banner
banner

हाम्रो समाजमा सत्य किन तीतो हुन्छ ?

रुपा पौडेल–
‘सत्य तीतो हुन्छ’ वास्तवमै भन्ने हो भने यो उक्ति हामी मानिसहरुमा पुर्ण रुपले चरीतार्थ हुन्छ।यदि हामी मान्छे जातिलाई कसैले साँचो कुरा गरिदियो भने हामीलाई मनभित्रबाट यति धेरै रिस उठ्छ कि त्यो रिस दिमागसम्म आइपुग्दा मानौ चारैतिर अन्धकार छाएजस्तै हुन्छ । के गरम् ? कसो गरम ? रिस थाम्नै सकिंदैन,अगाडी जो छ त्यसैमाथि रिस पोखायो अनि गाली थोपार्यो ।अगाडी कोही छैन भने बाटोमा साथी(भाइ वा आफन्त  जो भेटिन्छ त्यसमाथि रीस बिसायो होइन भने घरमा गएर आफुले अलिक हेप्न सकिने परिवारका सदस्यलाइ त्यो कालो रीस पोख्यो नत्र...आफै मुर्मुरिदै कालो अनुहार लगाएर बस्नु बाहेक अन्य बिकल्प नै रहदैन ।साँच्चै कलियुग त कलियुग साँच्चिकै कलियुगले बृहत् रुपमा आफ्नो जरा गाडिसकेको छ ।अब कसले कसलाई सम्झाउने!साँचो कुरा त गर्नै हुदैन काँचै खाउला जस्तै गरि हेर्छन ।बरु त्यो भन्दा मनमा लागेको कुरा मनमै राख्यो र मुखले एकदम नौनी दलेर ठिक्क पारेर प्रसंशा गरिदियो चाहे त्यो झुठो नै किन नहोस उ पनि खुसी आफू पनि खुसी ‘मुखमा राम(राम बगलीमा छुरा’ कसले देख्छ र  ? कही कतै आत्मग्लानी भैहालेछ भनेनी, तर आजकल यति गहिरिएर सोच्ने फुर्सद  कमैलाई होला, तर गहिराइमा डुब्नेहरुले ढाट्दै ढाट्दैनन् जसले ढाट्छन तिनीहरूले सत्यको अर्थ र सत्यको गहिराईनै बुझेका हुदैनन् ।त्यसैले कलियुगे जीवनको कलियुगे भोगाइ ..अनि यस्तै सोचाइ “आफू बाँच्न पाउँ र अरुलाई....
मानिस भएर जन्मिएपछी कमजोरी त हरेक मानिसहरूमा हुन्छ पुर्ण रूपमा सम्पुर्ण भगवान त हुदैनन्  भने नाथे!मान्छे  कसरी होस्  फेरि मान्छेलाई यहाँ नाथे ! भन्दा  ठुलो आपद भनौं वा बित्यास पर्न बेर छैन, किन नाथे भनिस् भनेर ? दिमाग खियाएर सोच्यो भने यो कुरा पनि सही नै हो मान्छे कसरी नाथे हुन्छ ? भगवानले गर्न नसक्ने काम अहिले मान्छेले गरिरहेका छन्..अनि नाथे! भन्नु त डरलाग्दै कुरा होइन त?बिज्ञान(प्रबिधिले कस्तो कस्तो चमत्कार गरिसक्यो । चमत्कार वास्तवमा बिज्ञान(प्रबिधिले होइन  मानिसले नै गरेको हो अनि मानिस कसरी नाथे भयो ? बिज्ञानबिना संसार चल्दैन, अनि मानिस (बैज्ञानिक) बिना  बिज्ञान र प्रबिधी चल्दैन ।सम्पुर्ण तागत र बल बुद्धि सबै मानिसको हातमा छ अनि नाथे ! मानिस भन्दा त बित्यास परिहाल्छ ।!
अस्ति भर्खरैको कुरा हो हाम्रै टोल(छिमेकी दाइलाइ ’अहो!दाइ  आजकल त तपाईलाई देख्नै मुस्किल परिसक्यो धेरै नै ब्यस्त हुनुहुन्छ की?भनेर प्रश्न गरें । दाइले सिधा उत्तर दिनुभो– कहाँ बहिनी म त अस्पतालमा थिएँ नि ! भर्ती भएको थिएँ । अलिकति लिभरको समस्या भएर पहिला त आफू उहाँको शारीरिक अवस्थाबाट अनभिज्ञ रहेकोमा क्षमा प्रार्थना गरें, फेरि मुखबाट  फुत्तै निस्किहाल्यो’ अलिक होश गर्नुहोस् है दाइ, पिउनु अलिकति  धेरै भएजस्तो लाग्यो । यति मात्रै के भनेको थिएँ, दाइ त एक्कासी  बम्किन थाल्नु भयो–’तिमी डाक्टर हौ, तिमीलाई थाहा छ म के भएर बिमारी परे ? बुझ्नु(सुझ्नु छैन जे मन लाग्यो त्यही प्याच्च बोल्यो । म त लाजले रातोपिरो, हरियो पहेलो, के के भएँ भएँ, आफैलाई कुरीकुरी लाग्यो सत्य बोलेकोमा । हुन त उहाँ असाध्यै पिउनु हुन्छ यो कुरा टोलमा सबैलाई ज्ञात छ भाउजूले त कतिपटक मसंग दुखेसो पनि पोख्नु भएको थियो, दाइको पिउने बानीलाई लिएर, तर के गर्नु मुखबाट फुत्तै साँचो कुरा अनायासै निस्किहाल्यो...आफैले आफैलाई मनमनै सान्त्वना दिएँ, अब देखि बिचार गरेर मात्र बोल्नु है ।’
हुन त मानिसको जन्मजात स्वभावनै यस्तो साँचो कुरा कसैलाई पच्दैन् । अपवादको रूपमा  छन् कतिपय मानिसहरु जो सत्यलाई स्वीकार्दछन्, प्रेममा रमाउँछन् अनि सत्यालाईआफ्नो जीवनको मार्ग  ठान्दछन, तर पनि साँचो बोल्न धेरै सोच्नुपर्ने रहेछ, अनि सोच्नलाई दिमाग खियाउनु प¥यो दिमाग खियाउन बलियो मुटु  र भित्री तागत पनि चाहियो, साँचो कुरा गर्न यति धेरै बल तागत र क्षमता खर्च गर्नुपर्यो बरु सोच्दै नसोची ढाँटेर कुरा गरिदियो– जे पर्छ त्यही टर्छ भने झै उ पनि खुसी  आफ्नो पनि दिमाग, मुटु र बलको हिफाजत हुने किन ? बेकारमा यस्तो महँगांइले ले पिरेको समयमा बल्लबल्ल दुई हात दश नंग्रा खियाएर कमाएको मेहेनतको पैसाले पुग(नपुग दुई छाक खाएर सन्चय गरेको बल बेकारमा खेर फाल्नु ?
इमान्दारीले कमाएको दुई पैसा जगेडा गर्न नसकेको बेलामा साँचो कुराले सुन्नेलाइ उल्टो प्रभाव पार्यो र म जस्तो भए पनि तँलाइ के सकसक लाग्यो र, के खाँचो पर्यो ? भन्दियो भने त एक त कमजोर दिमाग र थुपारेको बलको नाश फेरि काँचै खाउँला जस्तो गरेर करायो भने ‘कोलस्टोरले खियाएको मुटुमा हार्ट फेल हुने सम्भावना’  आजकल त भन्न सकिदैन  कसैको त मुख भन्दा हात छिटो चल्छ, भरे हात खुट्टा लगाएर एक कसेर दियो भने त भुतुक्कै भइन्छ, फेरि उपचारको खर्छ कता पुलिस केस गरुँ भने त्यस्तो झन्झट कसले ब्यहोर्ने ?
त्यसमाथि पुलिसले उल्टै तिमीलाई  केको खसखस पर्यो, जसले जेसुकै गरोस तिम्रो कमाइ त खाएको छैन भनिदियो भने त परेन मर्का, भो भो यस्तो कामै नगरौ । तर के गर्नु ? मनै मान्दैन,जति मनाउन खोज्छु, त्यतिनै बुरुक बुरुक उफ्रिन्छ, चाहे जेसुकै होस साँचो भनिदिन्छु अनि त राम भरोसे छोडिदिन्छु । केही महिना अघिको कुरा हो,एकजना असाध्य मिल्ने आफन्त दिदी हुनुहुन्छ ।उहाँको  एउटै मात्र छोरा सरकारी विद्यालयमा कक्षा आठमा पढ्छ । आमा बाबुको एक्लो सन्तान आँखाको तारा घरको आर्थिक अवस्था त्यति दह्रिलो छैन र मात्र नत्र भने कुनै निजी विध्यालयमा छोरालाई पढाउने उहाँहरुको धोको मनभित्रै अधुरो रहेको छ तर पनि लाउन खान दिनमा कुनै कमी राखेका छैनन् । हो त्यही आँखाको तारा, दिदीको बाबुले मज्जाले चुरोट  तान्दै गरेको मैले मेरै आँखाले देंखे । मन थाम्न सकिन यताउता साथीसङ्गत पत्ता लगाएर बुझ्दा त उहाको प्राण प्रिय छोराले खै ! क्याप्सुल–स्याप्सुल, गाँजासाँजा के के पनि घिच्दोरहेछ यति सानो उमेरमै...। मुटु चसक्क दुख्यो आमाबाबुको मीठो  सपना..अनि कलिलो छोराको तीतो यथार्थता  देखेर...
तैपनि समय बितिसकेको छैन ।मानिसले हिम्मत हार्नु हुदैन, उसलाई प्रयास गरेर सुधारेर राम्रो बाटोमा ल्याउन सकिन्छ, यही सोचेर दगुर्दै दिदीको घरमा गए अनि खिन्न मन र दुखित स्वरले यथार्थ  मात्र के उजागर गरेको थिए दिदीले त वास्तविकता र सत्यलाई नबुझिकनै ममाथि पो उल्टैआरोप लाउनु भयो डाह ! र इर्षाको...। म त छाँगाबाट खसेझै भएँ, मनमा ठुलो बिश्वास लिएर दिदीकोमा गएको थिए कतै हाम्रो प्रयत्नले उसलाई सही बाटोमा ल्याउन सकिन्छ कि भनेर । तर दिदीले वस्तबिकता नबुझिकनै...
मेरो र दिदीको घनिष्ठ सम्बन्ध सदाको लागि टुट्यो । मलाई सम्बन्ध टुटेको घाउभन्दा उहाँले वास्तविकतालाई ननियाली आफ्नो सन्तानको जीवन अझै अन्धकारतर्फ धकेलेको अनुभवले भित्रदेखी आङ जिरिङ्ग भएर आयो । के गर्नु ? साँचो बोल्नुको सजाय यति धेरै भयावह ! तर पनि हिम्मत हारेको छैन । आशा गर्दछु दिदीलाई पनि सत्यको एकदिन अवश्य नै ज्ञात हुनेछ ।
हिम्मतले मात्र कहाँ हुँदो रहेछ र ? हिम्मत संगसंगै बुद्धि पनि लाउनु पर्दो रहेछ । बुद्धि बिनाको हिम्मत के काम ? बरु बुद्धि लाएर कुरालाई  यताउती खोला जस्तै घुमाएर भनौ वा हँसिया जस्तै घुमाएर भन्न जान्यो भने अलिकती लाज बच्छ कि, नत्र उहीँ हो..साँचो हो भनेर सत्य कुरा गर्यो, कुरा सकिदा नसकिदै गलहत्याएर निकालीदियो भने त मुख लुकाएर  भिजेको बिरालो जस्तो भएर लुरुक्क परेर आफ्नो बाटो तताउन बाहेक केही बिकल्प नै रहदैन । त्यसमाथि देख्नेलाई रमिता भोग्नेलाइ लाज । साँचो बोल्नुको यत्रो ठुलो सजाय ! बाफ रे बाफ ! सोंच्दा मात्र पनि हात खुट्टा लल्याक लुलुक भएर आउँछ । तर पनि हरेश चाहिँ खाएको छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper