banner
banner

महिला मैला होइनन् है

अधिवक्ता गंगा दाहाल -
महिलालाई मैला सम्झने सोचमा परिवर्तन नआएसम्म न घर, न समाज, न राष्ट्र नै समृद्ध हुनसक्छ । महिला आमा समुह हुन्, आमा साना साना कुरामा खुशी र सुखी हुन सक्छिन् । ससाना कुरामा पनि आमालाई खुशी पार्न पुरुषप्रधान समाज तैयार छैन भने यिनले समानताको सिर्जना कसरी गर्न सक्लान् ?
इतिहासमा महिलाहरुले भोगेका पीडा, उत्पीडन, उकुसमुकुस र संघर्षले बर्तमानलाई महिलाहरुको शसक्तिकरण, लैङ्िगक मैत्रीपूर्ण वातावरण बनाउन, समृद्ध र समतामूलक समाजको निर्माण गर्ने अभिभारा सुम्पेकोछ । महिला केन्द्रित सामाजिक, आर्थिक राजनैतिक, सास्कृतिक दृष्टिले पिछडिएका अपाङ्गता भएका अशक्त र असहाय बर्गको लागि कानुन बमोजिम बिशेष ब्यबस्था गर्ने, सामाजिक सुरक्षा साथै महिला पुरुष बीच कुनै भेदभाव नगर्ने गरी संविधान पनि आएकोछ । संविधान प्रदत्त महिलाका जति पनि अधिकारहरु छन्, ती अधिकार कार्यान्वयन गर्ने हो भने महिलाको जीवनमा ठूलो परिवर्तन आउँछ, राष्ट्रिय परिवेश नै सफा र सभ्य हुनसक्छ तर संविधान कार्यान्वयनको पाटो चुनौतिपूर्ण छ । यस अवस्थामा स्वयं महिला पनि सजक र कटिबद्ध भएर लाग्नु पर्ने देखेको छु यो अवस्थासम्मको परिणामले । पुरुष बर्गको सोचमा पनि आमूल परिवर्तनको खाँचो छ । सजगता र सोच सफा राख्ने हो भने महिला जो आधा आकाश हो, यो बर्गले फोहर मैलाको नियति भोग्नुपर्ने छैन ।
सरसर्ती हेर्दा नगन्य रुपमा महिलाको बिकास र उन्नति भएता पनि समग्रमा महिला पुरातन पीडामा नै देखिन्छन् । परिवार र समाजले महिलालाई हेर्ने दृस्टिकोण करिब करिब बाजेकै पालाको छ, उपल्लो तहसम्म पनि । अझै पनि परिवारमा महिला जतिसुकै ठूलो ओहोदामा पुगुन््, जति राम्रो काम गरोस्, त्यो कामलाई कम महत्व दिइन्छ । लैङ्िगक भेदभाव कायम छ, आर्थिक रुपमा स्वतन्त्रता छैनन् महिलाहरु । नेतृत्वमा शंका छदैछ, अझै अरुप्रति आश्रीत तथा पर निर्भर पर्नु परेको अवस्था छ । सम्पत्तिमाथि पूर्ण स्वामित्व छैन । महिला माथि व्यापक हिंसा बढ्दै गइरहेको छ । महिलालाई सशक्तिकरणको एकातिर अभ्यास भइरहेको देखिन्छ, अर्कोतिर कमजोर पारिदैछ ।
यदि साच्चै महिलालाई समृद्ध र ससक्त बनाउने हो भने महिलामाथि गरिने हिंसाको सम्पूर्ण रूपको जरो पत्ता लगाएर जरैदेखि उखाल्नु पर्छ । महिला माथि हुने गरेका हिंसा केवल महिलामात्र समस्या होइनन् । हिंसा गर्ने अर्कोपक्ष र समग्र राज्यको समस्या हो भन्ने बुझ्नुपर्छ । प्रभावकारी दिगो अभियान चलाउनै पर्छ । अन्यथा महिला स्वतन्त्र छन्, समान छन् भन्नु निरर्थक हो ।
हिंसा विरुद्धको अभियान दिगो रूपमा चलाउँदै महिलाको सामाजिक आर्थिक, सास्कृतिक, राजनैतिक स्तरलाई सबल सुदृढ र ससक्त बनाउँदै समाजमा महिलाप्रतिको समाजले हेर्ने दृष्टिकोणमा आमूल परिबर्तन ल्याउनु पर्छ । यसका लागि राज्यले विशेष कार्यक्रम अघि सार्नैपर्छ र गाउँपालिकासम्म पुगेको सिंहदरवारको पहिलो काम पुरुष महिलामा विभेदको अन्त हुनुपर्छ ।
संसदमै महिला हिंसा हुनेरहेछ । गण्डकी प्रदेशकी सांसद जो नेकपाकी हुन्, पुष्पा केसी भण्डारी, उनले ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? भनेर जवाफ माँगेकी छिन् र उनले खुलेर भनेकी छिन्– संसद्भित्रै आफूहरूमाथि यौनहिंसा हुन्छन् । पुरुष सांसदबाट संसद्भित्रै महिला सांसदमाथि यौनहिंसा गर्छन् । इज्जतको डरले सहन बाध्य छौं । पुरुष सांसदहरूले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गर्छन् । के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ? हामी महिला–पुरुष सबैसँग हात मिलाउँछौं, हामी उनीहरूलाई सम्मानस्वरूप हात मिलाउँछौं तर पुरुष सांसद अभिवादनका लागि हात मिलाएका हुँदैनन् । 
सांसद नै हिंसा पीडित । अनि समाज छाडा हुँदैन । महिलालाई समानताको दृष्टिले हेर्ने सोच कहिले विकास हुने हो ? महिला मैला होइनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper