banner
banner

नारी, आफै रंगीन फूल हुन्

देवी काफ्ले -
सुन्दरी, सुन्दरता, महिला अधिकार,राजनितिमा महिला, आर्थिक क्रान्तिमा महिला, खेलकुदमा महिला, शिखर आरोहणमा महिला, प्रशासनमा महिला ! अधिकार प्रयोग गर्न जानेका महिला, अधिकार प्रयोग गर्न नजानेका महिला !
अनि राजनितिमा होस् या अन्य जुनसुकै ठाउँमा आरक्षित महिला अर्थात् नारी । कलाकार यानी कि हिरोइन, मन्त्री हुन् या कुनै सचिव नै ।
हामी गाऊंबासी या शहरिया महिला यानी कि नारी,उच्च घरानाको होउन् वा निम्न वर्गको जो भए पनि हामी नारी ।
नारी शब्द आफैमा यति सुन्दर छ कि यसलाई  न कुनै क्रिमको जरुरत छ न पाउडरको।जति नै सुन्दर भए पनि हामी नारीले एउटा यस्तो आर्टि्फिसियल सहारा खोज्छौं कि जसले हाम्रो आफ्नो सुन्दरतालाई गुमराह बनाईदिन्छ।त्यहि नक्कली सौन्दर्यताको पछाडि भाग्दा आफ्नो परिचय नै गुमेको पत्तै पाइंदैन ।
हाम्रो समाज त पुरुषवादी सोचले ग्रस्त छ । पुरुषले मात्रै महिलालाई हेपेका छन् भन्ने होइन यस्तो बिचारले ग्रस्त महिलाबाट महिला नै शोषित पनि नभएका होइनन् । यी शोषणबाट मुक्ति पाउन आजका नारी श्रींगारका सामानको सहारा लिंदै छन् । आफ्नो सुन्दरता अरुले बयान गरिदेओस् भन्ने चाहना राख्छन् । उनी जतिसुकै क्षमतावान भए पनि उनको परिचय रूपवती, कुरुप, सुन्दरीबाट खोजिने भएर पनि श्रींगारका सामनको भरपुर प्रयोग गर्छन् । आखिर यी सौन्दर्यका साधन किन प्रयोग गरिरहेका छन् नारी ?
बजारमा पाइने एन्टी एजिङ,आई ब्राउज,आई लाइनर्स, आइ स्याडो, बेस मेकअप, ब्लस, लिप ग्लास, लिप लाईनर, लिपिस्टिक, नेलपोलिस यस्ता हजारौं किसिमका सामानहरु नारीलाइ नै भनेर बनाइएका छन् । नक्कली आँखा, नक्कली  ओठ,नक्कली गाला किन ?
यी सबै साधन नारीले नै प्रयोग गर्छन् किनकि आफ्नो सांचो अनुहारको बारेमा त उनीहरुले कुण्ठा पालेर बसेका छन् । साँचो अनुहारमा केही न केही नमिलेकोले सुन्दरी छैन भन्ने भान कसरी पर्यो ?
बजारीया वस्तुले मात्रै उनको अनुहार चम्किन्छ नत्र  कुरुप छिन भन्ने हिनता र कुण्ठा कसले भर्यो उनमा ?
कसले गरेको अनुसन्धान  हो नारीको अनुहारमा कुनै न कुनै दोष छ या कुनै विशेष कुराको कमी छ भन्ने ? अनि मेकअपका साधन प्रयोग गरेर दोषमुक्त गराउन किन पर्यो ? के मेकअपका सामान प्रयोग गरेर दोषमुक्त गरेमा नारी सुन्दरी कहलिन्छिन् त ?
फेरि सुन्दरी देखिने होडमा खाना छोडिदिन्छन् । बोसो युक्त खाना खाए मोटो हुन्छे, नितम्ब, कमर, पिडौंला मोटा हुन्छन् साइज बिग्रन्छ र नराम्री देखिन्छ भनेर साइज मिलाउन थाल्छन् । शरीर कमजोर हुन्छ तर पनि सुन्दरी देखिनु त छ । फेरि कसले भन्यो कि नारीको शरिरको आकारमा सुन्दरता हुन्छ ?
फेरी कसले अर्को अनुसन्धान  गर्यो कुन्नी राम्रा रङ्गिचङ्गी लुगा रगहनामा नारीको सुन्दरता निखारिन्छ भनेर ? अनि त्यसैको लहै लहैमा नारीहरु अति बुट्टेदार सारी, पुरै पिठ्युँ खोलेको ब्लाउज, अग्ला चमकदार चप्पल अनि रङ्गीबिरङ्गी, विभिन्न चमकदार पत्थर जडित चुराहरु पहिरिंदै आफ्नो सुन्दरता खोजिरहेका छन् । त्यहा पनि नारी आफ्नो सांचो रुपसंग कुण्ठित छन् । आखिर किन यसो गर्छन् ? किन आफुभित्रको सुन्दरतासंग सन्तुष्ट हुन सक्दैनन् ? किन नारीको क्षमता बाह्य सुन्दरतामा मापन गरिन्छ ?
हाम्रो समाजमा पुरुषको परिचय उसको कामको आधारमा हुन्छ तर नारीको परिचय उसको सुन्दरतासंग डाक्टर, ईन्जीनियर, कलाकार, लेखक जे सुकै होस् तर प्रश्न गरिन्छ कि हेर्नमा कस्ति छे ? होची, अग्ली, काली, गोरी, पुड्की, अग्ली साइज त फरक फरक हुन्छ । डाक्टर, ईन्जीनियर, पाइलट, कलाकार लेखक पुरुषको आफ्नै पहिचान हो तर नारीको होची पुड्की राम्री या नराम्री । यस्ता परिचय लुकाउने ब्यावहारका पछाडी नारीहरु पनि अन्धाधुन्ध दौडिरहेका छन् । जुन कुरा नारीपरिचयको लागि  अपाच्य लाग्छ ।
नारी वास्तवमा आंफैमा सुन्दर छिन् । सृष्टिको  सबैभन्दा सुन्दर रुप नै नारीत्व हो । नारी सुन्दर हुन कुनै सौन्दर्य प्रशाधन या रत्न जडित चुरा प्रयोग गर्नै पर्दैन ।
घर सुन्दर बनाउने नारी हुन् । कुनै घरमा नारी छैनन् भने त्यो घर मसानघाट जस्तो लाग्छ । परिवार सुखी र सन्तति असल बनाउन नारीकै महत्वपूर्ण भूमिका रहन्छ । सन्तानलाई कस्तो बनाउने ? सुन्दर सपना बोकेर भोक तिर्खा नभनेर, आफू भोकै बसेर सन्तान र परिवारको पेट भर्ने नारी कसरी कुरुप ? परिवारको ईज्जतको लागि कहिले दाइजो तराजुमा जोखिन्छिन् कहिले मट्टीतेलमा  दन्किन्छिन् त कहिले घरको दलिनमा झुण्डिन्छिन् अनि उनै नारी कसरी कुरुप हुन् र बाह्य सुन्दरता चाहियो ? घर र माइती दुवै परिवारको बिचमा एउटा मजबुत पुल बनेर बलियो सम्बन्ध बनाउछिन् उनी कसरी कुरुप ?
आफ्नो घर परिवार,समाज र देश नै सुन्दर र सफल बनाउने सपना बोक्छिन् उनी कसरी कुरुप ?
आमा बनेर सन्तानलाई अथाह माया गर्छिन्।श्रीमती बनेर असल साथी ,सुखदुखको साथी मायालु जीवनसंगिनी बनेर पतिको सेवा गर्छिन् । उनै पतिका लागि व्रत बस्छिन् सौन्दर्यताका साधन प्रयोग गरेर खुशी  पार्छिन् । बुहारी बनेर लोग्नेका बाआमालाई आफ्ना कर्मदाता ठानेर सेवा गर्ने यिनै नारी हुन् । सहनशिलतालाई आफ्नो गहना ठान्ने र हरेक आपतबिपत् परे पनि संघर्ष गरेर जीवन चलाउन सक्ने नारी कसरी कुरुप ?
यिनै अनेक गुणहरु नै नारीका गहना र सुन्दरताका साधन हुन् । आत्मा देखि सुन्दर यी नारीलाई  न कुनै प्रशाधनको आवस्यकता छ न त भगवानको नाममा बेचिने हरिया पहेंला चुराको ।
अब त अलि चेत खुलाउ न।तिम्रो रुपको मापन गर्ने बजारिया बस्तुले होइन । तिम्रो त्याग, तिम्रो सहनशिलता, तिम्रो कोमल हृदयले तिम्रो सुन्दरतामा लाहाछाप लगाईसकेको छ फेरि किन बजारी वस्तुसँग तोलमोल गरिंदै छौ ?
तिमी आफैमा सृष्टिको  सुन्दर फूल हौ । तिमीलाई  रंगिन बनाउन कुनै बजारी रंगको आवश्यकता नै छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper