banner
banner

पहिला जनता अघि सर्नुपर्छ

शाश्वत शर्मा -
सञ्चारमन्त्री गोकुल बास्कोटा गतहप्ता सामाजिक सञ्जालमा भाइरल बने । फूलको मालाबाट पुरै अनुहार ढाकिएका मन्त्री बास्कोटाको आँखामात्र देखिएका थिए । क्याम्सनमा लेखिएको थियो– दशैंभत्ता वितरणमा भ्रष्टाचारमा मुछिएका मन्त्री बास्कोटालाईउनकै गृहजिल्ला काभ्रेमा यस्तो भव्य स्वागत । यी हुन् नेपाली जनता ।
मन्त्रीले भ्रष्टाचार गरे भनेर आलोचना पनि गर्छन्, फेरि तिनै मन्त्रीलाई स्वागत पनि मन खोलेरै गर्छन् । विश्लेषकहरु भन्दै थिए अहिले पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वकोझापातिर जुन भव्य स्वागत पाइरहेका छन्, यदि भोलि प्रचण्ड वा केपी ओलीले त्यही क्षेत्रमा गएर त्यही प्रकारको स्वागत पाउने पक्का छ । अझ स्कुले नानीहरु स्कूलबाट बिदा लिएर प्रचण्ड र ओलीलाई स्वागत गर्न विमानस्थलमै पु¥याइन्छन् । यो नेपालीपनबाट बुझ्ने के, प्रष्ट हुने कसरी ? सबैलाई थाहा छ, केपी ओली सरकारले देश डुबायो । व्यवहारमा मान्न कोही तैयार छैनन् । देश डुब्यो भन्ने कुरा चियाको कपमा तुफानजस्तै बनेको छ । उपनिर्वाचन भयो, अरु कुनै नयाँ राजनीतिक दलले जित्न सकेनन् । उही कांग्रेस, अधिकांशमा उही नेकपा । मिडियाहरुले राष्ट्रघात, भ्रष्टाचार, अतिवाद, कृपावाद, नातावादका कुराहरु जति उछाले पनि नतिजा उही नेकपा । राजनीतिक दल जति नै कुकृत्य गरे पनि कसले दिने सजाय ? सजाय दिने जनताले हो, न्यायाधीश जनता नै अपराधीलाई पुरस्कृत गर्छन् ।
पटक पटक जनताको शोषण गर्ने, राष्ट्रघात गर्ने, प्रतिवद्धता पूरा नगर्नेलाई नै जिताएर सत्तामा पु¥याउने जनता भएपछि...। रौटहटतिरका एक बुद्धिजीवी व्यङ्ग गर्दै थिए । भएछ के भने पूर्व उद्योगमन्त्री अनिल झाका पालामा विराटनगर जुटमिलका मजदुर, कर्मचारी जसलार्य प्याकेज दिएर अवकाश दिइदै थियो, संख्या ४ सय रहेछ । तर मन्त्री र उनका लाउकेहरुले एकहजार एकासी संख्या देखाएर बाँकी रकम भ्रष्टाचार गरेछन् । रौतहटे भन्दै थिए, हेर्नुहोला यिनै अनिल झाले दुईचोटीसम्म चुनाव आरामले जित्नेछन् । किनभने यिनीसँग पैसा छ । जनता पनि भ्रष्टाचारी मनस्थितिका हुन थालिसके । जनताको स्तरअनुसारको नेता पाउने न हुन् । यहीकारण हो, भ्रष्टाचार भयो, प्रतिवद्धता पूरा गरेनन्, नेताहरु असक्षम भए भनेर कराउने जनता तिनै भ्रष्टाचारीलाई चुनावमा जिताउने गरेका छन् । प्रशासकहरुलाई दण्डित गर्न दबाब दिन पनि सक्दैनन् । अचम्मका छन् नेपाली जनता ।
०४६ सालपछि जनता बदलिए भन्नुपर्दा ठिकै हो भन्ने लाग्छ । ०४६ अघिका जनतामा राष्ट्रको चिन्ता थियो, अहिलेका जनतामा त्यो चिन्ता मुखमा मात्र सिमित छ, दल र नेतामा सिमित छ ।गणतन्त्र आयो राष्ट्रप्रेम, जिम्मेवारी सबै हरायो । एनसेलको लाभकर छुट, अदालतको फैसला, ३३ किलो सुन, बालुवाटारको जग्गा, गोकर्णदेखि पाथीभरासम्मका सरकारी जग्गा, दरवारमार्गदेखि पोखरा फेवातालकिनारको पूर्वराजाको दरवार, कालिमाटीको चार रोपनी जग्गा सबै यति समूहलाई सरकारले बकस दिएझैं दिएको छ । यति हुँदा पनि जनता बोल्छन्, केही गर्दैनन् । खाए खाए भन्छन्, घर गएर सुत्छन्, कम्युनिष्ट पार्टि कमाउनिष्ट बन्दै गएको छ ।
फेरि पनि भन्नुपर्छ जनतामा स्वाभिमान कमजोर छ । आफ्नो हक र शक्ति चिनेका छैनन् । भ्रष्टाचारीलाई तह लगाउन नसक्ने हामी जनता कस्ता ? जनता सजग भएका भए भ्रष्टले कसरी चुनाव जित्न सक्छ । हिजोको पञ्चायत, बहुदलमा जे थियो, कहाँनेर के के कुरामा सुधार भयो त ? हुनुपर्ने नेतामा नैतिकता र जवाफदेहीता हो, थोप्पो सुधार भएको देखिदैन । यसैगरी लुट्न दिइरहने हो भने कालापानी क्षेत्रमात्र होइन, सिंगो नेपालमा विदेशीको प्रत्यक्ष शासन भित्रिन सक्छ किनकि आजको नेताहरुलाई पैसा भए हुन्छ । जनता तिनै नेताको पछाडि लागिरहेका छन् । दण्डाधिकारी जनता, पीडकलाई पुरस्कृत गर्न थालेपछि लोकतन्त्र कहाँ बाँकी रह्यो र ?
जनताले आफ्नो हैसियत बुझेर सोचमा परिवर्तन ल्याउनुप¥यो । भारतले लिम्पियाधुरा लिपुलेक कालापानी खाइदियो, केही दिन उफ्रिए थच्चिए । कहाँ छ राष्ट्रियता । जनताले सिंहदरवार र शितल निवास घेर्न सकेको भए सरकार जिम्मेवार हुन्थ्यो नि । यो मुलुक सक्नेले लुट्ने र खानेले खाइरहने हो । मर्ने मरिरहेछन्,कसैले सुन्दैन कमजोरका कुरा । कसैलाई बिझ्दैन राष्ट्रघात । विदेशी प्रभाव र दबाब । जनतामा विवेक कमजोर भएपछि देश कमजोर हुनेरहेछ, नेपालमा यही भइरहेको छ ।
पूर्वराजा ज्ञानेन्द्र धेरै वर्षदेखि विभिन्न तीर्थाटन गरिरहेका छन्,देशका विभिन्न भागमा गइरहेका छन् । जहाँ जहाँ जान्छन् जयजयकार गुञ्जिन्छ । जनताले परिवर्तन खोजेकै हो भन्ने देखिन्छ । हजारांको संख्यामा लाग्ने भीड हेर्दा लाग्छ, परिवर्तन जरुरी छ । कतै्र पूर्वराजा अग्रसर हुँदा यो भीड लुक्यो भने के हुन्छ ? जनता र राजा मिलेर निर्माण गरेको यो देश आज बेवारिसे बनेको छ । बाघको छालामा स्यालको रजाइँ भइरहेको छ । जनतामा आक्रोश थामिनसक्नु छ । कतिपय मर्नमार्न पनि तैयार छु भन्छन् । गल्ती गर्ने भ्रष्टलाई सजाय दिन नसक्ने जनता, सीमा मिचिदा सरकारलाई खबरदार गर्न नसक्ने जनता, पटक पटक अनुशासनहीनलाई फूलमाला लगाएर स्वागत गर्ने जनताले धोका दिए भने । यसकारण परिवर्तन चाहेको हो भने जनता पहिला अघि सर्नुपर्छ । पूर्वराजा त यही माटोका हुन्, जुनसुकै बेला तैयार छन् । जनतलो खोज्दा म यहीँ छु उनले भनेकै छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper