banner
banner

महिलाको कामको मूल्यांकन किन हुन्न ?

देवी काफ्ले -
बराबरीको कुरा गरेर नथाक्नेहरु सबैका लागि यक्ष प्रश्न– महिलाको कामको मूल्यांकन किन हुदैन ?
आजकल सबैभन्दा बढी चर्चा महिला पुरुषको समान अधिकारका बिषयमा हुने गर्छ । चिया पसल देखि लिएर संसदमा समेत यहि बिषयले स्थान पाएको छ । सामान्य रुपमा अधिकार भन्ने बित्तिकै गाँस, बाँस, कपासलाई महत्व दिइन्छ । आखिर खान पाएकै छ । लाउन पाएकै छ ।घरमा बस्न पाएकै छ अरु के नै चाहिएको छ र ? भनेर बहस चलाइन्छ ।संबिधानमा महिलाका बिषयमा धेरै अधिकार निहित गरेको छ । महिला सर्वेसर्वा छन् । महिला राष्ट्रपति छन् अब के चाहियो भनिन्छ ।
अनि समाजमा भएका एक दुईवटा घटनालाई लिएर महिलाबाट पुरुष पिडित भए अधिकार दुरुपयोग गरे आखिर स्त्री जाती हुन् यीनलाई बुझ्न कठिन छ भनेर सबै महिला माथि प्रहार हुन्छ ।यस्ता मूल्यांकन  सामान्य हुन थाल्यो ।
सधैंभरी महिला परिवारको, पतिको,छोराछोरीको दासी बनेको बिषयमा कहीं कतै बहस चर्चा परिचर्चा भएको पाइदैन । उनले गरेको त्याग, मेहेनत, माया, परिश्रम, जिम्मेवारीको कुनै मूल्यांकन गरिंदैन । महिलाबाट कहाँनेर के कुरामा गल्ती हुन्छ, कहाँनेर चुक्छे र त्यसको बिल्लीबाठ लाउँला भनेर मौकाको खोजी चाहिँ निकै हुन्छ ।
घरमा कामको कति जिम्मेवारी हुन्छ थाहा छ तर सजिलै भनिन्छ के काम छ र ? बिहान उठेदेखि शुरु भएको काम दिनभर,अनि रातीसम्म गरिएका काम त देखिने कुरै भएन । घर सफा गर्नु, खाना बनाउनु, बच्चालाई  खुवाउनु, भाँडा बर्तन माझ्नु,लुगा धुनु, स्कुले बच्चा तयार गर्नु, अन्य सदस्यहरुलाई खाना, उनीहरुका भाँडा सफा, सबै गर्दै लोग्नेको जुत्ता पालिस गरि टाई बाँधेर अफिस पठाए पछिबल्ल उनलाई फिल्मको मध्यान्तर हुन्छ । अनि अफिस जाने महिलाको लागि अर्को काम । सबै पठाए पछि आफु तयार भएर अफिस जानू, जिम्मेवारी सकेर घर फर्कनु, काम शुरु गर्नु, छोराछोरी भोकाए खाजा बनादेउ, लोग्ने अफिसबाट आए चिया पकाईदेउ, घर धुलो छ झाडु लगाउ, बिहानको रयलपयल काम हतार हतार सक्नु र बेलुकाको तयारी गर्नु, बच्चाको गृहकार्य गराउनु, परिवारहरुलाई खान ब्यवस्था गर्नु, फेरि तीनै भाँडाकुडा सफा गर्नु, लोग्नका, छोराछोरीका ड्रेस धुनु आइरन गर्नु यी जागिरे महिलाका दैनिकि । यो दैनिकीमा पनि महिलाको काम के नै छ र ? दिनभरी हल्लेर आई बिहान बेलुका भात पकाई आफ्नै छोराछोरी स्याहारी मस्त छ यसलाई । यहि हो मूल्यांकन ?
अर्काथरी महिला बिहानदेखि खर्चको जोहो गर्न बच्चा खोकिलामा बोकेर खोलाकिनार जान्छन् अनि गिट्टिको एका थुप्रोमा बच्चा सुताएर गिट्टि कुट्न थाल्छन् । दिनभर गिटि कुटेर बेलुकालाई केही सामल जोहो गरेर आउंछिन । चुलो निभेको हुन्छ आन्द्रा चुँडिने गरि फु फु गर्दै आगो बाल्छिन्, पकाउँछिन बच्चा, लोग्नेलाई खुवाउँछिन, अन्य दैनिकी काम त  कति । खोई मूल्यांकन ?
केही महिला धनाढ्य परिवारमा हुन्छन् काम गर्ने सुसारे राखिईका हुन्छन् । तर उनीहरुलाई पनि लोग्नेलाई बिस्तरामा चिया, ससुरा–सासुलाई तातोपानी, छोराछोरीको स्याहार अनि लोग्नेको जुता, टाई लाईदिनु कोट लाईदिनु आदि उनका यिनै काम दैनिक हुन्छ अनि कामको मूल्यांकन हुन्छ घर बसेर खाकि छ सुख छ यसलाई के कमि छ र भनेर ।
सँगसँगै अफिस जागिर खाने श्रीमान् श्रीमती भए पनि घरका काम जति सबै श्रीमतिकै जिम्मा हुन्छ । यदि सानो काम पनि सघाइदिए लोग्नेले भने स्त्रीलम्पटको बिल्ला भिराउनु नै कामको मूल्यांकन  गरेको देखिन्छ । आखिर महिला घरायसी दासी हुन् त ?
किन उनीहरुले गरेको कामको मुल्यांकन  खान,लाउन र बस्न पाएकि छ मात्रै हुन्छ । घरमा गरिएका तिनै काम बाहिरको मान्छे लगायो भने कति तलव दिनुपर्छ त्यसको आँकलन गर्न चाहन्नन् । अनि ती महिलाको खुशि त पुरै बन्धक नै हुन्छ । तैपनि अधिकार दिएका कुरामा पुरुषहरु गर्व गर्नुहुन्छ ।
बाहिर ज्यालादारी काममा पनि महिलाले र पुरुषले बराबरी ज्याला पाउंदैनन् । बराबरी काम भएता पनि ज्याला पाउंदैनन् ।
श्रम एउटै छ तर ज्याला लिंगको भरमा तोकिन्छ आखिर कहिलेसम्म ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper