स्वयम्भुनाथ कार्की -
पहिलो र दोश्रो विश्वयुद्धको प्रभाव र परिणाम सुखद त रहेन, तर यी युद्धहरुले मानव समाजलाई मध्ययुगीन बर्बरता त्याग्ने सोच बनाउन बाध्य बनायो । मध्ययुगीन सामाजिक बनौट, मानवमानव विचको भेदभाव, बर्बर युद्धकला आधुनिक युगमा अस्विकृत भए । हुनत मध्ययुगीन बर्बर व्यवहार वर्तमान हुँदै नभएको त हैन, तर वर्तमानले त्यसलाई मध्ययुगको भैm महिमा मण्डित गर्दैन बरु मानवता विरुद्धको अपराध भन्दछ । त्यसैले कुनै पनि राजनैतिक सामाजिक वा परंपरागत कुरा होस् अथवा व्यवहार त्यसको विवेचना गर्दा पहिलो विश्वयुद्ध भन्दा अघिको र त्यस पछिको अलग अलग मूल्यांकन गर्दा नै सहि नतिजामा पुग्न सकिन्छ । हिंस्रक बन्यजन्तुले मानव सभ्यतालाई बाधा दिदै गरेको युगमा शिकार खेलिनु, जंगलफांंडेर वस्ती वसाउनु पुरुषार्थ तथा विकास थियो भने वर्तमानमा यो अपराध भएको छ । भविष्यमा हिसक जन्तुहरुको प्रकोप बढेर मानववस्ती सखाप हुनलाग्यो भने फेरी यो सोच बदलिन पनि सक्छ । त्यसैले मध्ययुगमा गरेको शिकारलाई वर्तमानको चस्माले हेरेर अपराध भन्दैगर्दा भविष्यमा मानव समाजमा खतरा भयो भने अहिलेको समयलाई त्यो भविष्यले मानवघाती भन्न सक्छ भन्ने पनि हेक्का राख्नुपर्छ ।
यो भूमिकाको आवश्यकता किन भने नेपाली राजनीतिका नायक वा खलनायकहरुको विवेचना गर्दा मध्ययुग सामेल गरिनु किन अनुपयुक्त हुन्छ भन्ने कुरा स्थापना नगरी अगाडी बढ्न उचित हुने थिएन । यो मध्ययुगको समाप्ती र आधुनिक युगको आगमनको स्वागत नेपालमा जहानियाँ शासन सम्हालेका राणहरुले पनि गरे । चन्द्र सम्सेरले दासप्रथा उन्मोलन गरे, अमलेख भएका दासहरुलाई समाजमा स्थापना गराउन अमलेखगंज नै बसाए, त्रिचन्द्र कलेज खोले, चन्द्रनहर बनाए, विजुली निकाले । राणा शासनका धेरै आधारभूत मध्ययुगीन मान्यताहरु तोडे । कारण चाहे जे होस प्रभाव भने नेपालीलाई अलिकती शितलता दिने नै भयो । वीपी पिता कृष्णप्रसादलाई देश निकाला गर्नुले उनको कार्यकालमा त केही फरक परेन तर राणशासनको जग हल्लाउने कारक बन्यो । यसरी चन्द्रसमसेरले नायकत्व र खलनायकत्वमा लुकामारी खेल्दै अठ्ठाइस वर्ष जंगबहादुरको पौरख भोग गरे । भिम सम्सेरले राणाहरुको रोलक्रममा परिवर्तन गरेका थिए । यो परिवर्तन गर्दा उनले सोच्न सकेनन् की अहिले आफुमा अधिकार भएको वेला गरेको काम भोली आउने अर्कोले पनि परिवर्तन गर्नसक्छ । हुनत भीमसम्सेरको सोचको यो कमजोरी आजकल सबैमा देखा परेको छ, अहिले जल्दोवल्दो भएको बेला मनमौजी काम गरिहालौं, त्यो संस्थागत हुन्छ, स्थायी हुन्छ भन्ने । तर वास्तिविकता त्यसको ठिक उल्टो हुने गर्दछ, भोली आउनेले आजको त्यो चीरस्थायी सम्झेर गरेको काम नै सबैभन्दा पहिले भत्काउँछ । भिमसम्सेरको यो काम पनि भत्कनु थियो, भत्कियो । तर यो पनि राणाशासनले आपैmले आपैmलाई समाप्त पार्न चालेको कदम जस्तो भयो । भीम सम्सेरका नातीहरु र कृष्णप्रसादका छोराहरुले राणशासनसंग नेपालका राजादेखि रंकसम्ममा भएको असन्तुष्टि संयोजन गरेर त्यसलाई समाप्त पार्न प्रमुख भुमिका खेले । नेपालीलाई प्रदान गरेको यो नायकत्व पनि स्थायी रहन सकेन । यसको जिद्धि, आपसी कलह, क्रान्तिको सफलता पछि जनतासंग टाढिने घटनाक्रम भए ।
जनतामा कुनै प्रकारको असन्तोषको बिउ नभई स्थापितलाई हल्लाउन सक्ने क्षमता कसैमा पनि हुँदैन । महत्वाकांक्षी र आफ्नो लक्षप्रति दृढ भएकोले असन्तोषको लेसमात्र पायो भने पनि त्यसैलाई परिवर्तनको औजार बनाउँछ, यदि असन्तोषको मात्रा धेरै छ भने त आकांक्षीको निमित्त त्यो त राजमार्ग नै हुन्छ । राजा महेन्द्रले सत्रसालमा दुई तिहाई जस्तो स्थान जितेर बनाएको सरकारलाई केवल सेनाको बलले मात्र अपदस्त गर्न संभव थियो भन्ने कुरा कताकता पच्दैन । जनतासँग टाढिएको अवस्थामा पाएको मत तथा सामुन्नेको जयजयकार नै आफ्नो जनसमर्थन हो भन्ने भ्रम पर्न सक्छ । कांग्रेसले जनता टाढिएको पत्तै पाएन, यस कुराको पुष्टि निमित्त गणेशमानको ‘भेडावाला भनाई नै काफी छ । सत्रसालमा राजा महेन्द्रले शासनको बागडोर हातमा लिए पछि एक सेकेण्ड पनि समय खेर फालेनन्, तुरन्त कार्यान्वयनमा लागे । जनतासँगको प्रत्यक्ष सम्पर्कलाई उच्च महत्व दिए । नेपालीले उनको स्वर्गवास नहुन्जेल हमेशा काम पाई राखे, मेहेनत गर्दैमा जनतालाई अन्य कुरा हेर्ने फुसर्द नै भएन । त्यसैले महेन्द्र क्षणिक नायक मात्र भएनन् । उनको असर कायम छ, समर्थकमा भन्दा विरोधीहरुमा ।
राजा महेन्द्र पछिको अबस्थामा जति पनि नायक भएका छन्, ती साह्रै क्षणिक भएका छन् । यस कुरामा अन्य राजनैतिक व्यक्तिहरु मात्र हैन उनकै छोराहरुले पनि आफ्नो असर लामो राख्न सकेनन् । सामुन्नेको जयजयकारमा भुल्दा जनसम्पर्क टुट्न जान्छ भन्ने हेक्का राजाहरुलाई मात्र नभएको हैन, विभिन्न समयमा विभिन्न समुहको तारणहारकोरुपमा आफुलाई उभ्याएकाहरुले पनि भुलेका छन् । हिजो रविनहुड भैm काम गरेर सोझा निमुखा जनताको आश जगाउन सफल भएको माओवादीका नेताहरुलाई आज सैकडौ सुरक्षकर्मीको घेरा नभइ नहुने भएको छ । सुरक्षामा भएको सामान्य चुक पनि प्राणघातक हुनसक्छ भन्ने डर मनमा भएकाले रविनहुड जस्तो स्थायी नायकत्व प्राप्त गर्नसक्ने कुरै आउँदैन । वर्तमानमा फेरी जनतासम्म पुग्ने अर्को कुनै महत्वाकांक्षी देखिएको छैन, केही समूह देखिएका छन्, जसलाई भरोशा गरिसकेको छैन । यो परिस्थिति कायम रहने हो भने ‘नहुनु मामा भन्दा कानो मामा निको’ भनेर सोच्नसक्छ, यसो हुनु नेपालीको अस्तित्वको निमित्त कति हानीकारक हुन्छ, सोच्ने कसले ?