप्रतिको त्यो चित्ताकर्षक आशक्ति देखेर मलाई गर्व लाग्छ ।
साँझ सुत्ने बेलामा मेरा मनमा अनेक तर्कनाहरु खेल्न थाले ।
झ्वाट्ट सम्झना आयो, पत्रकार नरेन्द्रविलाश पाण्डे, खेलकुद परिषदका सदस्यसचिव शरदचन्द्र शाह र गणेशबहादुर ढुंगानाको । यी तिनै जना अमेरिका आए र आफ्नो देह यतै त्याग गरे । यी तिनैजना नेपालप्रेमी तर तिनै जनाले पाउनुपर्ने सम्मान नेपालमा पाएनन् ।
पत्रकार नरेन्द्रविलाश पाण्डे देशभक्त हुन् । उनले सदा देशभक्तिको मिसनमा पत्रकारिता गरे र अमेरिका आएर बिते । उनले केही भनेनन्, उनका छोराले अमेरिकामै उनलाई जलाए । खरानी बनाए । नेपालमा समवेदनासमेत उनले पाएनन् । गणेशबहादुर ढुंगाना, उनले देशभक्तिमा आफूलाई समाहित गरेका हुन् । नेपालको राष्ट्रवाद र भारत सरकार पुस्तक लेखे । नेपाल कुन मार्गमा हिड्नुपर्छ स्वत्व बचाउन, उनले विचार दिए । उनको कदर गरिएन । उनलाई गालवले अमेरिकामै सद्गत् गरेका हुन् । शरदचन्द्र शाहले नेपालको खेलकुदलाई एउटा उच्च मुकाममा पु¥याएकै हुन् । यद्यपि उनलाई भूमिगत गिरोहको आरोप थियो । उनले राजाको शक्तिको दुरुपयोग गरेको भनिन्थ्यो । तर उनले राष्ट्रसेवा नै गरेका थिए । आज खेलकुद परिषदभित्रको राजनीतिकरण, ओलम्पिक कमिटीभित्रको राजनीतिले खेलकुदलाई रसातलतिर लगिरहेको छ । खेलकुदका महारथी शरदचन्द्र शाहको सम्मान हुनुपथ्र्यो । भएन । उनी विदेशमा बिते र मर्नुअघि उनले भनेकै हुन्– म मरेपछि मेरो लाशलाई भ्रष्टाचारी र अवगुणीहरुको सामुन्ने नलैजानु । उनले नेपाली स्वार्थी मलामीको आशसमेत गरेनन् ।
भनिन्छ, नेपाललाई सतीको सराप छ । सतीको सरापबारे इतिहास भन्छ– सन् १८७७ मा ’हिस्ट्री अफ नेपाल, ट्रान्सलेटेड फ्रम पर्वतीया’ भन्ने उक्त पुस्तकमा डेनियल राइटले लेखेका छन्– ‘काठमाण्डौंका राजा लक्ष्मीनरसिंह मल्ल (१६२०–१६४१) को समयमा उनका काजी भीम मल्ल थिए । भीम मल्ल राजा र आफ्नो राज्यप्रति एकदम बफादार थिए । उनले काठमाण्डौंमा ३२ वटा पसल खोल्न लगाए । थुप्रै व्यापारीहरुलाई भोट पठाए । स्वयं आफू पनि ल्हासा गएर ठूलो मात्रामा सुन र चाँदी काठमाण्डौ पठाएका हुन् । उनकै व्यक्तिगत प्रयासको फलस्वरुप कुतिलाई नेपालको अधिकार क्षेत्रभित्र ल्याउन पनि सफलता मिल्यो । उनी भोटबाट फर्केपछि लक्ष्मीनरसिंह मल्लको राज्य फैलाउने चाहना थियो । तर राजाका चम्चेहरुले राजालाई ‘काजी भीम मल्ल आफै राजा हुन खोजेका छन्’ लगाएर राजालाई उकासे । राजाले विवेकहीन भएर भीम मल्ललाई मृत्युदण्ड दिए । भीम मल्लकी श्रीमती सती गइन् र ज्यूँदै सोला चढ्नुअघि “यो दरबारमा कहिल्यै पनि विवेक नहोस् भनेर सराप दिइन् । त्यही भएर अहिले सम्म पनि यो देश त्यही सरापको प्रभावमा रहेको छ ।’ लक्ष्मीनरसिंह मल्लले नै काष्ठमण्डप बनाउन लगाएका थिए । पछि कुरा बुझे र राजालाई काजी भीम मल्लप्रति गरेको अन्यायप्रति एकदम पछुतो भयो । सतीको सरापको कारणले उनी पागल भए र राजकाज गर्न असक्षम हुनपुगे भनेर राइटले पुस्तकमा लेखेका छन् । सत्य लेखेका छन् ।
आज दरवार छैन, राजा छैनन्, तर नवबास्सा बनेका र सिंहदरवारमा बस्नेहरुको विवेकहीनताका अनेक दृष्टान्तहरुले सतीको सरापको सम्झना गराइरहेका छन् ।
गालव पेशाले वकिल । जंगलको बिचोबीच उनको निजी घर । एउटै छोरा होस्टेलमा बसेर पढ्दै । घरमा श्रीमान श्रीमतीमात्र । श्रीमती ताहाँचलकी रहिछन्, हामी कलंकी, तीनथानाका । बिसौंवर्षदेखि अमेरिका बसे पनि कुनै अहंभाव देखिएन । खाना खुवाइन्, भलाकुसारी भयो, सौम्य व्यक्तित्व । त्यहीँ बसियो । शान्त घर, सभ्य परिवार, सानो नेपाल, घरमै बसेजस्तो अनुभूति भयो । म काठमाडौंमै छु कि जस्तो लाग्यो ।
भोलिपल्ट, विहान गालवका बुढाबुढीलाई केही उपहार दिनुप¥यो भनेर मेरी बुढीले ब्याग खोल्न खोजिन््, ब्याग खुल्दैन त । सबैले प्रयास ग¥यौं, साँचो पस्छ, ताल्चा खुल्दैन । के अचम्म ? परेन फसाद ।
मलाई झोक चल्यो, गालवले गाडीको डिकीबाट हम्मरजस्तो फलाम निकाले, मैले ताल्चा फोडें ।
ब्यागभित्र त अनादीको चामल, घीउ, पाउँ, अचार, लुगा पो देखिन्छ त । यी कुनै सामान हामीले लगेकै होइनौं । मेरी बुढीको अनुहार मलीन भयो । अव सँगैकी छोरीलाई के दिने, एसएलसी पुगेर ज्वाईं र ठूली छोरीलाई के दिनु, ३ वर्षे नातीको मुख कसरी हेर्नु ? श्रीमती दिक्क भइन् र थचक्क बसिन्, टोलाइरहिन् । टिकटमा टाँसिएको ब्यागेज ट्याग हेरियो, मिलेन । ब्याग उस्तै, ब्यागमा चिन्नका लागि बाँधेको रातो रिबन पनि उस्तै । ताल्चा पहेंलो उस्तै । तर सामान अर्कै । अर्कैको सामान पो बोकेर आइएछ । धमाधम कतार एयरमा फोन गरियो । घर्केको समयमा अत्तोपत्तो लागेन ।
अर्को ब्यागमा भएको ससानो उपहार गालवका बुढाबुढीलाई दिइयो, फोटो खिचियो, खाना खाएर बिदा भइयो । छोरी रोशनीले बाउआमा साथमा लिएर तैपनि सामान पाइन्छ कि एयरपोर्ट पुगेर खोसतलास गर्ने र उतैबाट ऊ पढेको कर्नल युनिभर्सिटी, इथाका भन्ने ठाउँतिर जान भनेर हिडियो ।
जेएफके एयरपोर्टमा पुगियो । कतारको काउण्टरमा पुगेर छोरीले आफ्नो समस्या बताइ । हेल्प डेस्कवाली महिलाले पर्खनोस् भनी र कसैसँग फोनमा कुरा गरी । एकैछिनमा एउटा मान्छे ब्याग गुडाएर आयो । मेरी बुढीले ब्याग देखी र प्वाक्क भनिहाली– ऊ त्यही त हो हाम्रो ब्याग । हामीले लगेको अर्काको र त्यो हाम्रो ब्याग उस्तै । कुनै नेपाली विद्यार्थीको ब्याग हुनुपर्छ । उसले पनि पायो होला । ब्याग ल्याउनेले हामीले लगेको ब्याग लियो र हाम्रो ब्याग दियो । थैंक्यु भनेर हिड्यो । मेरी बुढीले ठाउँको ठाउँ ब्यागमा साँचो घुसारी, खुल्यो । मेरी श्रीमती खुशी भई । एकदुई महँगा सामान पनि थिए । जस्ताको तस्तै, साबुत थियो ब्याग, कतै पनि तोडफोड भएको थिएन ।
यात्रु र यात्रुको सामानको यतिसम्मको इमानी हेरचाह । यसकारण त कतार एयर बेष्ट एयरलाइन्सबाट पुरस्कृत भएको हुनुपर्छ ।
नेपालले यस्तो जिम्मेवारीपूर्ण व्यवहार कहिले सिक्ने ? सन २००० अर्थात केही महिनापछि नेपाल भिजिट एयर सुरु हुँदैछ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ सरकारको । पर्यटकलाई आकर्षित गर्ने, तिनको सेवा सुविधा, सुरक्षा र आनन्दका लागि हामीले गर्नैपर्ने तैयारी गरेका छौं त ? सुधार्नैपर्ने बानीबेहोरा परिवर्तन गरेका छौं ? हामीसँग परम्परागत रुपमा पाहुनालाई स्वागत गर्ने संस्कार त छ, तिनको रेखदेख र सुविधाका लागि हामी कति तैयार छौं ? यतिबेला नेपालमा डेंगु रोगको महामारी नै फैलिएको छ । स्वास्थ्यमन्त्री मेरो काम होइन भन्छन्, विदेश घुम्न हिडेका छन् । सरकारले आपातकाल घोषणा गरेको छैन, देशैभरिका अस्पतालमा बिरामीको चाप बढेको छ । यहाँसम्म कि अमेरिका लगायतका देशले ट्राभल एड्भाइजरी जारी गरेर नेपाल नजानु, गएकाले ख्याल गर्नु भनेको छ । गैरजिम्मेवारीको यो पराकाष्ठाले नेपाल भ्रमणवर्ष सफल कसरी होला ?
ब्याग पाएपछि बस स्टेण्ड पुगियो, चढियो । इथाकाको लागि बस हिड्यो । न्यूयोर्ककै सानो सहर तर ठूलो विश्वविद्यालय छेउ पुग्न ४ घण्टा लाग्यो । छोरीको कोठामा बसियो ।
इथाका, न्यूयोर्क अर्थात फिङ्गर लेकको सहर । यसलाई कयुगा लेकसिटी पनि भनिदो रहेछ । यही रहेछ कर्नल युनिभर्सिटी । १८६५ मा इज्रा कर्नेलले स्थापना गरेका रहेछन् यो विश्वविद्यालय । संसारमै यो यस्तो विश्वविद्यालय हो, जहाँ कुनै पनि विषयमा अध्ययन गर्न सकिन्छ । विश्वका १७० देशका विद्यार्थीले कुनै पनि विषयमा पढ्न सक्ने विश्वविद्यालय हरियालीले भरिएको रहेछ ।
“क्ष् धयगमि ायगलम बल ष्लकतष्तगतष्यल धजभचभ बलथ उभचकयल अबल ाष्लम ष्लकतचगअतष्यल ष्ल बलथ कतगमथ।ू
( भ्श्च्ब् ऋइच्ल्भ्ीी, ज्ञडटड
१६८० प्रोफेसर, २३ हजार ६ सय विद्यार्थी पढ्ने रहेछन् । यसमध्ये १५१८२ अन्डरग्राजुयट र बाँकी माष्टर डिग्रीमा । कर्नल युनिभर्सिटी टप सयमा १७औ मा पर्ने रहेछ ।
हामी जुन समारोहमा सहभागी हुन गएका थियौं, २६ मे २०१९ को ११ बजे आयो । युनिभर्सिटीको ठूलो रङ्गशालामा विद्यार्थी र प्राध्यापकहरु जम्मा भए । मुख्य अतिथि निम्त्याइएका रहेछन्– बिल नाई । बिल नाई १९७७ मा यही युनिभर्सिटीमा पढेका रहेछन् । यतिबेला यिनी साइन्सका कमेन्टेटर, टेलिभिजनका नामी प्रस्तोता, मेकानिकल इन्जिनियर, नामी विद्वान, ओपिनियन क्रियटरमा गनिन्छन् । भारतका रतन टाटा, सुधा मुर्ति, नेपालका बिनोद चौधरीका छोरा पनि यही युनिभर्सिटीका उत्पादन हुन् ।
मैदानमा विद्यार्थी थिए, एकापट्टी प्यारापिठमा विद्यार्थीका अभिभावकहरुको ठूलो जमघट, अर्कोतिर मञ्चमा युनिभर्सिटीका मुख्य व्यक्तित्वहरु र मुख्य अतिथि । राजनीतिको र पनि थिएन त्यहाँ । थियो त, बुद्धी र बौद्धिकहरुको जमघट । शिक्षाले विश्वलाई यसरी जोड्ने रहेछ ।
कार्यक्रम सुरु भयो । मञ्चतिर फर्केका विद्यार्थीहरुलाई मुख्य अतिथिले आफ्ना अभिभावकतिर फर्केर आफूलाई शिक्षा आर्जन गर्न योगदान दिने आआफ्ना अभिभावक, परिवारजनलाई धन्यवाद दिन आग्रह गरे । विद्यार्थीहरुले अभिभावक बसेको प्यारापिठतिर फर्केर हात हल्लाएर, ठूलो ठूलो स्वरमा धन्यवाद दिए । भीडको कुनै बीचतिर बसेकी हाम्री छोरीले टाउको झुकाएर हामीलाई पनि धन्यवाद दिइन् ।
कालो गाउन, कालो क्याप र क्यापमा नेपालको झण्डा टाँसेकी छोरी रोशनी कार्कीले बेलायतबाट एच आरमा र अमेरिकाबाट इण्डस्ट्रियल लेबर विषयमा माष्टर्स गरिन् । दीक्षित भइन् ।
छोरी गौरव हुन् ।
बिल नाइले दीक्षा दिनुअघि विद्यार्थीहरुलाई छोटो संवोधन गरे । उनले संसारमा विकास र परिवर्तनका लागि प्राप्त गरेको शिक्षाको उपयोग गर्नु जरुरी बताए । ज्ञान, मानवता र नैतिकमार्ग सबैभन्दा ठूलो शिक्षा हो र यही मार्गमा दीक्षित विद्यार्थीहरु लाग्ने र प्राप्त शिक्षाको सदुपयोग आ–आफ्ना मुलुकमा पुगेर गर्ने विश्वास व्यक्त गरे । विद्यार्थीहरुले ताली बजाएर प्रमुख अतिथिको दीक्षा स्वीकार गरे ।
अहा, यस्तो पो दीक्षान्त समारोह ।
त्यस्तो देखेर फर्केपछि ६०औं त्रिविसभा समारोहमा सहभागी हुन पुगेका कूलपति प्रधानमन्त्री केपी ओलीलाई हिलोमा रातो कार्पेट ओछ्याएर उपकूलपति तीर्थ खनियाले स्वागत गरेको देखियो । यो देखेर आफैभित्र ग्लानी र लज्जाबोध भयो । २०३० सालमा म पढेको सम्मानित त्रिविको यो बेहालत ? यो बेइज्जती । शिक्षाको मन्दिरभित्र यति तल्लो स्तरसम्मको चाकरीबाजी । यसअघि त्रिविका प्राध्यापकहरुले ९ नम्बर आएको एकजनालाई अगाडि ६ थपेर स्वर्ण पदक दिलाएको प्रमाणित भइसकेको छ । तैपनि सुधारको सुरुआत भएको छैन, २०१६ सालमा स्थापित त्रिविवि राजनीति र भ्रष्टाचारको पोखरी पो बनेछ ।
कर्नल युनिभर्सिटीको दीक्षान्त समारोहपछि सबैलाई निशुल्क पानी, फलफूल, खाजाको व्यवस्था थियो । विद्यार्थी, अभिभावक, युनिभर्सिटीका सबैका लागि साझा ठाउँ, साझा व्यवस्था । वाह । क्या गजब । नेपालका हरेक संघ, संस्था, विश्वविद्यालय अथवा सरकारी कार्यक्रममा निषेध, बिभेद भोगेर गएको मेरा लागि यो आश्चर्यपूर्ण व्यवस्थापन थियो । मेरो राष्ट्रिय पोसाक र टोपी, मेरी श्रीमतीको साडी चोलो र मेरी छोरीको क्यापमा नेपाली झण्डाको लोगो देखेर धेरैले आश्चर्य प्रकट गरेर सोधे, मैले भने– त्यो हाम्रो राष्ट्रिय झण्डा, यो हाम्रो राष्ट्रिय पोसाक ।
यहाँनेर मैले डा.तारानाथ शर्मालाई सम्झें । डा.तारानाथ शर्मा पढ्ने पढाउने सिलसिलामा युरोप पुगेछन् । उनी विश्वविद्यालय छिर्नै लागेको बेलामा एउटा बाजा बज्यो, जो हिडिरहेका थिए, ती टक्क रोकिएछन् । उनी पनि रोकिए र किन होला भन्ने कौतुहलता जागेछ । बाजा रोकियो, तस्वीर बनेका सबै फेरि चलाएमान भएछन् । त्यसपछि नजिकका व्यक्तिलाई उनले सोधेछन्– किन उभिएको, यो के धुन हो ?
सोधिएकाले भनेछन्– यो हाम्रो राष्ट्रिय धुन हो । अचम्म, यस्तो पो राष्ट्रियता, राष्ट्रिय सम्मान ।
७० को दशकमा नेपालका लागि पोलेण्डका राजदूतले नेपालबाट ठूलो घण्ट लगेका थिए । त्यो घण्ट संसदको ढोकाअगाडि सडक छेउमा राखिएको छ । संयोगले पोलेण्ड घुम्न गएका टेलिग्राफ नेपालका सम्पादक नरेन्द्र उपाध्यायलाई तिनै राजदूतले लगेर प्राण प्रतिष्ठा गर्न लगाएछन् । कर्मकाण्डी बाहुन थिएनन्, नरेन्द्र । उनलाई अप्ठेरो परेछ र उनले अक्किल निकालेर गायत्री मन्त्र पटक पटक भट्भटाएर घण्टमा प्राण प्रतिष्ठा गरिदिए । त्यो घण्टा आज पनि पोलेण्डमा आकर्षणको बस्तु बनेको छ ।
प्राण प्रतिष्ठापछि राष्ट्रिय टीभीले लामो अन्तर्वार्ता लिएछ नरेन्द्र उपाध्यायको । घण्ट किन बजाइन्छ ? यो प्रश्नले उनलाई असिनपसिन बनाएछ । यहाँ पनि उनले विवेकको प्रयोग गरेर जवाफ दिएछन्– अदृश्य शक्ति भगवानलाई म आएँ, मेरो प्रार्थना स्वीकार गर, मलाई शक्ति प्रदान गर भनेर आह्वान गर्न घण्टी बजाइन्छ भन्ने तर्क दिएछन् । नेपालको संस्कार विश्वका लागि मर्मस्पर्सी र अजस्र स्रोत बनेको छ ।
खाजा खाएपछि छोरीले युनिभर्सिटीको म्यूजियम देखाउन लगिन् । जोनसन म्यूजियम, यहाँ हरेक महादेशबाट पढ्न आउने विद्यार्थी, अभिभावकले दिएका उपहारहरु संकलन गरेर सजाइएको रहेछ । जब बुद्ध देखे, मैले शिर निहुराएँ र बुद्धको मूर्तिका छेउमा पुगेर फोटो खिचाएँ । मभित्र एकप्रकारको गौरवपूर्ण रक्तसञ्चार भएजस्तो लाग्यो । एसियाका कला, संस्कृति र सम्पदा सूचीमा तिवेतियन र हिमालय आर्ट शिर्षकमा अनेक कला, मुखुण्डो, मूर्ति र बुद्धको तस्वीर, ढाका कपडा र थाङ्का आर्ट सजाइएको भेटें ।
भोलिपल्ट, हामी नियाग्रा फल्ससहितको पार्कतिर लाग्यौं । पारी क्यानडा, वारी अमेरिका, वीचमा १७० फिट गहिरो नियाग्रा फल्स । अहा क्या मनमोहक दृश्य । यो एउटा दृश्य हेर्न दैनिक एक लाख पर्यटक पुग्ने रहेछन् । डिलबाट, पानीजहाज चढेर, हवाई दृश्यावलोकन पनि गर्न सकिन्छ । के छैन यहाँ ? होटल्स, हाइकिङ, टे«किङ, रेलसेवा, बससेवा, टेक्सीसेवा, हर प्रकारका सुविधा सम्पन्न यो स्टेट पार्क हो । मैले नेपालको सुन्दरता सम्झें ।
नियाग्रा फल्सबाट फर्कियौं, कोठा पुग्नासाथ छोरीको टेलिफोन बज्यो । फोन रहेछ क्याथरिन मार्चको । क्याथरिन मार्च प्रोफेसर हुन्, उनी धेरै अघि नेपाल आएर नुवाकोटका तामाङ समुदायबारे श्रीमान श्रीमती दुबैले पीएचडी गरेका रहेछन् । उनलाई नेपालप्रति यतिबिघ्न लगाव हुनुको अर्को कारण तामाङ बालबालिकालाई छोराछोरी बनाएर अमेरिका लगेकी रहिछन् । महिला समुदाय खोलेर राजधानीदेखि गोर्खाका भूकम्पपीडितलाई राहत दिने दिलाउने कार्यमा पनि उनको संलग्नता रहेछ । नेपालका कनकमणिदेखि डा.प्रकाशचन्द्र लोहनीसम्म उनको मित्रता कायम छ । जति पनि नेपाली इथाका पुग्छन्, तिनलाई निम्त्याएर आतिथ्यता गर्ने र नेपाली खाना खुवाउनु उनको सोख नै रहेछ । कर्नल युनिभर्सिटीमा कुनै पनि नेपालीले पढेका छन् र परीक्षा पास गरे भने तिनलाई सम्मान गर्ने परम्परा नै बसालेकी रहिछन् ।
जाने कि नजाने, छोरीले सोधी । छोरी लपकपाएको सुनेर क्याथरिन मार्चले भनिछन्– सवारीको समस्या होला, म श्रीमानलाई लिन पठाउँछु । १० मिनटमै उनी लिन आए । दुबै प्राध्यापक, दुबैले कयुगा तालको किनारमा रहेको आफ्नो निवासमा हाम्रो स्वागत गरे, सम्मानमा स्याम्पेन पार्टीको आयोजना नै गरे । सामुहिक तस्वीर खिचाइयो । उनले नेपालको स्थिति सोधिन्, मैले मेरा प्रकाशन बागमती र राजनीति, राजा बास्सा र ग्रेटर नेपाल पुस्तक उपहारमा दिएँ, पढेर मूल्यांकन गर्ने बताइन् । एक अमेरिकन प्राध्यापक दम्पत्तिले आफैले नेपाली खाना बनाएर ख्वाउनु, मेरा लागि अचम्मको विषय थियो । उनीहरुको सादगी देखेर म अवाक बने । फर्कदा धन्यवाद दिएँ, नेपाल आउँदा खबर गर्न भनेको छु ।
अव न्यूयोर्क फर्केर युटा स्टेट, साल्ट लेक सिटी जाने दिन आयो । हामी फेरि ४ घण्टा बस चढेर न्यूयोक आयौं । छोरीले न्यूयोर्क सिटी घुमाइन् । स्टाचु अफ लिबर्टी गइयो । न्यूयोर्कको मेनहाटल मुख्य क्षेत्रमा पर्ने यो स्टाचु फ्रान्सेली मूर्तिकार बार्थोडीले १९६६ अक्टोबरमा बनाएका रहेछन् । ४६ मिटर अग्लो यो मूर्ति, भुइँदेखि ९३ मिटर अग्लो रहेको छ । वर्षको ३२ लाख मान्छेले भिजिट गर्ने यो ज्योतिर्पुञ्ज स्टाचु अफ लिबर्टी । संसारभर स्वतन्त्रताको सन्देशबाहक बनेको छ । न्यूयोर्कको मेनहाटन क्षेत्रमा स्थापित यो स्टाचुका निर्माता मूर्तिकार फ्रान्सका बार्थोडी हुन् । अक्टोबर १९६६ अक्टोबर २८ मा ३०औं राष्ट्रपति क्याल्भिन कोभिनले उद्घाटन गरेको यो संसारलाई स्वतन्त्रताको उज्यालो छर्ने प्रतीकका रुपमा खडा छ । यसलाई युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको छ ।
ज्याक्सन हाइट पनि गइयो । बौद्धको छाङ, थकाली भान्साघर, बाजेको सेकुवादेखि हर प्रकारका खानाका परिकार र नेपालीहरु भेटिए । अत्यन्त रमाइलो भइरहेको थियो, त्यति नै बेला ३० वर्षकी एक युवतीसँग भेट भयो । रमिला (नाम फेरिएको)को कथा पीडादायक छ । उनले भनिन्– दलालले अमेरिका पु¥याइदिन्छु भनेर ३२ लाख लिएछ । श्रीलंका हुँदै ग्वाटेमालाको जंगलैजंगल ४५ दिनमा अमेरिकाको सीमा पुगेकाहरुमध्ये उनी भाग्यमानी परिछन्, जो अमेरिकी सुरक्षाको आँखा छलेर सीमा पार गर्न सफल भइन् र बाँचिन् । महिनौं लुकेर बसेपछि एकजना काठमाडौंका मुसलमान युवाले बिहे गरेर उनको उद्धार गरेछन् । उनीसँगै गएका ७ युवती र १७ युवा कसैलाई पनि उनले भेटेकी छैनन् रे ।
उनका अनुसार नेपालीहरु दलालको फन्दामा परेर इक्वेडर, मेक्सिको, कोस्टारिका, जमैका, साल्भाडोर, अर्जेन्टिनासम्म पनि पु¥याइन्छन् । धेरै मर्छन्, धेरैका परिवारले यता दलाललाई पैसा दिइरहनुपर्छ र अमेरिका छिर्न नसकेर अलपत्र परेका छन् । नेपालमा मानव बेचबिखन साह्रै खतरनाक रुपमा बढेको छ । कंगोजस्तो भीखमंगा देशमा पुगेर नेपाली दिदीबहिनी डिस्को नाच्न र देहबेच्न बाध्य छन् । यतिमात्र होइन, नेपाल प्रहरीका अनुसार गोरो छालाका लागि समेत नेपाली युवतीहरुलाई विदेश लैजाने व्यापार खुब फस्टाउँदै गएको छ । सरकारलाई थाहा छ, नियन्त्रण हुन्न, अचम्म लाग्छ– राजनीति कति व्यवसायी भइसकेछ, राजनीतिले प्रशासनलाई कसरी भ्रष्ट बनाइरहेछ ।
यसपछि म्यानहाटन क्षेत्रकै किनारामा रहेको हडसन नदी किनारमा पनि पुगियो । यो त्यही नदी हो, जसले न्यूजर्सी र न्यूयोक दुई सहरलाई जोड्छ र यही नदीमा १ जनवरी २००९ का दिन यूएस एयरको १५० यात्रु र ५ क्रुमेम्बरसहित १५५ जना चढेको ए ३२० जेटले आपातकालीन हवाईजहाज लेण्ड गरेको थियो र सबैलाई सकुसल बचाएको थियो । यो घटना एयर इतिहासमा ऐतिहासिक मानिन्छ ।
सन २००१ सेप्टेम्बर ११ का दिन आतंककारी संगठन अलकायदाले हवाईजहाज ठोक्काएर आक्रमण गरेको वल्र्ड टे«ड सेन्टरका ट्वीन टावर जहाँ १९ आतंककारी र २९७७ जना गरी २९९६ जना मारिएका थिए । ६ हजार घाइते हुनपुगेका थिए, त्यो मेमोरियल स्थल पुगेर हार्दिक समवेदन प्रकट गरियो ।
सन २००६ मा थालनी गरेर २०१३ मा अर्को वान वल्र्ड टे«ड सेन्टर निर्माण भइसकेको रहेछ । ५४१.३ मिटर अग्लो टावरका डिजाइनर ड्याभिड चाइल्ड हुन् । हेरियो, घुमियो, टाइम्स स्क्वायरका अलावा लाइब्रेरी र अन्य झिलिकमिलिक दृश्यहरु पनि हेरियो र न्यूयोर्कबाट साल्ट लेक सिटीका लागि उडान समातियो । ४ घण्टाको उडानपछि गन्तव्यमा पुगियो ।
साल्ट लेक सिटीको विकासक्रम १८४७ देखि भएको रहेछ । यसलाई मरुभूमिको सहर पनि भनिन्छ । अमेरिकी सेनाले यो सहरका लागि युद्ध गर्नुपरेको इतिहास पनि रहेछ । ठ्याक्कै काठमाडौं भ्यालीजस्तो साल्ट लेक सिटी आकारमा अलि ठूलो छ, अमेरिकाका अन्य सहरभन्दा विकासशील हुँदैछ र खासगरी नेपालबाट लगिएका भुटानी शरणार्थीहरुको ठूलै संख्या अनेक बिजिनेस हाउसदेखि एयरपोर्टका रेष्टुराँमा काम गरिरहेका भेटिए । साल्ट लेक सिटीमा टेम्पल स्क्वायर निकै बिकसित केन्द्र रहेको छ, पर्यटकहरु यता बाक्लै रुपमा जाने रहेछन् ।
छोरी ज्वाईंले एउटा सहर त घुम्नै पर्छ भनेर त्यहाँबाट लसभेगास पु¥याए । ४ घण्टाको उडानमा पुगिने लस भेगास, खासगरी विश्वको जुवा खेल्ने थलोको रुपमा परिचित छ । नाम धेरै सुनेको, यसपाली पुगियो । घुमियो ।
चीनको मकाउभन्दा विकसित भइसकेको लस भेगासमा संसारका धनाध्येहरु जुवा खेल्न जाने रहेछन् । मरुभूमि भएकाले क्याकटसको विरुवा यत्रतत्र देखिन्छ । लस भेगासको अर्को विशेषता भनेको संसारकै कम्प्युटराइज्ड सहर र चन्द्रमाबाट देखिने एउटैमात्र थलो लशभेगास रहेछ । कारण सोध्दा थाहा लाग्यो– जूवा सेन्टर भएकाले व्यापक रुपमा विद्युतीय बत्तीहरुको झिलीमिलीको सहर रहेछ यो । म्यूजिकको तालमा पानीको फोहरा डान्स यहाँ प्रशिद्ध रहेछ । पर्यटकहरुको व्यापक भिडमभीड भेटियो ।
लस भेगास सहर कसरी यस्तो विश्व पर्यटक केन्द्र बन्यो, यसको पनि कथा थाहा लाग्यो । विद्युत उत्पादन, बाढी नियन्त्रण, पानी संकलन, पानी वितरण र मनोरञ्जनसमेतको महत्वाकांक्षा सहितको कोलोराडो नदीमा बाँध निर्माणको योजना बन्यो । ६ सय ६४ मिलियन डलर खर्च गरेर बनाएको त्यही बाँधको नाम हो हुबर ड्याम । १९३१ मा सुरु भएर १९३६ मा यो ड्याम लक्ष्यअनुसार पुरा भयो तर हजारौं कामदारले ज्यान गुमाए ।
कामदार दिनभरि बाँधको कडा काम गर्थे, साँझ भएपछि निराश हुन्थे । के गर्ने ? उनीहरुलाई मनोरञ्जन दिन भनेर खेल्ने, गाउने लगायतका सुविधाहरुको प्रवन्ध भएछ । खेल्न सुविधा दिदादिदै यो सहर बस्यो र जुवा व्यापक हुनथाल्यो, आज लस भेगास सिटी सिंगो जुवाघर बनेको छ । यो ड्याम राष्ट्रपति हर्बर्ट हुबरको नाममा नामाकरण गरिएको छ । यो ड्यामका कारण लस भेगास अमेरिकाको मरुभूमिको फूलको नामले पनि चिनिन्छ ।
२ दिनको लस भेगास बसाई सकेर एसएलसी फर्कियौं । केही दिन छोरीको घरमा बसियो । र, त्यहाँबाट काठमाडौंका लागि प्रस्थान गरियो । जब काठमाडौं एयरपोर्टबाट निस्कने द्वारमा पुगियो, गाईजात्रा देखियो । ब्यागेज लिने ठाउँमा पुग्दा ३ जनाको व्यागेज फुटेको र सामान झिकियो भनेर कराउँदै थिए । एयरपोर्टको यो बेथिति कहिले सुध्रने होला ?
शौचालयको बेहालत, जोकोही जता पनि जान सकिने स्थिति । कतिपय काउण्टरमा मान्छे नै थिएनन्, कतिपय विदेशीले आफैले स्टेम्प लगाएको पनि देखियो ।
त्यो नेपालभन्दा कान्छो देश देश अनुशासनले चलेको छ र विकास छ । जेठो नेपालको यो बेहाल ?
अमत्र्य सेनले डेभेलपमेन्ट एण्ड फ्रिडम पुस्तकमा गुलाफमा रङ होइन सुगन्ध हुनुपर्छ भनेर लेखेका छन् ।
लोकतन्त्रलाई गुलाफको फूल भनियो, यो गुलाफबाट दुर्गन्ध किन फैलिदैछ ?