banner

सार्वजनिक सवारी, आरक्षण र हामी

देवी काफ्ले -
केही दिन अघि म एउटा सार्वजनिक बसमा यात्रा गर्दै थिएँ । राजधानीका बसहरुमा आरक्षित सिटहरु त अनिवार्य नै छ । त्यसमध्ये सबैका आँखा जाने सिट भनेकै महिला सिट हुन अनि जेष्ठ नागरिक सिट । त्यसपछि अपाङ्ग सिट । बसमा चढेंँ । सिट हेरेँ, यात्रु भरिभराउ थिए । उभिएका यात्रु हेरेँ, महिला उभिएका थिए । जेष्ठ नागरिक पनि उभिएका थिए । एकजना जेष्ठ नागरिकलाई खाली महिला सिटमा बस्न अनुरोध गरेँ, उनी मानेनन् । उनले झ्यालमाथि महिला सिट लेखेको सूचनातिर इसारा गरे । मैले हेरें, पढेँ र फिस्स हाँसे । महिला सिटमा बसेँ, बसभित्रको दृश्यले म शान्त हुन सकिन ।
मेरो सिट पछाडिका सिटमा अरु पनि महिला थिए, कलेज पढ्ने विद्यार्थी थिए । म बसेको सिट खाली भएर पनि किन कुनै महिला बसेनन् ?
ती भद्र जेष्ठ नागरिक उत्रने बेला भएछ । ल बैनी के गर्नु महिला सिटमा बस्यो भने हामीलाई अप्ठेरो हुन्छ । त्यसै नबसेको । फेरि अर्को यात्रु महिला चढ्नु भयो भने अलि अपमानित पनि हुनुपर्छ । मेरो यात्रा यत्ति हो, म झरेँ अव ।
एकजना जेष्ठ नागरिक उत्रिएपछि युवा आएर थ्याच्च बसे । अर्को स्टपमा अरु ३ जना जेष्ठ नागरिक बसमा चढे । दुई जनालाई सिट आरक्षित थियो, भए ३ जना, एकजना उभिनै प¥यो । त्यसमा पनि दुई जनाको सिटमध्ये एकजना युवा बसेका थिए । उनी उठ्नु नपरोस् भनेर झ्यालबाहिरतिर हेर्दैथिए ।
घटना यत्तिमात्र होइन । दिनुहँ सार्वजनिक बसमा यात्रा गर्दा एउटा न एउटा यस्ता टना घटिरहन्छन् । महिला आरक्षित सिटमा भर्खरकी युवती मजाले बसेकी हुन्छिन् । सँगै बृद्ध महिला उभिएको देखिन्छ । अपाङ सिटमा सपाङ्ग यात्रा गर्छन्, जेष्ठ नागरिकको सिटमा युवा ढसमस्स बसेका भेटिन्छन् । हरेक दिन हेर्न सकिन्छ ।
विषय आरक्षणको मात्र होइन । हाम्रो आरचरण र संस्कारको पनि हो । आरक्षित दुई वटा महिला सिटले पुरै महिलाले र पुरै जेष्ठ नागरिकले सुविधा पाउने त पक्कै होइन तर पनि केही हदसम्म राहत हुन्छ । त्यो सबल पक्ष हो । यहाँ त यकसले कसलाई त्यो सुविधा दिने, कसले सुविधा लिने, अन्योल नै पो देखेँ मैले ।
केही दिन अघि म नौबिसे हुँदै मार्खु, कुलेखानी जाँदै थिएँ । सार्वजनिक बसमा । जब बस नौबिसेबाट माथि लाग्यो, त्येसक बस स्टपमा बच्चासहितका महिला, जेष्ठ नागरिकहरु बस चढ्न थाले । हामीले अघिल्लो दिनदेखि नै टिकट बुक गरेकाले आफ्नो सिटमा गजधम्म बसेका थियौं, बस खचाखच थियो । दिनमा मुस्किलले दुई वटा बस चल्ने त्यो बाटोमा मानिसहरु कोचाकोच चढिरहेका थिए । त्यो बसमा केको आरक्षणको कुरा ? बिकट गन्तव्यहरुमा बस सेवा कम हुन्छ र यात्रुलाई भेडाबाख्रा कोचेजसरी कोचेर लैजान्छन् । त्यस्तो कोचाकोचमा केको आरक्षण, केको मान सम्मान ? हो, विकसित सहरमा आरक्षणले ठूलै महत्व राख्छ र ठूलै सुविधा पनि दिइरहेको छ ।
सरकारले व्यवस्थापन गर्न सकेको छैन । अनि हामी आफै पनि सभ्य हुनसकेनौं । हाम्रो मनबाट मानवता हराएर जाँदो छ । हामी आफ्नो मानवीय कर्तव्य पूरा नगरे पनि अधिकार खोज्न सिपालु भयौं । अधिकारको नाममा नसुहाउँदो तरिकाले संवेदनहीनताको विकास गरिरहेका छौं । हामी आफैले आफैलाई हेर्नुपर्छ ।
६०–७० वर्षका बुढाबुढी बाआमा बसमा उभिनु भएको छ । १८–२० वर्षे जवान जवानी आरक्षण सिटमा मजाले बसेका देखिन्छन् । गर्भवती महिला उभिएर यात्रा गर्न बाध्य छन्, युवायुवती सिट छाड्न चाहँदैनन् । आरक्षित नभएका सिट पनि यस्ता कमजोरहरुलाई छाड्नुपर्छ, उल्टै आरक्षित सिट पनि कब्जा जमाएर बसेका भेटिन्छन् ।
सार्वजनिक बसमा दुई महिला र दुई बृद्धलाई छुट्याएको त छ, त्यही सिटले पनि हाम्रो मनमा अमानवीयताले बास नगरोस् । कमसेकम सार्वजनिक बसमा यस्ता संवेदनहीनताका दृश्यहरु देख्नु नपरोस् । बृद्ध, असहाय, अशक्त, गर्भवती, सुत्केरी, बच्चा, रोगीहरुप्रति जो कसैले सम्मानको भावना राखौं । आरक्षित सिटको सदुपयोग गरौं, आरक्षित बाहेकका सिटमा पनि आफूभन्दा कमजोर र सहायता दिनुपर्नेहरुका लागि उदारताका साथ प्रस्तुत होऔं ।
हामीभित्र मानवता हुनुपर्छ । मानवता नै म¥यो भने हामी बाँचेर पनि के बाँचेका छौं जस्तो हुनेछ । त्यसैले सार्वजनिक सवारीमा मानवीयता देखाऔं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper