banner

राजावादीले सोच्नैपर्ने विषय

स्वयम्भुनाथ कार्की -
एउटा भनाई छ, कसैलाई चित्र बेच्नु छ भने उसलाई चित्रमा पार्नु पर्दछ । यो शास्वत भनाइको शाव्दिक प्रयोग यत्रतत्र देखिन्छ । अझ सामाजिक सञ्जालहरुमा त प्रत्यक्ष । आफु भएको वा आङ्खनो रुची भएको चित्र या कुरा आउने वित्तिकै त्यसमा उपस्थिति जनाउने गरिन्छ , चाहे मन पराएको भनेर वा प्रतिक्तिया व्यक्त गरेर । यो मान्छेको स्वभाव नै हो आफु संग भएको सम्वन्धको आधारमा उ कुनैपनि कुरामा रुची लिन्छ । सामान्य ज्ञानको निमित्त जानकारी राख्नु फरक कुरा हो, तर आफुसंग असबन्धित कुरामा भरसक रुची नलिने स्वभाव हुन्छ ।
चाहे व्यापारमा होस वा राजनीतिमा, कलामा होस वा मनोरञ्जनमा सबै क्षेत्रमा मान्छेले आफ्नो रुची अनुसार नै चयन गर्दछ । चर्का कुरा गरेर, बहुलठ्ठी कुरा गरेर हिंड्ने मुकुन्देहरु न पहिला हुन न अन्तिम नै । युट्युवमा मुख बनाई बनाई चर्का कुरा गर्नेहरुको कुरो मान्छेले मनोरञ्जनको निमित्त मात्र सुन्छन । यस्ताले न धारणा बनाउन सक्छन न साथ नै पाउछन । विभिन्न राजनैतिक कर्मीहरुको चर्का भाषण उनिहरुको सफलताको कारण हैन । त्यसमा उनिहरुले जनतालाई आफ्नो चित्र भित्र समाहित गर्नसक्ने तत्व कारण हो । नभए किन आजकल प्रजातन्त्रको चर्को भाषणले भाउ पाएको छैन । किन खड्ग ओली, पुष्पकमल आदिको भाषण सुन्न उर्दी जारी गर्नुपर्छ ?
राजावादीहरुले जनता आकर्षण गर्न प्रयोग गर्ने जम्माजम्मी ३ कुरा छन् । पहिलो धर्म , दोश्रो राजसंस्था अनि अन्तमा राष्ट्रियता । यी कुराहरुमा जनताको रुची छ भन्ने महाभ्रममा छन् उग्र राजावादी, अनि कमल थापा मार्का धर्मवादीहरु । उनीहरुलाई लाग्छ कि यी कुराहरुमा जनता त्यसै झुम्मिने छन । तर के यो वास्तविकता हो त ? किन जनताले यी कुराहरुलाई जीवनमृत्युको प्रश्न बनाउनु पर्ने ? बरु यीनीहरुको अभियानले गर्दा धर्मनिपेक्षवादीहरुले पुराण लगाएर पैसा उठाउन पाएका छन् । कयौ धर्म व्यापारीहरुको आश्रम बनेको छ , कयौको महल बनेको छ । विस्तारै यस्ता धर्म व्यापारीले धर्म भनेको त यस्ता पुराण, दान दातव्य मात्र हो भन्ने पार्न सफल भएका छन् । आस्थालाई उक्साएर कसैलाई करोडौ अरबौ खर्च गर्न उक्साउने दिशा तर्पm बढेको छ धर्मको मामिला । 
अलिअलि बोल्ने भए पछि नेपालीमा विदेश चाकरी गर्न जाने सपना कोचिएको हुन्छ । जहाँ चाकरी गर्न जान्छन त्यहा प्रचलन भएको धर्मलाई यहा गाली गर्न तल्लिन छन राजावादी, धर्मवादी अनि धर्मका व्यापारीहरु । त्यसैले धर्मको चित्रमा यत्तिकै पर्दैनन जनता । उनिहरुको दैनिकी, जीवनयापन, रहनसहनमा धर्मले खेल्ने भूमिका अनुसार रुची हुने गर्दछ । तर उनीहरुमा आफ्नो धर्म प्रति सम्मान र आदर भने छँदैछ । कोहीकोही बाहेक प्रतिदिन मन्दिर जाँदैनन नेपालीहरु, यसको अर्थ उनिहरु अधर्मी वा विधर्मी हैन । बर्षमा एक वा दुई दिन परंपरा अनुसारको अनुष्ठानमा भाग लिन्छन् र यो नै सनातन परंपरा हो । चन्दने कन्दनेहरुको हालीमुहाली न पहिले सहेका थिए न अव सहन्छन ।
दोश्रो कुरा राजसंस्था , हो यसमा नेपालीहरुको आदर सम्मान छ नै । तर लगाव हुनै पर्ने कारण के हो त ? राजसंस्था कुना लागेपछि जन्मेको पुस्ता अव निर्णायक हुने वेला आउदैछ । राजसंस्थाले जनताको जीवनमा सकारात्मक प्रभाव पारेको युग भोगेकाहरुको विस्तारै कपाल झर्दैछ, दाँत फुक्लदै छ । बीचको संवैधानिक राजसंस्था भनिएको मानमात्र खाने काम नगर्ने राजसंस्थाले नेपालीको आदर त पाएको छ तर आफ्नो आवश्यकता बोध गराउन सकेको छैन । राजसंस्था भन्नाले त्यसका हरेक प्रतिनिधिहरु जनाउँछ, आधुनिक नेपालको सन्दर्भमा श्री ५ पृथ्वीदेखि श्री ५ ज्ञानेन्द्रसम्म जनाउछ । पूर्व राजा ज्ञानेन्द्रले त्यो संस्थाको प्रतिनिधिको कारणले आदर त पाएका छन नै साथै यो अव्यवस्थाले दिक्क भएका जनताले आश पनि राखेका छन् । तर विस्तारै उनी वेगर नै रहने आदत हुँदै गयो भने त्यो आश पनि समाप्त नहोला भन्न सकिन्न ।
तेश्रो कुरा राष्ट्रियता,  जनता विदेश त्यो पनि खास गरेर पश्चिमा मुलुकमा जान पाए भाग्य खुलेको ठान्छ । यस्तोमा राष्ट्रियता प्रति आदर त होला तर यसलाई आङ्खनो जीवनको भाग कसरी बनाउँछ । आज कोही पनि गैर आवाशिय नेपालीलाई सोध्ने हो भने उस्ले भन्छ, नेपालको मायाँ त छ तर के गर्नु त्यहाँ म जस्ताको  स्कोप नै छैन । तै पनि उ बरु त्यहीबाट नेपालीलाई निर्देशन गर्छ । अनि नेपालमा भएकाहरु केही गरेर उसले आफुलाई पनि तान्ला भनेर उसको कुरोमा वाहवाह गर्छन् । अर्का थरी छन जो विदेशमा गएर जस्तो तल्लो स्तरको , कठिन काम पनि गर्न तैयार हुन्छन । त्यही काम आफ्नो देशमा भने गर्न मान्दैनन् । विदेशीको चाकर हुन आङ्खनो सिरीखुरी जाकटी राख्न तैयार हुन्छन तर त्यही पुँजीले आफ्नो गाउँठाउँमा काम गर्न सक्दैनन् । 
राजावादीले लिएका यी कुरा गलत भन्न खोजिएको हैन । तर आदरलाई समर्थनमा, आफ्नो आवश्यकतामा बदल्न चर्का भाषण र यो त मान्नै पर्छ जनताले भन्ने सोच राखेर हुन्न, चित्रमा जनतालाई पार्नै पर्छ । त्यो प्रयत्नको सर्वथा अभाव देखिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper