banner
banner

तिमीलाई फोहर गनाउ“छ, हामीलाई बास्ना आउछ ?

गंगा दाहाल -
तिमीलाई फोहर गनाउँछ, हामीलाई चाहिँ बास्ना आउँछ ?
फोहर सबैका लागि फोहर हो । यसकारण प्रश्न गम्भीर छ । यो सामयिक प्रश्नको जवाफ खोज्न नसकेर राजधानी छटपटिएको छ । जवाफ खोज्न जरुरी छ, किनकि यो मानवीय प्रश्न पनि हो, र, आमनागरिकको प्रश्न हो ।
राजधानीको फोहर नुवाकोटको सिसडोलमा फाल्न थालिएको लामो समय भइसक्यो । फोहर फाल्ने सुविधाका लागि त्यस क्षेत्रमा अनेक सुविधा दिने, रोजगारी दिने, आर्थिक सहायता दिनेजस्ता कबुल गरियो, त्यो कहिल्यै पूरा गरिएन । त्यसो त नागरिकलाई सुविधा दिएर नागरिक बस्तीलाई नै प्रभाव पार्नेगरी फोहर फाल्नु नै अमानवीयता हो । तर डम्पिङ साइट खोज्न नसक्ने दयापात्रहरु नागरिकलाई लोभ देखाएर नागरिकको स्वास्थ्यमा खेलबाड गर्दै आइरहेका छन् । यो अपराधप्रति सरकार संवेदनशील हुनसकेन । जनप्रतिनिधिहरु पनि मौन रहे ।
सिसडोल राष्ट्रकै चर्चाको विषय हो । किनकि जुन समस्या सिसडोलबासीले भोगेका छन्, त्यो समस्या देशैभरिको डम्पिङ साइटहरुमा छ । राजधानी अर्थात उपत्यकाको फोहर फाल्ने ठाउँ हो सिसडोल । फोहरले त्यस क्षेत्रका जनतामा अनेकविधि रोगाधिसमस्याहरु परिरहेका छन् । ती समस्याले अर्को महामारी अर्थात मानवीय समस्या निम्त्याउने खतरा बढिरहेको छ ।
फेरि चर्चा चल्यो बञ्चरे डाँडाको । सिसडोल नजिकै बञ्चरे डाँडामा फोहोर फाल्ने स्यानेटरी ल्याण्डफिल साइड बनाउने र त्यसका लागि संरचना बनाउन लाग्ने दुई वर्षका लागि अस्थायी रुपमा त्यहाँ फोहोर फाल्न सुरु सुरु गरियो । त्यस भेगका जनताले फोहोर फाल्न दिएबापत स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार लगायतमा लगानी चाहिन्छ भने, फाल्नेले हुन्छ भनेर कबुल पनि गरे तर ाज्यका तर्फबाट गरिएको थियो । तर, १४ वर्षसम्म सरकारले जनतालाई झुक्याइरह्यो । जनता झुक्याउनु सरकारको, जनप्रतिनिधिको अपराध हो ।
सरकार र जनप्रतिनिधिहरुले अपराध गरिरहे, प्रशासनले हेपिरह्यो । जनता अनेक रोगबाट पीडित भइरहे, फोहरकै कारण अकालमा मरिरहे । सिसडोल र बञ्चरे डाँडामा फोहर फाल्ने विषयलाई लिएर त्यस भेगका जनता आन्दोलित छन् । जनतालाई पेलेर अघि बढ्नुभन्दा जनताको कुरा सुन्नु र कसैलाई पनि प्रभाव नपर्नेगरी प्रभावकारी रुपमा फोहर व्यवस्थापनको सोच राख्नु उचित हुन्छ । यसतिर अझै गम्भीरता छैन ।
फोहर हरेक दिनको समस्या हो । फोहर हरेक दिन उत्पादन हुन्छ । फोहर व्यवस्थापन नगरे घर फोहर हुन्छ, टोल फोहर हुन्छ, गाउँ वा सहर फोहर हुन्छ । फोहर बढ्नु भनेको रोग बढ्नु हो । रोग र अनेक मानवीय समस्यालाई निम्तो दिनु हो ।  समस्याको दीर्घकालीन सोच राख्नैपर्छ । यस विषयमा राजधानीले मात्र होइन, देशैभरका गाउँपालिका, नगरपालिका, प्रदेश सरकारहरु र केन्द्र सरकारले समेत बहस गरेर उपाय निकाल्नैपर्छ । अन्यथा फोहरको समस्या राष्ट्रिय संकट बन्नसक्छ । फोहरकै कारण हामीजस्तो अविकसित मुलुक विकासशील हुनसक्ने छैनौं ।
राजधानीको फोहरबाट नुवाकोटको ओखरपौवा, चाउथे, कुमरी, ककनी, दुईपिपल र धादिङका छत्रे देउराली, जिवनपुर, केवलपुरसहितका क्षेत्रका मानिसको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । अतिरोगहरु पहिलेको दाँजोमा बढेर गएका छन् । खासगरी दमका रोगी, मुटुका रोगी, रुघाखोकीले छातीका समस्याहरु दिनदिनै बढेर गएका छन् । यो यथार्थ अस्पतालमा बढेको भीड र ओखतीको खपतको मात्राले पनि पुष्टि गर्छ । फोहरकै कारणले खेतीपाती सुकेका छन् । पशुपक्षीसमेत धमाधम मरिरहेका छन् । वातावरण प्रदूषित भएर गएको छ । फोहरमा मान्छे र जिवजन्तु बस्न बाँच्न सक्दैनन् । यही समस्याको आवाज हो जनआवाज । जनताले जति चिच्याएर कराए पनि सरोकारवालाले नसुनिदिएपछि लोकतन्त्रमाथि नै अनास्था बढ्न थालेको छ । यो जाति कुरो होइन । जिम्मेवार हुनुपर्छ, जिम्मेवारी र जवाफदेहीताको अर्को नाम लोकतन्त्र हो ।
एकातिर अपराध गर्न सुविधा दिने लोभ देखाउने, लिखित र अलिखित सहमति पनि गर्ने । सहमति पूरा नगर्ने र जनतालाई आन्दोलित हुन बाध्य पार्ने । फोहर व्यवस्थापनमा साह्रै लापरवाही बढेको छ । लापरवाहीले जनताप्रतिको जिम्मेवारी र राजनीतिक नैतिकता प्रदर्शन हुनसक्दैन । राजनीति जनताको हितमा र राष्ट्र विकासका लागि गर्ने हो । फोहर व्यवस्थापन गर्न नसक्ने राजनीतिले जनता मार्छ, देशलाई बर्बादीतिर धकेल्छ । यो कुरा जनपक्षीयहरुले बढी बुझ्नुपर्छ ।
सिसडोल र बञ्चरेडाँडाका बासिन्दाले अर्को न्यायको आवाज उठाउन थालेका छन् । सिसडोलको फोहोरबाट प्रभावितलाई क्षतिपूर्ति नभएसम्म बञ्चरेमा ल्याण्डफिल साइड बनाउन दिदैनौं । जनताले किन बुझेका छैनन्– आज सिसडोलका जनतालाई क्षतिपूर्ति चाहिएको छ । कारण फोहरबाट प्रताडित भएकोमा । भोलि त्यो प्रताडना बञ्चरेडाँडाका बासिन्दाले पनि भोग्नुपर्छ । अकालमा मर्नुपर्छ, रोगाबाट छटपटिनुपर्छ । जनताले सरकारलाई भन्नुपर्ने के हो भने जनतालाई प्रभाव नपर्ने गरी त्यस्तो स्थानको पहिचान गरेर डम्पिङसाइट बनाउनुपर्छ । फोहरबाट मल बनाउन सकिन्छ, ग्यास निकाल्न सकिन्छ । फोहरलाई मोहर बनाउने र रोजगारी पनि दिने विषयमा सबैको चिन्तन हुने हो भने जनताकै शेयरमा त्यस्तो परियोजना सञ्चालन गर्न सकिन्छ । यो सहभागितामूलक विकास झन दिगो र देशका लागि उपयोगी हुनसक्छ ।
अव समय आयो, राजधानी अथवा सहरको फोहर गाउँमा लगेर थुपारिदिनु समाधान होइन । गाउँलाई दिने सहयोग दिइरहनुपर्छ । गाउँ बने देश बन्छ । गाउँलाई फोहरपीडित नपारौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper