banner
banner

सलामी खाइयो, मलामी गुमाइयो

अधिवक्ता गंगा दाहाल -
संघीयता आयो, मुलुकमा ७ सय ६१ सरकार बने । सबै सरकारका प्रमुखहरुलाई सलामी खानै हतार ।
पिर्का राखेर, मेच–बेञ्चमाथि उभिएर, ढुङ्गामाथि ढुङ्गा खप्टेर पनि सलाम खानेहरु देखियो ।
भर्खरको ताजा घटना गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमन आफ्नै घरमा आधुनिक सलामी स्थल बनाएर सलामी लिएरमात्र मन्त्रालय जाने रहेछन् ।
नेपाल कम्युनिष्ट पार्टिभित्र सलामीको भोक किन ? नेकपा त सर्वहाराको पार्टी, समानता ल्याउने उद्देश्य बोकेको पार्टी, विभेदको अन्त गर्ने लक्ष्य राखेर सलामीतिर पो अजुृनदृष्टि ? नेकपामा अहिले पनि जनयुद्धदेखि जनआन्दोलन गरेका एक से एक अर्जुनहरु छन्, ती अर्जुनहरु सलामीमा सोत्राम । जनताको कुरा सुनेर जनताको सम्मान खाने कि सलामी ?
म पनि समाज बदल्न कलिला सपनाहरु बोकेर हिडेको व्यक्ति । अहिले पनि स्थानीय स्तरको सानो नेतृत्वमा छु र समाज बदल्न, समाजका विकृति र बिसंगति हटाउन, समाज बदल्ने सही कुराहरुको पक्षमा उभिएको छु । तर मजस्ता हजारौं व्यक्तिहरु निराश छन् । आमजनमानसमा नेकपामाथिको विश्वास घट्दो छ । मंसिर १४ मा जनताले नेकपाको गलत निर्णय र गलत क्रियाकलापमो मूल्यांकन गर्नेछ । त्यसैले हामीले आफैलाई जनताको पक्षमा उभ्याउन जरुरी छ । सलामी खान पिर्का, मेच, ढुंगा, बेञ्चको सहारा लिएर अग्लिनु निरर्थक हो । हामी निरंकूशताका विरोधी, हामी समानताका पक्षधरले काठमा, काँधमा चढेर अग्लिनुको अर्थ छैन, हामी अग्लिने जनताको विश्वासमा हो ।
देशैभरि नेकपाको दुई तिहाइको शक्ति छ र नेकपाले चाहे घर, परिवार, देशको हालत बदल्न सक्छ । यही परिवर्तनका लागि राजनीतिक परिवर्तन भएको हो । तर हामी किन सलामी खाएर आफ्नै मलामी गइरहेका छौं । हामीले जनताको आस्था जितेर मलामी  बढाउनु पर्ने हो, हामी गलत मार्गमा छौं, गलत अभ्यासमा छौं । हामीलाई प्रतिपक्षीले होइन, आफुले आफैमाथि षडयन्त्र गरिरहेका छौं । बढी भो अव चेत फिर्न जरुरी छ ।
हातमा भएको गुमाएपछि सान गरेर पाइदैन । समाजको यो उखान र नेकपाको हातमा भएको सत्ता बाँदरको हातमा नरिवल त भइरहेको छैन ?
हामीले आर्जन गरेको जनताको भरोसामा कति विश्वास थप्ने काम गरेका छौं, त्यो जनभरोस र विश्वास बढेको छ कि घटेको छ ? अहिले आत्ममिमांसा नगरे भोलि पछुताउनु पर्नेछ ।
म आफैसँग प्रश्न गरिरहेको छु, म आफ्नै नजरमा गिरेको अनुभूति गरिरहेको छु । मलाई मतदान गर्ने मतदाताका अगाडि हिड्दा किन किन लज्जाबोध हुनथालेको छ । यसको कारण चुनावमा जे बोल्यौं, जे आश्वासन दियौं, विधिको शासनको कुरा ग¥यौं, जनबल पाएपछि हामी आफ्नै घोषणामा खरो उत्रन सकेनौ, चुक्यौं, चुक्दै गएका छौं ।
यसकारण समाजमा, सामाजिक सञ्जालमा प्रश्न उठेको छ– राजनीति सेवा हो कि व्यवसाय ? राजनीति समाजसेवा हो कि जागीर ? चाणक्यले उत्तम समाजसेवा भनेका छन् राजनीतिलाई, हामीले व्यवसाय, नोकरीबनाएका छौं र समाज बदल्न, नयाँ नेपाल बनाउन हिडेका हामी आफै सम्पन्न बन्दै गएका छौं । राजनीतिमा योग्यताको परीक्षण हुन्न, राजनीतिको योग्यता भनेकै जनताप्रति, देशप्रतिको जवाफदेहीता हो । के नेकपाले देश र जनताप्रतिको जवाफदेहीता पूरापूर देखाएको छ त ? नकारात्मक जवाफले मेरो गिदी मथिंगल हल्लिन्छ र म आफैसँग लज्जित हुन्छु ।
हाम्रा नेता, कार्यकर्ता र समर्थकहरुमा देशभक्ति र उद्देश्यपूर्तिमा कुनै कमजोरी छैन । कमजोरी नेतृत्वमा छ र नेतृत्वले आफूले आफैलाई हेरेर सही निर्णय र सही मार्गदर्शनमा लाग्न जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper