banner
banner

सिक्किमका पूर्व मुख्यमन्त्री हासेरै उडाइदिए

डा.विनिता-
सिक्किमका पूर्व मुख्यमन्त्री डा. पवन चामलिङ माघ १ गते माघी र माघे संक्रान्ति मनाउन आएका थिए । थारु र मगर समुदायका वीचमा उभिएर पवन चामलिङले जुन अभिव्यक्ति दिए, त्यो नेपाली राजनीतिज्ञका लागि मात्र होइन, नागरिकका लागि समेत गम्भीर सुझाव थियो । चेतावनी पनि थियो ।
मुख्य कुरो थियो– राजा फालेपछि देश जोगाउन जनता आफै राजा बन्नुपर्छ, अन्यथा देश रहदैन । यायोख्या संघले सिक्किमका मुख्यमन्त्रीको स्वागत र सम्मानको व्यवस्था मिलाएको थियो ।
जब पवन चामलिङ बोल्न मञ्चमा पुगे, उनी हाँस्दै थिए, विचारमग्न पनि देखिए र राजनीतिको असली शिक्षा पनि नेपाली जनता र नेपाली नेताहरुलाई दिइरहेका थिए । बुझ्नेका लागि श्रीखण्ड, नबुझ्नेका लागि खुर्पाको बिडजस्तो थियो उनको भाषण । भाषणकलामा निपुर्ण पवन चामलिङले सभ्य र सांकेतिक भाषामा नेपाली राजनीतिको आन्द्राभुँडी केलाएर छाडिदिए । मञ्चमै रहेका १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईसमेत उनको भाषण सुनेर तीन छक्क परे ।
टुँडिखेलमा जम्मा भएका ठूलो जमातले मन्त्रमुग्ध भएर पवन चामलिङको संभाषण सुने, बेला बेलामा ताली बजाएर समर्थन जनाए, फर्कने बेलामा नेता भनेको यस्तो पो हुनुपर्छ भनिरहेका थिए ।
पवन चामलिङको चित्ताकर्षक अभिव्यक्ति यस्तो थियो–
म नेपालमा आफन्त छन् भनेर आफन्त ठानेर आएको हुँ । आफन्त भेट्न आएको हुँ, मेरो अर्को उद्देश्य छैन । म अराजनीतिक भएर आएको छु । नेपाली समाजको एक सदस्यको नाताले आएको छु । पितृ देशमा पितृलाई श्रद्धाञ्जली दिन आएको हुँ । आफन्तलाई सम्मान जनाउन आएको हुँ । तपाई नेपाली, म भारतीय, देश र राष्ट्रियतामात्र फरक छ । दुःख, दर्द एउटै हो । भूगोलले मात्र हामी टाढा हौं, मनले नजिक छौं । मनले, भावनाले, इतिहासले एक छौं, इतिहास सम्याउन, सम्झाउन आएको हुँ । म र मेरो टोली चोखो मन, विचार, चिन्तन लिएर पुर्षाँको सम्झना गर्न आएको, आफन्तको न्यानो खोज्न आएको हुँ । 
म १९७३ देखि राजनीतिमा छु । अझै राजनीतिमा सक्रिय रहेको छु । १९८५ मा विधानसभाबाट सुरु भएको अहिले पनि जारी नै छ ।
म ८ पल्ट विधायक भएँ, सबभन्दा लामो समय विधायक बन्ने व्यक्ति हुँ म । ५ पल्ट मुख्यमन्त्री भएँ । लामो समय कि निरंकूशले शासन गर्छन्, कि कम्युनिष्टले । म प्रजातन्त्रवादी भएर लामो शासन गर्न सफल भएँ । यो नेपाली जातिको गौरवको कुरा हो । यो पनि उत्खनन्को विषय हो । हामीले सिक्किमबाट नेपाली भाषी, नेपाली जातिको सम्मान बढाएका छौं ।
भारतले सयौं वर्ष लगाएर चारधाम निर्माण गरेको छ । तर सिक्किममा हामीले  ९ वर्षमै एकै ठाउँमा चारधाम निर्माण गर्न सफल भएका छौं । यो नेपाली भाषीले नै गर्न सफल भएका हुन् । सिक्किम भारतको २२औं राज्य हो तर जैविक खेती सुरुआत गर्ने र राष्ट्रसंघले समेत मान्यता दिएको जैविक स्टेट सिक्किम हो । अर्गानिक स्टेट ।
सिक्किम पहिलो राज्य हो भारतको जहाँ सय प्रतिशत शिक्षित छन् । त्यसपछि मिजोरम र केरला आउँछ । म मुख्यमन्त्री हुँदा ५६ प्रतिशत शिक्षित थिए । सिक्किममा पक्की घर नभएका कोही छैनन् । गरिवीबिहीन राज्य हो । अनिकाल मुक्त राज्य पनि सिक्किम हो । मान्छेका लागि चाहिने प्राथमिक कुराहरु सबैले पाउने समानता भएको राज्य पनि सिक्किम हो । सुविधायुक्त सिक्किममा मजदुरका बालबालिकाले पनि निशुल्क स्कूल, कलेज पढ्न पाउँछन् । लुगा, खानाजस्ता आधारभूत आवश्यकता पूर्ति गरिएको छ ।
शिक्षा, दबाइपानीको ग्यारेण्टी, बस्न र खानको ग्यारेण्टी । सरकारको पहिलो काम कतव्र्य जनताको आधारभूत आवश्यकताको आपूर्ति गर्नु हो । त्यसपछि कानुन व्यवस्था ठिक पार्नुपर्छ । विधिको शासन कायम गर्नसकेपछि जनताले नेता चिन्छन् । अन्यथा जनताले जहिले पनि राजनीति गर्नेलाई शंकाको दृष्टिले हेर्छन् ।
नेपालमा प्रजातन्त्र आयो । गणतन्त्र भनियो, लोकतन्त्र भनियो । जे भने पनि जनताले खोजेको र खोज्ने समान अधिकार हो । जन्मशिद्ध अधिकार खोज्ने जनताको पनि जिम्मेवारी हुन्छ । राजनीति गर्नेको पनि जवाफदेहीता हुन्छ । राजा हटाएर जनता चुप लागे भने जनताले केही पनि पाउँदैनन् । राजा हटाउने जनताले आफै राजा हुनुपर्छ । राजाको अधिकार र जिम्मेवारी जनताले पाए, हक बराबरी भएपछि प्रतिफल पनि खोज्नुपर्छ ।
हो, हेराल्ड लास्कीदेखि अब्राहम लिंकन सम्मले प्रजातन्त्रको व्याख्या त गरे, जिम्मेवारीको कुरा जनतामा छाडे होलान् । आफ्नो र शासन गर्नेको कमजोरी हेरौं, कमजोरी सुधारौं । सकारात्मक बनौं ।
र, ७० वर्ष उमेरकाले राजनीति छाड्नै पर्छ । हुन त विश्व स्वास्थ्य संगठनले मानिस ७५ वर्षसम्म एक्टिभ नै हुन्छ भन्ने रिपोर्ट निकालेको छ । रिपोर्ट जे भए पनि ७० नाघेकाले सक्रिय राजनीति छाड्दा देशका लागि लाभ हुन्छ, अर्को सक्षमपुस्ताले देश हाँक्ने अवसर पनि पाउनेछ ।
नेपाललाई सिक्किमको जस्तो अर्गानिक एग्रिकल्चर पोलिसीको आवश्यकता छ । अर्गानिक खेतीका बारेमा जान्न चाहने हो भने मलाई बोलाउनुस्, सहयोग गर्न म आउँछु । नेपालमा अर्गानिक खेतीको ठूलो सम्भाबना देखेको छु ।
नेपाल २०२० लाई पर्यटन वर्ष मनाइरहेको छ । १५ प्रतिशत छुट दिएको छ, त्यो छुट मैले पनि उपभोग गरिरहेको छु । पर्यटन वर्षमा हामीले त्यही बेच्ने हो, हामीसँग जे छ । स्थानीय तहमा धर्म, संस्कृति, रितिरिवाज, खानपान जे छ, त्यसैको संरक्षणमा जुटौं, त्यसैलाई बेचौं । हामीले चीन, अमेरिकाको सपना देखेर केही हुन्न । हामीले अमेरिका, चीन बन्ने कहिले ? हामीले जे छ, त्यही देखाउन सक्यों भने पर्यटकहरु त्यही हेर्न, बुझ्न, रमाउन आउँछन्, हामीले आफ्नो स्थिति सुधार्न सक्छौं । सपना देख्ने होइन, भएको चिज बेच्न सके हाम्रो भलो हुन्छ । हाम्रो आफ्नोपनको जगेर्ना गर्न सकिन्छ ।
पर्यटनमन्त्री पर्यटन वर्षको प्रचार गर्न भनेर डढेलोले ल्याएको बिपतको शोकमा रहेको अष्ट्रेलिया पुगेर अपमानित भएर फर्केको र सिक्किमका मुख्यमन्त्री नेपालमा माघे संक्रान्ति मनाउन आएको समय मिल्न गयो । नेपालका मन्त्री पनि कस्ता, कुन समयमा कसरी पर्यटन वर्षको प्रचार गर्ने भन्नेसम्मको विवेक पनि राख्दैनन् ।
यति नै बेला पर्यटन बोर्डले भिजिट नेपालको प्रचार प्रसार गर्न भनेर एउटा विदेशीलाई करोड दिएछ, ठगेर भागेको समय पनि यही नै बेला हो ।
यस्तो समयमा पर्यटन वर्ष मनाउने तरिका, देशको विकास, नेताको जिम्मेवारी र शासन गर्नेको नैतिकता र जवाफदेहीताका बारेमा टुँडिखेलबाट  प्रष्ट्याइदिएका छन् । डा.पवन चामलिङको टिप्समा मात्र ध्यान दिने हो भने नेपालको पर्यटन वर्ष २०२० सफल पार्न ठूलो कसरत नै गर्नुपर्दैन । त्यसै पनि नेपाल प्रकृतिको सुन्दरताले भरिपूर्ण छ । त्यसमाथि सांस्कृतिक, धार्मिक, कला, कौशल कति कति । नेपाली जीवन शैलीको विविधतामात्र देखाउन सक्ने हो भने पर्यटकको लर्को लाग्छ । हो, सुरक्षा त हुनैपर्छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper