banner
banner

बौद्धिक पुनर्जागरणको आवश्यकता किन ?

जगदीश रेग्मी -
हाम्रो जस्तो अविकसित समाजले बौद्धिकताको महत्वलाई अझै खुला हृदयले स्वीकार गर्न सकेको छैन । हाम्रो समाज, राज्यसत्ता र राज्य सबैपक्षलाई राष्ट्रको विकासमा बुद्धिजीवी चाहिन्छ भन्ने कुराको चेतना मात्रै हैन स्वीकार्य समेत छैन । आलोचनासंग सधै त्रसित रहने हाम्रा शासक वर्ग र प्रशासकहरुले बौद्धिक चिन्तन र कर्म प्रवर्धनका लागि चासो दिँदैनन्, किनकि उनीहरु सत्ताशक्तिको चिहान खन्छन् भन्ने त्रासदीपूर्ण सोचले ग्रसित छन् । हरेक राजनीतिक दलका लिखित दस्ताबेजहरु र मौखिक अभिव्यक्तिहरु कुनैमा पनि बौद्धिक वर्गको उपादेयताबारे विचारविमर्श गरिंदैन, ती सबैमा झनै उल्टो प्रतिसोध साँधेझैं गरी बौद्धिकताको अस्विकार्यता र ठाडै विरोध हुनेगर्छ । सत्ताधारीहरुले कहिलेकाहीं बुद्धिजीवीहरुलाई नजिक राख्नु भनेको सर्पलाई दूध खुवाएर पाल्नु हो समेत भन्ने गर्छन् । त्यसैले होला शासक वर्गले बुद्धिजीवीहरुलाई खिसीट्युरी गर्दै झोंक फेर्न अनेक खालका उपमाहरु दिई ब्रह्मास्त्र प्रयोग गर्छन् । शासक वर्गले आफ्नो सत्ता टिकाउनका लागि महात्म्य र स्तुति गाउने खालका विनीत (म्भअभलत) बुद्धिजीवीहरु उत्पादन गर्ने गर्छ । बौद्धिक वर्गको यिनै कमजोरीको फाईदा उठाउदै राज्यसत्ताले गाली गर्नु र दास ठान्नुमा कुनै त्यस्तो आश्चर्य छैन । 
शासक् वर्ग भनेको दमनकारी अंग हो, उत्पीडित वर्गलाई दबाएर आफ्नो प्रभुत्व स्थापित गर्न कोसिस गरिरहन्छ । जुन वर्गको स्वार्थलाई अगाडि लैजान र बचाउन खोज्छ, त्यस्तै खालको चरित्र ग्रहण गर्दै जान्छ । हरेक सत्ताको चरित्र अधिकतर स्वतन्त्रता विरोधी हुन्छ । आफ्नो सत्ता टिकाइरहन अहंकार प्रदर्शन गरी नागरिकका स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, आँखामा छारो हाल्ने, झारो टार्ने आदि व्यवहार प्रदर्शन गर्दछ, यसो गर्नु शासकको मूल चरित्र नै हो । विश्वका धेरैजसो शासकहरुले सर्वसाधारण जनतालाई जीविकाकै निम्ति बाँच्न बाध्यबनाई मीठो सपना बाँडेर दिग्भ्रमित पार्ने साथै तिनै सपनाहरुमा भुलभुलैया (रनभूल) मा पारी शासन टिकाइरहने हुन्छ । सरकार सधैँ जनतालाई कुनै न कुनै आशा र भरोसा बाँडेर स्वार्र्थिसद्ध गर्ने ध्येयमा रहेको हुन्छ । यो कुरा सर्वसाधारण नागरिक, सरकार समर्थित दलका अन्धभक्त कार्यकर्ता र गुलाम बुद्धिजीवीले बुझ्दैनन् र फस्छन् । दुनियाँमा चाहे प्रजातान्त्रिक होस् या निरंकुश हरेक शासक वर्गको प्रमुख रणनीति सत्ता टिकाउनमै प्रयास केन्द्रित हुन्छ । त्यस खेलमा उनीहरुले बौद्धिक वर्गको शारीरिक र मानसिक क्षमता कमजोर बनाउने, शक्तिविहीनताको अवस्थामा पुरयाउने, सहज जीविकाको पहुँच र मार्गमा अवरोध गराई दिवालिया बनाउने साथै गरिबीको कुचक्रमा फसाउने हत्कन्डा अपनाउछन् । त्यसपछि एक्लो रुपमा शासन गर्ने गर्दछन् । बौद्धिक उद्धोग त्यतिबेलै आवश्यक पर्छ ।  
हाम्रो समाजमा बुद्धिजीवीको महत्व र सक्षमताबारे स्वयं बुद्धिजीवी, नागरिक र सरकार तीनै पक्षमा अनभिज्ञता रहेको छ । बुद्धिजीवीको भूमिका र सक्षमताबारे नजरअन्दाज गर्नाले बुद्धिजीवीमाथि अनेक खालका नकारात्मक टिकाटिप्पणीहरुले प्रवेश पाएका छन् । दार्श्निकहरु महान व्यक्ति हुन् र तिनको भूमिका र क्षमता के कति छ भन्ने कुरा थाहा पाउन कि त दार्र्शिनक नै बन्नुपर्छ नभए दर्शनको विषयमा खोजी गर्ने र लेख्न प्रयास गर्नेले मात्र थाहा पाउँछ । त्यसैगरी बौद्धिक वर्ग को हो र उसको भूमिका र क्षमता के कति छ भन्ने थाहा पाउन बौद्धिक क्षेत्रमा काम गरेका र अनुभव संगालेका व्यक्तिलाई मात्र थाहा हुन्छ । कतिपय बौद्धिक वर्गलाई त आफ्नो कर्म, मर्म र धर्म के हो भन्ने कुराको जानकारीसम्म छैन । बुद्धिजीवीले आफै म को हुँ, मेरो अवस्था के छ, म कहाँ जाने हो, म कसरी जाने हो र मैले के गर्ने हो भन्ने कुराको स्वयं निर्क्यौल गर्न सकेका छैनन्, यो नै आश्चर्यको कुरा हो । 
बौद्धिक पुनर्जागरण अभियान भनेको राज्यको जर्जर अवस्था, अदृश्य शक्तिहरुको बर्बरतापूर्ण व्यवहार र शासक वर्गले राज्य संचालनको क्रममा प्रदर्शन गरेका अनुचित चरित्र र व्यवहारप्रति स्वतन्त्र, तटस्थ र स्वछन्द रुपले आलोचना गर्न प्रतिबन्ध लगाएको अवस्थामा त्यस प्रतिगामी कदम विरुद्ध प्रतिवाद एवं प्रतिरोध गर्न बुद्धिजीवीहरु संगठित भै चालिने विद्रोहको सामान्य स्वरूप हो । सरल वाक्यमा भन्दा, राष्ट्रको संकट एवं विकृतिप्रति सजग रहनु र त्यसको समाधानको लागि बुद्धिजीवीको क्षमता जागृत गरि लेखन र आवाज उठाउन आदि विधिबाट संघर्षमा उत्रनु बौद्धिक पुनर्जागरण हो । बौद्धिक वर्ग राज्यको संकट अवस्था र विकृति विरुद्ध आलोचनामा उत्रेर केही उपलब्धी हाँसिल हुँदैन, विरोधमा उत्रेपनि ‘मच्चियो मच्चियो थच्चियो’ भन्ने हालत सिर्जना हुन्छ, सेवा शुश्रुषा  गर्नेलेनै अवसर लुट्छ, हाम्रो केही जोड चल्दैन, विरोधमा उत्रनुको तुक छैन आदि भनेर सुषुप्त र निराशावादी अवस्थामा बस्नु उचित होइन । यो केवल लाचारी र नादानीपन हो । बौद्धिक जागरणका प्रमुख दुई विषयहरुप्रति बुद्धिजीवीहरुले आवाज उठाउनै पर्छ । पहिलो, बुद्धिजीवीहरुको चिन्तन र कर्म प्रवद्र्धनका लागि जोड गर्ने र दोस्रो, उन्मुक्त वातावरणमा बौद्धिक अभ्यास गर्ने संयन्त्र र कानुनको निर्माणमा लाग्ने । बौद्धिक वर्गमा यी दुई पक्षको अधिकार र कर्तव्यको बारेमा सचेत भै कर्मक्षेत्रमा लाग्नु नै बौद्धिक जागरणको एक उत्तम दृष्टान्त हो । 
राज्यको विकासमा बुद्धिजीवीको भूमिका अदित्तीय हुन्छ, किनकि शरीरलाई मनले चलाए जस्तै राज्यलाई बुद्धिजीवीले चलाएका हुन्छन् । यसको शाब्दिक अर्थ राज्य संचालनको लागि सही कार्र्यिदशा दिने र मार्गदर्शन गर्ने पक्ष बुद्धिजीवी नै हो । बुद्धिजीवीको असल कर्म र विशेषताका कारण उसले मुख्यगरी शासक वर्गको चरित्र विरोधी क्रियाकलाप नागरिकमाझ पुर्याउन र जनभावना एवं जनचासोका सवालहरुलाई सरकार समक्ष पु¥याउने संवाहक, राष्ट्रमा संकट अवस्था र समसामयिक मुद्धाहरुमा सरकारलाई सही ज्ञान र सल्लाह दिने परामर्शदाता, सरकारलाई अग्रगमनको दिशातर्फ लैजान बहस पैरवी गर्ने, खबरदारी गर्ने, दबाब दिने एवं संचालित गतिविधिको पहरेदारी गर्ने पहरेदार, सामाजिक परिवर्तनका लागि स्पष्ट कार्य्दिशा र मार्र्गिचत्र दिने मार्गदर्शक र मुलुकको हरेक क्षेत्रको अध्ययन, अनुसन्धान गरि नयाँ ज्ञान र विचार उत्पादन गर्ने सर्जकको भूमिका निर्वाह गर्दछ । राज्यमा यी भूमिकामा कलम चलाउने एवं आवाज उठाउने जिम्मेवारी इतिहासले वर्तमान पुस्ताका बुद्धिजीवीहरुलाई सुम्पेकोछ ।
वास्तवमा बुद्धिजीवी त्यो हो, जसले ज्ञान र विचारको सिर्जना गर्छ, त्यसको संश्लेषण गर्न सक्छ र तार्किक चिन्तन र मननसंगै आम जनताको अव्यक्त सन्देह, भावना, विवेक र अनुभूतिलाई समेट्ने सामर्थ्य राख्दछ । ऊ समाजका बिकृति विसंगति विरोधी चेतनाका संवाहकका साथै निश्चित विचार र ज्ञान भएको सर्जक (स्रष्टा) हो । त्यसैगरी ऊ मानसिक श्रम बेचेर बाँच्ने र मौलिक विचारहरुको सिर्जना गर्ने सम्मानित व्यक्ति हो । मानवीय सहिष्णुता, वैचारिक उदारता जस्ता चरित्रहरूले गर्दा बुद्धिजीवी समाजमा व्याप्त अन्याय, शोषण आदिले उद्धेलित हुन्छ । समाजसंग घनिष्ट सम्बन्ध राखी समकालीन युगको नागरिक विवेक, भावना र अपेक्षात्मक अभिव्यक्तिलाई प्रतिनिधित्व गर्दछ । बुद्धिजीवीले शासक वर्गको चरित्र र व्यवहार विरोधी जनभावनाको संवाहककोरुपमा कार्य गर्दछ । राजनीतिज्ञकोभन्दा बुद्धिजीवीको चेतना, बुद्धि विवेक र दर्जा उच्चस्तरको हुन्छ । खासअर्थका बुद्धिजीवी स्वाभिमानी, निर्भिक र जुझारु प्रकृतिका हुनेहुँदा उनीहरुले राजनेताको भाष्य र दासत्व स्वीकार गर्न सक्दैनन् । 
युरोपमा तत्कालीन सरकार र जनतालाई बुद्धिजीवी मार्फत् जागरण ल्याउन १४–१७ औं सम्मको ४ शताब्दी अर्थात् ४०० वर्षको अवधि लागेको थियो । जसले त्यहाँको समग्र जनजीवनमा जागरण छाएको थियो । नेपाली समाजमा भने वि.स. २००७ साल अघि तत्कालिन शासकहरुले धर्मगुरु र पुरोहितलाई आम नागरिकको दिमाग सफा गर्न अस्त्रको रुपमा बुद्धिजीवीलाई प्रयोग गर्थे । वि.स. १९९० को दशकबाट सामन्तवाद विरोधी राजनीतिक विचारधारा बोकेर विशेश्वर प्रसाद कोइरालाको लोकतान्त्रिक र पुष्पलाल श्रेष्ठको प्रगतिशील गरि दुई धारको नेतृत्वमा बौद्धिक जागरण पलाएको पाइन्छ । त्यस अभियानले निरंकुश राणा शासनको पतन गराएको थियो । राणा शासनकालमै सामाजिक आन्दोलनका रुपमा पृथक अस्तित्व राखी स्वतन्त्र र स्वच्छन्द रुपमा जय पृथ्वी बहादुर सिंह र योगमाया न्यौपाने जस्ता क्रान्तिकारी अगुवाहरु जागरण अभियानमा लागेका थिए । वि.स. १९६० को दशक बौद्धिक कर्म प्रयोगका लागि निसास्सिएको वातावरणको रुपमा रहेको थियो । पंचायती व्यवस्थाको पोल्टामा परेका बुद्धिजीवीलाई मात्र सो व्यवस्थाको पक्षमा गुणगान गाउनेगरी आलोचना गर्ने र बोल्ने स्वतन्त्रता थियो । त्यस्तो प्रतिबन्धित अवस्थामा पनि महेशचन्द्र रेग्मी, ऋशीकेश शाह, कमल प्रकाश मल्ल जस्ता निर्भिक र जुझारु बुद्धिजीवीहरुले तटस्थ, स्वतन्त्र र स्वच्छन्द रही कलम चलाएका थिए ।
हाम्रो समाजका हिजोका पंचायती इतर बुद्धिजिवीहरु आज आएर राजनीतिक दलको भगिनी संगठनको रुपमा अनेक नामधारी संगठनहरु खोलेर काम गरिरहेका छन् । प्राज्ञिक कर्म र समाज परिवर्तनको क्षेत्रमा लाग्नुपर्ने बौद्धिक संगठनहरु दलैपिच्छे कित्ताकाट भै सत्ताको गुणगान गाउने ध्याउन्नमै लागेका छन् । नवयुगीन समाजमा शासक वर्गले आफ्नो स्तुति गाउने र स्वच्छ आलोचना गर्ने बुद्धिजीवीबीच राजनीतिक चस्माले हेरि कित्ताकाट गराएका छन् । हाल चर्चामा रहेका त्यस्ता संगठनहरु भनेका तत्कालीन नेकपा एमाले, नेकपा माओवादी र नेपाली काँग्रेस समर्थित एवं शुभेच्छुक संगठनहरु क्रमशस् बुद्धिजीवी परिषद, नेपाल बुद्धिजीवी संगठन र बुद्धिजीवी तथा पेशागत विभाग हुन् । देशमा राजनीतिक परिवर्तनहरु भै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि दलगत रुपमा स्थापित ती संगठनमा काम गर्ने बुद्धिजीवीहरुको सोच, चरित्र र व्यबहारमा परिवर्तन आएको छैन । अनेकौं सत्ता परिवर्तन भएपनि शक्ति सम्बन्ध परिवर्तन नहुने अवस्थामा रहेको हाम्रो राज्यमा बौद्धिक कर्म, नियत र व्यवहारमा पनि परिवर्तन आउनसकेको छैन ।  
 बौद्धिक वर्गबीच राजनीतिक आस्था र समाज परिवर्तन गर्ने सोचमा फरक हुनु या भिन्न विचार राख्नु स्वाभाविकै हो, तर पार्टीतन्त्रबाट नियन्त्रित र निर्र्देिशत भै दलीयकरण र दलतन्त्रलाई नै केन्द्रमा राखेर काम गर्नु नाजायज हो । लोकहितमा लाग्नुपर्ने बुद्धिजीवीहरु राजनीतिक दलैपिच्छे विभाजित भै सत्ता राजनीतिको खेलमा लागेका छन् र आफूसम्बद्ध दलको सरकार बनाउन, टिकाउन र राजनीतिक नियुक्तिका लागि भर्याङ मात्रै भएका छन् । यस्ता संगठनहरु राज्यसत्ताको छायाँभन्दा पर जान सकेका छैनन् । राज्यमा जतिसुकै बौद्धिक संगठनहरु खुलेपनि स्वतन्त्र र स्वछन्द भएर सरकारको प्रतिगामी कदम विरुद्ध लेख्ने, बोल्ने स्वाभिमानी, निर्भिक र जुझारु स्वभावका  बुद्धिजिवीहरु अझै उत्पादन हुन सकेका छैनन् । राज्य संचालनको मुख्य आधार राजनीतिक पद्धति र व्यवहार हो, त्यो अशुद्ध हुँदै गएको छ । राजनीतिक व्यवस्थाको शुद्धीकरण गर्ने दिशातर्फ राजनेता र बौद्धिक संगठनहरुको खासै ध्यान जान सकेको छैन ।  
वर्तमान अवस्था
मुलुकको अवस्था 
राष्ट्रियता कमजोर 
महाशक्ति राष्ट्रहरुका अस्थिरता र अराजकता सिर्जना गर्ने दाउपेच, शर्तात्मक र हस्तक्षेपकारी वैदेशिक सहायता दिने, धर्मान्तारण,  संस्कृतिमाथि आक्रमण, राजनीतिक, कानुनी एवं सामरिक महत्वका विषयमा हस्तक्षेप, भौगोलिक विखन्डन र जातजातिबीच सदभाव र सहिष्णुता बिथोल्ने आदि कर्म र व्यवहार गर्नाले राष्ट्रको राष्ट्रिय एकता, सार्वभौमिकता, अखण्डता, स्वाधीनता र स्वाभिमानमा आंच ल्याई राष्ट्रियता कमजोर बनाएको छ । 
अर्थतन्त्र टाट पल्टेको 
राज्यभित्र माफियाहरुले फांसिवादी चरित्र र व्यबहार दर्साई राज्य संयन्त्र, सरकार, बजार, कानुन, साधनस्रोत आदि नियन्त्रणमा लिई देशको आर्थिक, राजनीतिक र प्रशासकीय निर्णय एवं तिनका गतिविधिहरुलाई प्रभावित पारिरहेको छ । यस्तो शक्तिले राज्यशक्तिको दुरुपयोग र साधनस्रोत दोहन गरि अकुत सम्पत्ति आर्जन गर्दा पूँजी केन्द्रिकृत हुनगई सामाजिक तथा आर्थिक असमानता बढ्दै गैरहेको र अर्थतन्त्र टाट पल्टदै गएको स्थिति छ । 
राजनीतिक मूल्य र संस्कार हराउदै गएको 
समकालीन राजनीतिमा मूल्य, मान्यता, सिद्धान्त र निष्ठाको राजनीति विलुप्त भै राजनीतिक संस्कार हराउदै गएकोछ र त्यसले राजनीतिक पद्धतिको अवमुल्यन गराएको छ । राजनीतिज्ञहरु व्यवसायमा र व्यवसायीहरु राजनीतिमा संलग्न रहेको देखिन्छ ।. अपराधीलाई राजनीतिक संरक्षण दिनाले अपराधको संख्या र क्रियाकलापहरुमा बृद्धि भैरहेको छ । जसले गर्दा अपराधमा राजनीतिकरण र राजनीतिमा अपराधीकरण भैरहेको अवस्था छ ।
राष्ट्रमा संकट अवस्था आएको 
मुलुक संचालनको तालाचाभी अर्कैको हातमा रही नेपाली समाजको व्यवस्थापन अदृश्य शक्तिकेन्द्रले गरिरहेको, सङ्घीयता धरापमा पर्दै गएको, देशै डुब्न लागेको, राष्ट्र असफलतातिर धकेलिदै गैरहेको, सरकारी नेतृत्व आफ्नै पार्टीका आसेपासे, भरौटे पछौटेहरुको जन्जालमा फसेको र नेतृत्वमाथि जताततैबाट आक्रमण भै घेराबन्दीमा परेको हुँदा  राजनीतिक नेतृत्वले चाहेर पनि जनअपेक्षा बमोजिम द्रुतगतिमा विकास कार्य गर्न तथा सेवा प्रवाह गर्न नसकेको जस्ता राजनेताहरुबाटै प्रस्फुटित अभिव्यक्तिले राष्ट्र संकटापन्न स्थितिमा रहेको संकेत गर्दछ ।
सामाजिक न्याय हराउदै गएको
राजनीतिज्ञ अपराधीको सहारामा सत्तामा टिकिरहने र अपराधी राजनीतिज्ञको भरोसामा अवैध धन्दा गर्ने परिपाटीले सामाजिक न्याय हराउंदै गएको छ । हत्याहिंसा, तस्करी, कालाबजारी, मानव बेचबिखन, बलात्कार आदि राज्यमा घटित अपराधहरुमा माफिया तस्करको बिगबिगी र राजनीतिज्ञको समेत संरक्षण र संलग्नता रहनाले अपराधहरू फस्टाउँदै गएकोछ र दण्डहीनता मौलाउदै गएको छ । फलतः न्याय हराएको या नैतिक न्यायमा ह्रास हुँदै गैरहेको छ । –१

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper