banner

सीमास्तम्भ उठाउने अवसर

गंगा दाहाल -
भारतले आफ्नो नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी हालेपछि उठेको आँधी रोकिएको छैन । नेपाली मनमनमा भारतले ज्यादति गरेको आगो सल्किरहेकै छ । यो आगो कसरी निभाउने भन्ने सन्दर्भमा सरकारले ती क्षेत्र नेपालको हो भनेको छ र प्रधानमन्त्रीले टेलिफोन वार्ता गरेर रहेका समस्या समाधान वार्ताद्वारा सुल्झाउन प्रस्ताव पनि गरेका छन् । सरकारले कुटनीतिक नोट पठायो र भारतले वार्ता गर्न तैयार रहेको जनाउपत्र पनि पठाइसकेको छ । सम्बन्धमा सामान्यीकरण हुनथालेको संकेत देखिन्छ । प्रधानमनत्रीले भारतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न दिएको निम्तो पनि मोदीले स्वीकार गरिसकेको सञ्चारमन्त्रीले बताएका छन् ।
यति नै बेला नेपाल–भारत सीमा स्तम्भ व्यवस्थापन गर्न गठित संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्लाका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन शुरु गरेको छ । यही मौकामा ढलेका, लुटिएका, हराएका, मिचिएका सीमा स्तम्भलाई उठाउने अवसर मिलेको छ । नेपालको नापी टोली कति सक्षम छ, नेपालप्रति कति प्रतिवद्ध रहेको छ, यसको परीक्षा पनि यही बेला हुनेछ । राजनीतिमा र कर्मचारीतन्त्रमा इमान नभएपछि देशले दुःख पाउने हो, त्यो इमान प्रदर्शन गर्ने र नेपालीत्व जोगाउने बेला यही हो ।
समस्या सम्बन्धमा होइन सीमामा छ । सीमाका कारणले नेपाल भारतवीचको सुसम्बन्धमा अमीलो निचोरिएको हो । नेपाल भारत सीमा स्तम्भको अध्ययन सर्वेक्षणले नेपालको सीमा यकिन भयो, दुरुस्त पारियो भने भारतकोजस्तै नेपालको पनि राजनीतिक नक्सा सार्वजनिक हुनसक्छ र सरकारले यो नक्सा देखाउनासाथ नेपालमा जेजस्तो शंकाको वातावरण छ, त्यो शंकाको निवारण हुनजाने छ । यो सरकारको नियतको विश्वसनीयताको प्रश्न पनि हो ।
कैलाली र कञ्चनपुरका सीमा स्तम्भको अवस्थाबारे स्थलगत अध्ययन कहाँ पुग्यो । यही मौकामा दार्चुलाको सीमाबारे पनि अध्ययन किन नगर्ने ? संयुक्त टोलीको काम भारतसँग सीमा जोडिएको क्षेत्र ब्रह्मदेव नाकासम्मका सीमा स्तम्भको अवस्था अध्ययन गर्न लागेको भनिएको छ, यही टोली अथवा थप जनशक्ति पठाएर कालापानी, लिम्पियाधुरा, लिपुलेकबारेमा पनि नेपाल भारत दुबै मुलुक स्पष्ट हुनुपर्छ र यही टोलीले प्रमाणका आधारमा सीमा स्पष्ट पारिदिने हो भने नमिलेका सवालमा राजनीतिक र कूटनीतिक तहमा बिबाद सुल्झाउन सरल हुनेछ । सम्बन्धमा घुणा पालेर हुन्न । सम्बन्धमा घृणा र शरीरमा पिलोको रोग उस्तै हो, यसले सिंगो सम्बन्धलाई दुःख दिन्छ ।
संयुक्त नापी टोलीले सीमा स्तम्भको अवस्था र विवादित क्षेत्रमा जनताको भावना बुझ्ने काम थालिएको भनेर प्रचार गरिएको छ । सवाल भावना हो होइन, प्रमाण र नेपाल–भारत सीमा भूगोलको हो । नेपाल र भारतको भूगोलको रेखा छुट्टिनासाथ सम्बन्धमा सामान्यीकरण हुनथाल्नेछ । भारत बिस्तारवादी हो भन्ने मानसिकतामा परिवर्तन आउनेछ । यसतिर नापीको ध्यान जावस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper