banner
banner

सधैं चीनलाई प्रष्टिकरण दिइरहनुपर्ने

धर्मरत्न श्रेष्ठ -
चीनका कोही नेपाल भ्रमणमा आउन् वा नेपालका पदाधिकारी चीन जाउन्, नेपालीको पहिलो वाक्य हुन्छ– नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ ।
यो वाक्य नेपालले गायत्री मन्त्र जपेजस्तो जपिरहनुपर्ने कारण के हो ? कुनै पनि मुलुकसँग यसरी बोल्नु नपर्ने, चीनका सामु बोल्नैपर्ने । यसको अर्थ चीन नेपालप्रति विश्वस्त छैन, अथवा नेपालले चीनलाई विश्वास दिलाउन सकेको देखिदैन । यहीकारणले पटक पटक नेपालले यो मन्त्र जप्नुपर्ने रहेछ ।
भारत र चीन दुई ठूला क्षिमेकी । दुबैतिर नेपालले समदूरीको नीति अपनाएको छ, अपनाउनैपर्छ । यति हुँदा पनि चीनसँग नेपाल सधैं सतर्क छ र कुनै पनि पदाधिकारीका सामु उभिन प¥यो कि नेपालको एकचीन नीति छ भनिहाल्छ ।
क्षिमेकी फेर्न सकिन्न । सत्य यही हो । चीनले केही नभन्दा पनि नेपालका पदाधिकारी बोल्छन् । व्यवहारमा चीन सत्तापक्षको सहयोगी र प्रतिपक्षीको सल्लाहकारका रुपमा देखापर्ने गरेको छ । भारत विपक्षीसँग निकट भएको अनुभूति हुन्छ । भारत जहिले पनि विद्रोहीलाई सघाएर लाभ लिन खोज्छ । जनयुद्ध र जनआन्दोलनमा त्यस्तै भयो र नेपालमा ठुला ठुला परिवर्तनहरु हुँदै गए । तथापि स्थिरता र नेपालको समृन्नतिमा खासै अन्तर देखिदैन । नेपाल उही अस्थिरतामै छ ।
सन २०१५ मा चीन र भारतले लिपुलेकबाट व्यापार गर्ने सहमति गरे । जबकि लिपुलेक नेपालको हो । अहिले आएर भारतले लिपुलेक, कालापानीक्षेत्र आफ्नो हो भनेर नक्सा नै जारी गरेको छ । यसमा चीन मौन छ, सरकार पनि मौन छ । भारतले ती क्षेत्रमा आफ्नो शासन कायम गरिसकेको छ । नेपाली नागरिक ती क्षेत्र नेपालका भएकाले फिर्ता लिनुपर्छ भनेर आन्दोरनरत देखिन्छन् । पहिलो दायित्व सरकारको हो, सरकारले मौनता साध्नु र वार्ता भइरहेछ भनेर ढाँट्नु आश्चर्य हो ।
नेपालको खास क्षेत्रफल १ लाख ४७ हजार १ सय ४७ वर्ग किलोमिटर हो । यही क्षेत्रफलभित्र पर्छ लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको चुच्चे नेपाल । चुच्चे नेपाललाई बुच्चे पारिदिएको छ भारतले । भारत नेपालसँग रोटीबेटीको सम्बन्ध छ भन्छ, त्यही नेपालको ठूलो भूभाग उसैले खाइदिएको छ ।
चीनसँग भृकुटीको समयदेखिको सम्बन्ध छ । चीनले नेपाललाई बेला बेलामा आडभरोसा दिएको पनि छ । तर यतिबेला नेपाल चीन सम्बन्ध राष्ट्रपति सी चिनफिङको भ्रमणपछि तातेको भनिए पनि विज्ञहरु नतातेको भन्छन् । नेपालले अमेरिकी नीतिमा जानु र भारतलाई प्राथमिकतामा राखेको संकेत चीनले दिइरहेको छ र नेपालले विश्वास दिलाउन सकेको छैन । यहीकारणले पनि नेपाल एकचीन नीतिमा प्रतिवद्ध छ भनिरहनु पर्ने अवस्था छ । हुन पनि चीनलाई कमजोर पार्न तिबेतियन र दलाई लामालाई उफार्ने र नेपालबाट विद्रोह गराउनेहरुको सक्रियताका कारण पनि चीनले संसयको दृष्टिले नेपालतिर हेर्ने गरेको हो । यद्यपि चीन नेपालमा लगानी लिएर प्रवेश गरिसकेको छ र चीनका नजरमा केही लुकेको छैन । अव नेपालले सम्बन्धको विश्वस्त आधार तय गर्नैपर्छ, तवमात्र विकास सम्भव होला ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper