banner
banner

अझै महिला पुरुषको दासी नै हुन् ?

देवी काफ्ले -
यदि इतिहासमा धेरै कम स्त्रीहरू प्रगतिशिल भएका छन् भने यसको कारण उनीहरू स्त्री हुनु होइन बरू यो समाज हो, जसले स्त्रीका सारा अभिब्यक्तिलाई नियन्त्रित गरिरहन्छ, उनीहरूलाई प्रत्येक सुबिधाबाट बन्चित राख्दछ । बुद्धिमान भन्दा बुद्धिमान स्त्रीको पनि सार्वजनिक हितहरूको लागि आहुति दिईन्छ ।यदि उनीहरूलाई पूरा अवसर मिल्यो भने, त्यस्तो कुनै काम छैन जुन उनीहरू गर्न नसकुन् ।
यदि इतिहासमा धेरै कम स्त्रीहरू प्रगतिशिल भयका छन् भने यसको कारण उनीहरू स्त्री हुनु होइन बरू यो समाज हो, जसले स्त्रीका सारा अभिब्यक्तिलाई नियन्त्रित गरिरहन्छ, उनीहरूलाई प्रत्येक सुबिधाबाट बन्चित राख्दछ । बुद्धिमान भन्दा बुद्धिमान स्त्रीको पनि सार्वजनिक हितहरूको लागि आहुति दिईन्छ । यदि उनीहरूलाई पूरा अवसर मिल्यो भने, त्यस्तो कुनै काम छैन जुन उनीहरू गर्न नसकुन् ।
आजको आधुनिक समाजमा पनि महिलाको अवस्था खासै सुधारिएको छैन । महिलालाई हेर्ने पुरूषवादी नजर उतिकै छन् जसले उनीहरूलाई पुरूष सरह मानव होइन कि दोस्रो दर्जाको मानवको रूपमा हेरिन्छ । महिलालाई अबसर दिन घर परीवार देखि सरकार सम्म हिच्किचाउने परम्परा कायमै छ ।महिलाले शिघ्र निर्णय गर्न सक्दैनन्, उनीहरू कमजोर हुन्छन्, जिम्मेवारी बहन गर्न सक्दैनन् या त राष्ट्रको लागि केही त्याग बलिदान दिन सक्दैनन् । त्यसैले निर्णायक तहमा उनीहरूको पहुँच पु¥याउन चाहन्नन् पुरूषहरू ।
हालैको नेपाल सरकारको मन्त्रीमण्डल गठनले यो प्रबृति हावी भयको प्रमाणित गर्दछ । २५ जनाको मन्त्रीमण्डलमा २ जना मात्रै पर्नु र स्वँय महिला मन्त्रालय पुरूषको पोल्टामा हाल्नुलाई म त महिलालाई हेर्ने अति तल्लो तहको पुरूषवादी सोँच हो भन्न हिच्किचाउँदिन । जुन सरकारले महिलाको लागि ३३५ सिट आरक्षणको रूपमा अनिवार्य गरेको थियो त्यहिबाट नियम उल्लंघन हुन्छ भने महिलाले अवसर कता र कहिले पाउने हो ?
त्यस्तै हिनताबोध हुने क्रियाकलाप राजनैतिक दलहरूले गर्दै आएका छन् । उपनिर्वाचनका उमेदवार बिद्या भट्टराई र बिमला ओली दुबै बिधवा हुन् दुबै महिलाले छुट्टाछुट्टै दुर्घटनामा आफ्ना पति गुमाएका छन् । दुबैका पति राजनैतिक पृष्ठभूमिका हून् । पति राजनितीमा लाग्दा पक्कै पनि पत्नीको केहि न केहि योगदान रहन्छ । अहिले यी दुबै महिला राष्ट्रको र जनताको सेवा गर्ने एउटा अठोट बोकेर चुनाबी मैदानमा उभिएका छन् । भोट माग्नु ,प्रचार प्रसार गर्नु चुनावको एउटा महत्वपूर्ण पाटो हो । यसै सन्दर्भमा पनि केहि अतिवादी पुरूषवादी सोँचले ग्रस्त पुरूषहरूले तिनै महिलाका धोतीको रङ्गलाई उच्च स्वरले चिच्याएर बिरोध जनाउँदै छन् । महिलाको चरीत्र,धोती, अनुहारलाई प्रमुख मुद्धा नबनाई पुरूषले एउटा चुनावमा नारा त पाउँदो रहेनछ भने यस्तो सोँचले ग्रस्त पुरूषबाट महिलाले कहिले अवसर पाउँछे ?
महिला पुरूषको दासीको रूपमा रहोस् यहि चान्छन् पुरूषहरू र हाम्रो समाज । त्यसको लागि पुरूषवादी बिचारले ग्रस्त महिला ले पनि सहयोग पुर्याएका छन् । स्वास्नी मर्दा घाटमा समेत जान नपर्ने पुरूषलाई, न कुनै रङ्गको बन्देज छ, न कुनै बस्त्रको ।तर लोग्ने मर्दा सारा रङ्ग धोइपखाली गरेर सेतो, घुर्मैलो रङ्गको कोरा बेरेर १३ दिन परालमा सुतेर कष्ट भोग्दै लोग्नेलाई स्वर्गको बाटो खोल्ने महिलाको कुनै महत्व छैन । महिलाले पनि लोग्नेले जस्तै रङ्ग नत्यागी बाँच्न नपाउने परम्पराको जँजीर तोड्नुको सट्टा लोग्नेको क्रिया नगरेकी आइमाईले हामीलाई के गर्ली भनेर तुच्छ प्रश्न गर्दै सार्वजनिक ठाऊँमा भाषण गर्ने पुरूष प्रति अब दया जाग्यो मलाई ।
अझै पनि पुरूषहरू,हाम्रो समाज किन महिलालाई यति अशक्त देख्छ ? किन हरेक बिकृतिको भागिदार महिलालाई देख्छ ? यदि महिलामा आँट र अदम्य साहस नहुँदो हो त पासाङ्ग ल्हामु शेर्पाले सगरमाथा आरोहण गर्ने थिईनन्, रानी राजेन्द्र लक्ष्मीले सत्ताको बागडोर कुशलता पूर्वक सम्हाल्ने थिईनन् । आजका महिला के गर्न नसक्ने छन् ? प्रशासनिक काममा पोख्त छन् । महिलाले अगुवाई गरेका ठाऊँमा अनियमितता कम हुन्छ ।घरायसी जिम्मेवारीका वावजुद पनि कुशलता पूर्वक आफ्नो जिम्मेवारी बहन गरेका छन् । प्लेन उडाएका छन्,गाडी गुडाएका छन् । डाक्टर बनेका छन् । राजनीतिमा पुरूष सरह निष्ठा बोकेकै छन् अनि किन महिलामाथि यो बिभेद ? के अझै पनि हाम्रो समाज र हामीले महिला मुक्तिका लागि केहि नयाँ आयाम ल्याउन सक्दैनौँ र ?
सक्छौँ तर चाँहदैनौ किनकी हामी चाहान्छौँ की महिला सधैँ पुरूषको दासी बनेर रहोस् । नारी पुरातन पुरूषबादी बन्धनबाट मुक्त होस् भन्ने चाहना या मुक्तिको चेष्टा सामुहिक हुनुपर्छ । महिला पुरूष दुबै समान हुन । असमान देख्ने आँखाको पर्दा उतारौँ । नारी बिना सृष्टि अधुरो छ । नारीको सम्मान गरौँ ।
यै पुरूषवादी बिचारले ग्रस्त हाम्रा धार्मिक ग्रन्थमा सँसारका सारा पापको मुक्तिको द्वार नारी नै देखाएका छन् भने केहिमा स्त्रीका हरेक क्रियाकलापलाई पाप र धर्मको तराजुमा राखेर कहिलेई बराबर नहुने गरी पापका भारी बोकाइएका छन् । गरुडपुराण महात्म्य, ऋषिपन्चमी, स्वस्थानी जस्ता धार्मिक पुस्तकहरूमा उल्लेख भय अनुसार पतिलाई परमेश्वरको स्थानमा राखेर पुज्नु पर्ने, एक्लै खान नहुने, रीसाउन नहुने, जवाफ फर्काउन नहुने, पृथ्वीमा कुल्चनु पाप, हिड्नु पाप, परपुरूषको मुहार हेर्नु पाप, उसले आफू खुशी सास लिनु पाप भनेर पति रुपि पुरूषको सेवामा तल्लीन हुनुपर्ने नत्र उसले स्वर्गमा ठाऊँ नपाउने भनेर एक किसिमको धार्मिक जँजीरले बाँधियो ।त्यसै अनुरूप रूढिवादी सोँचका हाम्रा आमा, हजुर आमाले पनि त्यस्तै गर्नुभयो र अहिले पनि त्यस्तै गरून् भन्ने चाहानुहुन्छ । यी पुराण लेख्ने मान्छेले नारीको हितमा दुईचार शब्द कोरीदिएको भय सायद केहि फरक हुन्थ्यो कि ? लोग्नेले जतिवटा बिहे गरे पनि उसको मर्दानगी हुने स्त्रीले बालबिधवा भयर पनि जीवनभर नदेखेको लोग्नेको नाममा बिधवा बनेर जीवन काट्नु पर्ने ? यो नीति आखिर पुरुषलाई किन लागेन किन ?
यति धेरै पापको भारीबाट केही अंश पुरूषको पोल्टामा पनि पारीदिएको भय यति धेरै दमित हुन सायद नारीलाई नपर्दो हो । सुधार्नु पर्ने एकातिर छ अर्थ अर्कोतिर लगाउंछन् ता कि महिला सधैं असक्षम र पुरूष प्रति आश्रित रहोस् । जुन महिला एउटा पुरूषलाई परमेश्वरको रुपमा राखेर जीवनभर उसका हरेक दमित ब्यावहार सहन सक्छे उसले अवसर पाए अरू काम गर्ने क्षमता राख्दिन होला त ?
त्यसैले आजका नारीलाई अबसरको खांचो छ । अवसर पाए जस्तो सुकै कठिन काम पनि फत्ते गर्न सक्छन्।उनीहरूलाई हौसला चाहिएको छ । खुट्टा तान्ने र निरीह बनाउने प्रबृति होईन ।

चिनिया“ पर्यटक कसरी भित्र्याउन सकिन्छ ?
प्रेमसागर पौडेल
नेपाल भ्रमणवर्ष २०२० मा २० लाख पर्यटक भित्र्याएर नेपाललाई विश्व पर्यटन केन्द्रका रुपमा विकसित गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । यही कर्तव्यवोध गरेर मैले गत असोज ५, सेप्टेम्बर २२ का दिन म चीनको बेजिङ्गस्थित चाईना पोष्टको कार्यालयमा पुगेर चनिर्देशकसँग छलफल गरेको थिएँ । छलफलमा चाईना पोष्टका निर्देशक, प्रचारप्रसार विभाग प्रमुख लगायत अन्य सम्बन्धित पदाधिकारीको पनि सहभागिता रहेको थियो ।
छलफलका क्रममा नेपाल सरकारको सम्बन्धित निकायबाट पत्र प्राप्त हुनासाथ चाईना पोष्टले सन २०१९ को शुरु देखि नै नेपाललाई चिनियाँ पर्यटक पठाएर सहयोग गर्नका लागि पहल गरेको भए पनि पछिल्लो समय नेपाली पक्षबाट त्यति चासो नदिएको उनीहरुको गुनासो सुनें ।
चिनियाँ पक्षबाट औपचारिक रुपमा नेपाल पर्यटन बोर्डमा पुगेर त्यहाँका कार्यकारी प्रमुखलाई भेट गरी सबै प्रक्रिया बारेमा जानकारी गराइएको रहेछ । कार्यकारी प्रमुखले सम्बन्धित अधिकारीलाई मौखिक आदेश दिएको भए पनि कर्मचारीहरुले कहिले भाषा अनुवाद गर्न लगाउने, कहिले भिडियो सम्पादन गर्न लगाउने र कहिले निजी स्वार्थका कुरा गरेर महिनौसम्म दुःख दिएको प्रमाण स्वरुप नेपाल पर्यटन बोर्डका पदाधिकारी र चिनियाँबीच भएका दोहोरो कुराकानीका विवरण देखाउँदै चिनियाँ पक्षले नेपाली पदाधिकारीको व्यवहारप्रति असन्तुष्टि प्रकट गरे । भेटका समय चाइना पोष्टका पदाधिकारीले नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले चीनको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्र्रािष्ट्रय विभाग प्रमुख वा सम्बन्धित मन्त्रालयलाई सोझै पत्र लेख्न र त्यसको बोधार्थ चाइना पोष्टलाई पठाउन अनुरोध गरेका थिए ।
चाइना पोष्टका पदाधिकारीले पटकपटक बेजिङ्गस्थित नेपाली राजदूतावासमा पुगेर महामहिम राजदूत लिलामणी पौड्याललाई भेट गरेको र उहाँबाट निकै राम्रो उत्साहजनक ब्यवहार पाएपनि मिनिस्टरबाट राम्रो रेस्पोन्स नपाएको चिनियाँ पक्षको थप गुनासो थियो ।
बेजिङ्गस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डबाट चाइना पोष्टलाई पत्र पठाएको देखिन्छ । पत्र पठाएको भए पनि नेपाल पर्यटन बोर्डबाट बेवास्ता भएको र त्यही बेवास्ताका कारण चाइना पोष्ट मार्फत चिनियाँ पर्यटकलाई नेपाल पठाउने उत्साह देखिएन । यसमा सरासर नेपाली पक्षको कमजोरी छ । यस्तो हुनुको पछाडि व्यक्तिगत स्वार्थ, लाभहानीले काम गरेको देखिन्छ । चाइना पोष्टसँग सम्झौता गरेर चिनियाँ पर्यटक नेपाल भित्र्याउँँँँदा आफ्ना मानिसलाई यही निहुँ बनाएर पटकपटक पर्यटन प्रवद्धधनका नाममा भ्रमणमा पठाउन नपाईने, आफ्ना आफन्तलाई पोस्न नसकिने र सोझै राष्ट्रलाई फाइदा हुँदा ब्यक्तिगत लाभ कम हुने भएकोले उचित पहल र चासो नदिएको देखिन्छ । नेपालले सन २०२० लाई पर्यटन बर्ष घोषणा गरेको भए पनि चीनसँग सरकार–सरकारबीच पर्यटन प्रवद्र्धन सम्बन्धि खासै सम्झौता भएको देखिएन । नेपालका लागि पूर्व चिनियाँ राजदूतको छोरी चान लिको एनजीओ मार्फत चिनियाँ अभिनेत्रीलाई पर्यटनदूत बनाएर निजी क्षेत्रसँग लाभहानीमा आधारित रहेर पर्यटन वर्षका गतिविधि अगाडि बढाइएको देखिन्छ ।
विगतमा चाइना पोष्टले मलेशियामा बीस लाख चिनियाँ पर्यटक पठाएको छ । चीनमा चाइना पोष्टको ५६ हजार शाखाहरु छन् । चाइना पोष्टले सम्बन्धित देशको पोष्टकार्ड छाप्ने र भ्रमणमा जाने पर्यटकलाई डिस्काउण्ट कार्डका रुपमा पोष्टकार्ड दिएर पठाउने गरेको रहेछ । यस्तो गर्दा कति पर्यटक कुन देशकोे कुन भागमा कति संख्यामा पुगे जानकारी राख्न र नियमन, निगरानी गर्न सकिने र साथसाथै उनीहरूलाई आपतविपत पर्दा उद्धार गर्न सहज हुने उनीहरूको व्यवस्थापन रहेछ । हामीले पनि यसरी ब्यवस्थित तरीकाले सरकारीस्तरमा सम्बन्ध कायम गरेर चिनियाँ पर्यटक नेपाल भित्र्याउन पहल गर्ने हो भने कुन देशबाट कति पर्यटक देशको कुन कुन भागमा पुगे, कति खर्च गरे, त्यहाँ उनीहरूले के कस्ता गतिविधि गरे सबै जानकारी अभिलेख राख्न सकिन्छ, देशको सुरक्षा ब्यवस्था चुस्त बनाउन सहयोगी भूमिका खेल्न सकिन्छ, पर्यटक भित्र्याउने नाममा हुने अनावश्यक खर्च घटाएर देशको अर्थतन्त्र बिग्रनबाट जोगाउन सकिन्छ र यसैको आधारमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।
पर्यटन क्षेत्रमा चिनियाँ प्रविधि, व्यवस्थापन पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य बोकेको नेपालका लागि साह्रै लाभदायक हुनसक्छ । यसकारण पनि चिनियाँ पक्षसँग पर्यटक भित्र्याउने र पर्यटनसँग सम्बन्धित प्रविधिहरु नेपालले हासिल गर्नसक्छ । यसका लागि नेपालले चीनसँग निकट सम्बन्ध र सहयात्रा गर्न गर्नुपर्छ । निजी स्वार्थ बोकेका पदाधिकारीहरुबाट कदापि यो सम्भव छैन । यसबारेमा मैले पर्यटनसँग सम्बन्धित निकायहरुमा समय समयमा आग्रह गरेको हुँ, सक्रिय भएको पाएको छैन ।
मेरो बुझाइमा चीनले खोजेको नेपालको बोली व्यवहारमा एकरुपता हो । विश्वासको आधारित सम्बन्ध हो । चिनियाँ पक्षले नेपाल सरकार र मातहतका निकायहरु चीन र एकचीन नीति मैत्री नभएको ब्यापक गुनासो गर्ने गरेका छन् । यस सम्बन्धमा म आफैले बारम्बार भोगेको अनुभव पनि छ । नेपाल सरकारका कूटनीति र पर्यटनसँग सम्बन्धित निकायहरुसमेत नेपालमा चीन विरोधी गतिविधि सञ्चालन गर्ने तत्वको सहयोगी बन्दै गरेको जस्तो देखिने ब्यवहार र वातावरण हुर्किदै रहेको (केही मिडियामा आएका समाचार र अन्यका आधारमा) ले त्यसतर्फ ध्यान दिएर नेपाल र चीन बीचको सम्बन्धलाई अझ सफल, फलदायी र विश्वासयुक्त बनाउन नेपालले तत्काल तत्परता देखाउन जरुरी छ । पर्यटन प्रवद्र्धन केन्द्रका प्रमुखले समेत पूर्वाधार विकासमा हामी चुक्यौं भने पर्यटन वर्ष सफल पार्न हामीलाई मुस्किल पर्छ भनिसकेका छन् । नेपाल एकचीन नीति र समदूरीको सिद्धान्तमा अडिग हुन नसक्ने हो भने चिनियाँ पर्यटकहरुको आगमन कम हुनसक्छ ।
भूकम्पका बेलामा चीनले नेपाललाई उदारतापूर्वक मित्रता देखायो । शिक्षा, स्वास्थ्यदेखि सिमेन्ट र जलविद्युतलगायतका उद्यमहरुमा चीनको सहयोग र लगानी व्यापक रुपमा बढेको छ । असोजको २५, २६ मा नेपाल आउनु भएका चीनका महामहिम राष्ट्रपति सी चिनफिङ्ले उदारतापूर्वक नेपाललाई भूजडित राष्ट्र बनाउने र नेपालमा पर्यटकहरु पठाउने आश्वासन दिएर जानुभएकाो छ । त्यसैपनि चीनले रेलमार्ग, सुरुङमार्गदेखि सुख्खा र समुद्रमार्गको पहुँच सहज बनाउन सेवा, सुविधा र सहयोगको प्रतिवद्धतामा फलदायी काम गरिरहेकै छ ।
यतिबेला नेपाल भ्रमणवर्ष सफल पार्ने संघारमा छौ हामी । नेपालमा केही घण्टाका लागि दिल्लीहुँदै प्रवेश गर्ने पर्यटक गन्तीमा आउलान्, यस्ता पर्यटकबाट नेपालको पर्यटन विकासमा कुनै साथ र सहयोग मिल्दैन । पर्यटन नेपालको आर्थिक विकासको मेरुदण्ड हो । नेपाल प्रकृतिको सुन्दरता र पर्यटनको विश्वकेन्द्र बन्नसक्ने वातावरण छ । सुरक्षा र मैत्रीभाव देखाउन सके अन्य मुलुकका भन्दा पनि चीनका पर्यटकले नेपालको पर्यटन वर्षलाई मात्र होइन, आउने वर्षहरुमा समेत ठूलो भूमिका खेल्ने छ र पर्यटन उद्योग नेपालको सबल अर्थतन्त्रमा सहयोगी हुनेछ ।
मलेसियामा २० लाख पर्यटक वर्षेनी जानसक्छन् भने अधिकांश बुद्धधर्म मान्ने जनसंख्या रहेको चीनबाट त्यत्तिकै संख्यामा नेपाल भ्रमणमा आउन थाले भने नेपालको पर्यटन उद्योग गजबले फस्टाउन सक्छ । त्यसैले चीनको चित्त दुख्ने, चीनलाई संशय हुने व्यवहार रोकेर विश्वसनीय मैत्री परिस्थिति सिर्जना गर्न नेपाल अग्रसर हुनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper