banner
banner

जर्मनी शिक्षक र नेपालको शिक्षा ?

अधिवक्ता गंगा दाहाल -
एक जमाना थियो, छोरा बिग्रे माष्टर हुन्छ, छोरी बिग्रे नर्स हुन्छे भनिन्थ्यो । अष्ट्रेलिया, क्यानडाजस्ता मुलुकहरुले नर्सलाई ठूलो महत्व दिएपछि नर्सप्रतिको धारणा नेपालमा उस्तै भए पनि तिनको विदेशमा सम्मान बढेको छ, रोजगारीको महत्व अरु पेशामा भन्दा बढी देखिन्छ । तर माष्टरको महत्व र इज्जतमा खासै भिन्नता आएको छैन ।
तर जर्मनमा यो महिना ठूलै घटना घट्यो । जर्मनका वकिल, न्यायाधीश, डाक्टरहरुले चान्सलर एन्जेला मर्केलसँग गुहार लगाए । हामीलाई पनि माष्टर, प्राध्यापकको जति तलव सुविधा चाहियो । जर्मनकी शासक एन्जेलाले यसरी सरकारसँग असन्तुष्टि जाहेर गर्ने सरकारी पदाधिकारी, वकिल, डाक्टरलगायतका प्रतिनिधिहरुलाई बोलाएरै भेटिन् र तिनको कुरा सुनिन् । अन्तमा उनले भनिन्– माष्टर, प्राध्यापक भनेको तपाईहरुलाई पढाउने गुरु हुन् । गुरुले पाएसरहको सुविधा चाहियो भन्नु उचित हो कि होइन ? तपाईहरुलाई शिक्षित पार्ने गुरुको अपमान गर्न चाहनुहुन्छ ? भनेर प्रश्न गरेपछि असन्तुष्टि जाहेर गर्नेहरुले चान्सलरको कुरा बुझे र सरीमात्र भनेनन्, सुशासनका लागि प्रतिवद्ध रहेको जनाउसमेत दिएर आ–आफ्ना काममा फर्के । जिम्मेवारी र जवाफदेहीताको यो ताजा दृष्टान्त हो ।
नेपालमा एउटा उखान चल्तीमा छ । गुरु गुड, चेला चिनी । नेपालमा गुरुको सम्मान छैन । गुरु अर्थात माष्टर, प्राध्यापकहरुको भ्रष्टाचार, नैतिकहीनताका अनेक घटनाहरु भइरहेका छन् । त्रिविका प्राध्यापकहरु हाजिर गरेर टाप कस्छन् । तलव थाप्न मात्र जान्छन् । उनीहरु निजी कलेजमा पढाएर  एक्स्ट्रा आम्दानी गर्छन् । यतिमात्र होइन, बेथिति यतिसम्म देखियो कि ९ नम्बर आएकालाई अगाडि ६ थपेर ६९ बनाइयो र उसलाई गोल्ड मेडल दिलाइएको प्रमाणित समेत भयो । योभन्दा शैक्षिक अराजकता के हुन्छ ?
यतिमात्र होइन, घूस लिएर परीक्षा दिलाउने, कपि जचाएर नम्बर दिने, स्कूल नै झोलामा लिएर हिड्ने, खेताला शिक्षकबाट काम चलाएर शिक्षक राजनीतिक दलाली गर्न दौडने । मेडिकल माफियाको कथा त लामै छ । शिक्षाका नाममा, उपचारका नाममा, पढ्ने र पढाउने नाममा यति ठूलो भ्रष्टाचार छ कि सम्हालिनसक्नु छ भन्छन् विज्ञहरु । सुधार्ने कसले, कसरी ? स्वयम् शिक्षा मन्त्रालयभित्र विकृति र बिसंगतिको पहाड छ । फोहरको कन्टेनर बनिसक्यो शिक्षा क्षेत्र । शिक्षा र शिक्षकको लथालिङ्गे चाला, व्यवस्थापनको बेहाल, राजनीतिको चर्को चलखेलले शिक्षा क्षेत्र तहसनहस भइसकेको छ । जब चेतना विकृत हुन्छ, त्यो देशको समृद्धि कसरी हुन्छ र ?
शिक्षा, स्वास्थ्यमा प्रष्ट कानुन बनाएर स्थिति बसाल्नुपर्छ । राजनीतिकरणबाट ती क्षेत्रलाई अलग पार्नुपर्छ । अन्यथा अहिले स्कूल र कलेज कार्यकर्ता उत्पादन गर्ने थलो, विश्वविद्यालय राजनीतिक अखडा बनेजस्तो टुँडिखेल रहिरहनेछ । राजनीति पढाउनु पर्छ, राजनीति जान्नु पनि पर्छ । तर मुख्य कुरा स्कूल होस् कि कलेज, विश्वविद्यालय, विद्यार्थीले पढ्ने देशको स्थिति हो । देशको आवश्यकता हो । र, देशलाई समृद्ध र सुखी बनाउन चाहिने के हो, कसरी गर्ने हो, त्यसको समग्र आधुनिक ज्ञान हो । ज्ञान सिकाउने राजनीति गरेर हिड्ने, ज्ञान सिक्ने बर्ग नाराबाजी, तालाबन्दी र गुण्डागर्दी गर्दै राजनीतिक पार्टी पार्टीको कार्यकर्ता बनाउने हो भने भोलिको देश हाँक्ने सक्षम पुस्ता कसरी उत्पादन हुनसक्छ ? यतिबेला कितावी ज्ञानको कोर्ष छन्, हात हातमा सीप सिकाउने ज्ञान देशको आवश्यकता हो भन्ने पनि बुझ्नुपर्छ । झण्डै ८२ लाख श्रमशक्ति युवायुवती विदेशीएका छन् । उनीहरुमध्ये अधिकांश अदक्ष कामदारका रुपमा वैदेशिक रोजगारीमा छन् । यदि उनीहरुको हातमा सीप शिक्षा दिनसकेको भए, तिनको आम्दान, तिनको जीवनस्तरमात्र होइन, देशको आम्दानीमा पनि गुणात्मकता आउने थियो । त्यसो त युवाशक्ति निकास गर्ने नै होइन, हातमा सिप शिक्षा दिन सकेको भए आधा जनशक्ति हातमुख जोर्नकै लागि मृत्युको मुखमा जबरजस्ती होमिने पनि थिएनन् ।
जडी कुरो शिक्षा रहेछ । शिक्षा सुधार्न शिक्षकलाई इमानदार बनाउन गर्नुपर्ने काम गर्नुपर्छ । शिक्षकलाई राजनीतिबाट अलग राखेर शिक्षामा केन्द्रित पार्नसके शिक्षकको मान र शिक्षाको विकास हुनसक्छ । शिक्षाको विकास हुनु भनेको देशको विकास रहेछ । भर्खर सरकारले ६ कक्षासम्म सामुदायिक स्कूलमा नपढेकालाई उच्च शिक्षामा सुविधा नदिने नीति बनाएको छ । शिक्षक सुधारको कार्यक्रम नल्याए, यतिले मात्र शिक्षामा गुणस्तरीयता आउला र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper