banner
banner

बालबालिकालाई राज्य किन हेर्दैन ?

देवी काफ्ले -
यी को हुन् ?
यीनीहरू के गर्छन् ?
पढ्छन् कि पढ्दैनन् ?
यी घोडासँग यहाँ के गरिरहेका छन्  ? के कारण घोडा डोर्याएका छन ?
अनेक कौतुहलता जाग्यो मेरो मनमा । र, उनीहरु नजिक गएँ ।
म जति उनीहरूको नजिक गए उति नै उनीहरू म बाट टाढिन खोजे तर मैले पनि उनीहरूको पछी लाग्न छोडिन । मैले नाम सोधें नाम भन्नै हिच्किचाए । आफूहरूमा बोलाएको सुने एउटा बाबुको नाम शरद परीयार हो भन्ने थाहा पाएं अर्कोको नाम हैन थर थाहा पाएँ उनी बि .क. थिए ।
तिमीहरू स्कूल पढ्दैनौ ? मैले सोधें । जवाफ थियो पढ्छौं । आज किन स्कूल नजानु भाको भन्दा स्कूलमा आज कार्यक्रम छ त्यसैले यता घोडा सवारी चलायो भने केही पैसा हुन्छ घरमा बाबालाई सहयोग हुन्छ । अरू दिनमा स्कूल जान्छौं । तर मलाई लागेन यी बालक मध्यका एकजना त स्कूल जान्छन् तर दुई जना स्कूल जांदैनन् । किनकी उनीहरू अवस्था हेर्दा स्कूल जानु उनीहरूको लागी कठिन हो कि ?
प्यूठान जिल्लाको स्वर्गद्वारी मा घोडसवार गराउंछन् यिनीहरू । मैले केही समय अगाडी शेखर ढुंगेल दाईको ‘यात्रासंस्मरण कहाँ छ मेरो देश’ भन्ने किताब पढेको 
थिएँ । भारत हिमाचल प्रदेशको सिमलाको कफूरीमा यात्राको क्रममा घोडा लिएर उपस्थित भएका, यात्रु खोजेका नेपाली ठिटाहरू लगभग १२–१३बर्षका, निरीह देखिने, थोत्रा लुगा,कमजोर या कुनै जोश जांगर नभय जस्ता देखिएका र आफैमा हराए जस्ता देखिएका ठिटाहरूको केही अवस्था ब्यक्त गर्नु भएको छ ।
ती पानाहरू पढ्दा म अत्यन्तै भावुक बनें र मुटुमा गांठो पर्यो ।बेला बेलामा त्यी वाक्य मेरो कानमा गुसन्जन्थ्यो । आज यी बालकहरू देख्दा मलाई फेरी शेखर दाईको वाक्यले मुटु छोयो । मुटु भक्कानियो ।
उहाँले प्रस्तुत गरेका बालक नेपालबाट एक छाक पेट भर्न देश छोडेर भारतमा रोजगारीको लागी परदेशिएका थिए, कोही द्वन्दको कारणले देशबाट ज्यान बचाउन भागेका थिए । भारत पसेको पनि ३र४बर्ष भै सक्यो भन्ने ती बालकहरु कति बर्षको उमेरमा मुग्लान पसे होलान् अनुमान लगाउंदा मुटु चिरीन्छ, आफैलाई धिक्कार्न मन लाग्छ ।
सुखले कोही मुग्लान पस्दैन ।द्वन्दको बेला कसैका बाबु मारीए, आमा मारिय, अभिभावक बिहिन भए पछि उनीहरू बाँच्नको लागि एउटा मात्रै बिकल्प भारत जानुलाई रोजे । एउटा टालो लाउन र एकपेट खान उनीहरूले गर्नुपरेका संघर्षको कथा ब्यथाले सम्बन्धित निकायलाई कहिले पनि छुंँदैन । यस्ता निरीहहरुलाई राज्यले कहिले पनि देख्दैन, यिनका लागि सरकार कहाँ छ भनेर सोध्नुपर्ने अवस्था छ ।
अभिभावक बिहिन भएका र अति गरीबीले पिल्सीएका बालकहरूको संरक्षण,पालपोषण गर्नु एउटा असल र सक्षम नागरीक उत्पादन गर्नु कसको जिम्मेवारी या दायित्व हो मैले बुझिन ।
यी बालकहरूलाई देख्दा मलाई तिनै शेखर दाइले प्रस्तुत गरेका बालकहरू सम्झें ।
परिवारविहीन भएका बाल बालिकाको संरक्षकत्व त राज्यले लिनु पर्ने होइन र ? राज्य कता छ ?
उनीहरू अनागरीक बनेर भारतीयहरूको निगाहको गाँस खानु पर्ने त्यो पनि रगत पसिना एक गरेर गरेको मेहनतलाई पैतालाले कुल्चेर दाताले जस्तो गरी दिएको गाँस ।
न ज्याला न पारिश्रमिक एक गाँस र एउटा टालोको लागि मुग्लान पसेका ती बालकको जवाफदेहिता कसले लिने ? लोकतन्त्र कता छ, कस्तो छ ?
उनीहरूको देश खोज्न भौंतारीए को मनलाई कुन देश देखाएर पहिचान दिने हो ? म अलमलमा छु ।
नेपालले गरेको बाल अधिकार सम्बन्धि महासन्धिले यस्ता बालकहरूलाई कहिले छुने हो म अन्दाज लगाउन सक्दिन । अन्तर्राष्ट्रीय महासन्धी भयको बर्षौं बितीसक्दा पनि बाल अधिकारका कुराहरू कागजमै सिमित छन् । अधिकारको पहुँचमा नपुगेका कैयौं बालबालिका छन् ।बाल संरक्षण, बालबिकासका लागि बिश्वका धेरै राष्ट्रहरूले हस्ताक्षर गरे तीस बर्ष अगाडी नेपालले पनि महासन्धीमा हस्ताक्षर ग¥यो । तर त्यो अधिकारको पहुंचमा अझै पनि आधा भन्दा बढी बालक पुगेका छैनन् । बाल अधिकार सम्बन्धि नेपालमा पनि कानून छ तर बालबालिकाको पहुँचमा छैन । यसरी कानून बनाएर कागजमै सिमित राखेर कैले बाल अधिकारको प्रत्याभूति गर्न हुनसक्छ, बोल्ने कसले ?
प्रत्येक सरकार र प्रत्येक नागरिकले बाल अधिकार सम्बन्धित आफ्नो सम्पूर्ण कर्तव्यको पालना गर्दछ र प्रत्येक बालबालिकाले ती अधिकारहरू दावी गर्न सक्दछ तब मात्र बालअधिकारले पूर्ण रूपमा सुनिश्चित हुनेछन्  ।
बालबालिकाले न त पूर्णरुपमा स्वास्थ्य सेवा पाएका छन् न त पौष्टिक आहार, न त उनीहरूले पूर्ण शैक्षिक सुबिधा लिन सकेका छन् । अहिले पनि बिभिन्न बहानामा बालबालिकामाथि हिंसा भैरहेको छ । बालिका बलात्कार, बालश्रम शोषण भैरहेको छ । तर बाबालिकाले न्याय पाएको देखिदैन । न्याय दिनेहरु, अधिकारका कुरा गर्नेहरु कोही स्वार्थमा, कोही डलरमा हराइरहेका छन् ।
सरकारले नै बेवास्ता गरेको देखिन्छ । जुनसरकार भय पनि बाल अधिकारलाई कागजमै सिमित राखेको र काठमांडौ केन्द्रित हुने हुनाले दुर्गमका यस्ता बालकहरू भारतमा मजदुरी गर्न जान बाध्य छन् । अभिभावक बिहिन, द्वन्द पिडित, आर्थिक कमजोर बालबालिकाको उचित ब्यवस्थापन हरेक सरकारले गर्नुपर्छ, यो राज्यको दायित्व हो । तर शेखरले सिमलामा भेटेका नेपाली बालक, मैले स्वर्गद्वारीमा भेटेका बालकहरु कैले सरकारको नजरमा पर्लान्, सरकारले हेर्ला ? निर्मला जस्ता बलात्कार पिडित बालिकाले बाल अधिकारको प्रत्याभूति गर्न कैले पाउलान् ?
राज्यले काठमांडौ भन्दा बाहिरका बालबालिका आइ एन जि ओ, एन जि ओको लागि मागी खाने भांडा बनेका छन् । अझ यस्तै मागी खाने भाडो बनाउने कि एउटा असल र सफल सक्षम नागरिक बनाउन राज्य र जिम्मेवार नागरीक लाग्ने ?
सरकार अब पनि ढिला नगरी सुदुरका ती बालबालिकालाई देश खोज्दै भौंतारिनु नपार्ने हो कि ? ती बालक त हाम्रा भविष्य हुन् यो देशका सम्पत्ति हुन्, देशको जिम्मेवारी बोक्ने देशका सच्चा भरीया हुन् । ती अनमोल रत्नलाई भारतको भूमीमा देश खोज्न जान बाध्य नपार सरकार । लोकतान्त्रिक भन्छौ, लोकतन्त्रको गरिमा र महिमा राख्न यी बाललोकलाई कल्याण गर, यिनको भविष्य सुनिश्चित गर । तव न देशको भविष्य सुनिश्चित होला, देश सक्षम नागरिकको हातमा पुग्ला ? कि कसो सरकार ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper