banner
banner

आखिर महिला स्वतन्त्रता कहिले आउछ ?

देवी काफ्ले -
आखिर महिला स्वतन्त्रता  कहिले आउँछ ? २१आंैं शताब्दीमा पनि महिलाले प्रताडित भएरै बस्नुपर्ने ?
हामी जतिसुकै पढेलेखेका, बुद्धिजीवी भए पनि संस्कार हामीमा उहीँ छ । आईमाइ आखिर आईमाइ नै हो । उसका बन्देजको बयान गरेर सक्दिन म । जब म जन्मे छोरी पाएको सजायं स्वरुप आमा न्वारनकै दिनदेखि घाँस दाउरा, मेलापातमा जानुपर्यो ।
म भन्दा अगाडि जन्मेका चार भाइ दाईहरु, दुई दिदीहरुको पालामा पनि आमाको हालत त्यहि थियो अरे । बर्र्सेिन बच्चा पाउनु, धाराबाट रोचे गाग्रीभरी पानी बोक्नु, गोठका भैंसी, बाख्रा, घोडालाई घांसपात, कुंडोपानी, दाना सबै गर्नु,खेतको काम गर्नु,बारीको मेलो सबै उनै आमाको जिम्मा । खेती बिग्रे गाली खाने आमा,छोराछोरी अटेरी भए गाली खाने आमा । बाको काम त घको आर्थिक ब्यावस्थापन थियो । रोबोटले जस्तो काम गरेर थाकेकी आमा सात आठ सन्तानको खुशीको लागि न राती सुतिन् न त भोकमा खाइन् । उनको त्यो कामको मूल्यांकन खाली आइमाईको नाममा हुन्थ्यो ।
लोग्नेको खुट्टाको जल खाएर मात्र अन्न ग्रहण गर्ने मेरी आमाले बासँग कामको अपेक्षा राख्ने त कुरै भएन । यदि अपेक्षा राखिन् भने क्षति आमाकी छोरी, के सिक लिएर आकी थुक्क कुलंगार्नी ! गाली हजुरआमासम्म ।
आइमाई भएकै कारण हरेक ठाउँमा, प्राय मानिसहरुबाट फरक फरक शिर्षकमा प्रताडित भैरहेका हुन्छन् । एउटी आमा सन्तानको लागि कति संघर्ष गर्छिन्, ती सबै संघर्ष बिर्सेर जब छोरा जवान हुन्छन् तब छोराले आमाको चरित्र माथि प्रश्नवाचक चिन्ह लगाउँछन् बिडम्वना । दुर्भाग्य आमाको ।
सन्तान जन्माउँदा आफ्नो रमाइलोको लागि जन्माएको आरोप लगाउँछन्, ती सबै आरोप आईमाइले नै खेप्नुपर्छ ।
 बालिका हुँदा चर्को बोल्यो कि कति उत्ताउली भाकी सुस्त बोल छोरी मान्छे भएर चर्को बोल्न हुन्न । पाहुना आउँदा निहुरेर हिड नत्र उरन्ठेउली भईन्छ, बाउको ईज्जतका लागि बाच्नु पर्ने । युवावस्था पुग्दा परपुरुषको मुख हेर्यो भने चरित्रहिन भन्छन् । आफ्नो खानदानको इज्जत जान्छ भनेर खानदान, बाउ, दाजुभाईको ईज्जतको ठेक्का लिनुपर्ने । बिहे गर्यो परपुरुषसँग राम्रो कामैले बोल्दा पनि पतिको, घरको ईज्जत जाने । सन्तान जन्मायो जब हुर्कन्छन् अनि छोराको इज्जत जाला भनेर कसैसँग बोल्न नहुने ! आखिर सारा पुरुषको ईज्जतको ठेकेदार त्यै आईमाइ त रहिछिन् नी । आफ्नो इज्जत बचाउन आईमाइको सहारा लिनु पर्छ भने किन दोस्रो दर्जामा राख्नु महिलालाई चाहिँ ?
आखिर घर, समाज, दुबै नारी र पुरुष बिना कहाँ निर्माण भएको छ ? समाजमा कसैसंग बोल्यो कि बात लाग्छ भने किन नारीलाई मात्र बात लाग्छ ? पुरुषमाथि किन बात लाग्दैन ? पुरुष सधैं दूधले नुहाएको हुने, महिलामाथि साना साना कुरामा पनि अपमानित हुनुपर्ने, यो पुरुष समाज देखेर आजकल वाक्क लाग्न थालेका छ मलाई । महिलाको स्वतन्त्रता कहिले देखि आउँछ होला ?
के नारी बिना सृष्टि  सम्भव छ ? छैन भने किन नारीमाथि हरेक कुरामा औंला उठ्छ ? नारीले गरेको संघर्षको मूल्यांकन किन उसको ईज्जतको टीका माथि केन्द्रित हुन्छ ? के नारी मात्र पुरुषको ईज्जतको ठेकेदार हुन् ? पुरुष आर्थिक ब्यावस्थापनको लागि घर बाहिर हुन्छ त्यो बेला नारीलाई कुनै समस्या नै पर्दैन ? आखिर समस्यामा उ कोहि पुरुषसंग बोल्नु पनि चरित्रहिनता हो ? नारी कसैसंग हंसिमजाक गर्नु पनि हुदैन ? उसको मन मन हैन ?
आजको समयमा एक्लो पुरुषको आयआर्जनले घर चलाउन गाह्रो छ । पुरुषको हातमा हात मिलाएर कामा कैयौं नारी आर्थिक उपार्जनको लागि निस्केका छन् के तिनिहरु सबै चरित्रहिन हुन् ?
असल समाजको निर्माण गर्न नारी बिना सम्भव छ ? यदि छ भने एक्लो पुरुषले गरे भयो नी किन चाहियो नारीको साथ ?
हामी जुनसुकै शताब्दीमा पुगे पनि अलिकति फराकिलो सोचेनौ भने नारी सधैं आईमाइ र पुरुषको ईज्जतको ठेकेदारकै रुपमा रहने छौं । सोंच बदलौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper