banner
banner

तिहारको शुभकामना

देवी काफ्ले- 
यसपालीको तिहारले सबैमा सद्भाव ल्याओस् । बिशेष गरी आजको हाम्रो समाजमा चाडलाई बिकृतिको रूपमा ंँस्थापन गर्नेहरूको जमात कम छैन । तिजमा महिनौं अघिदेखि दर खाने चलन थिएन । आजकल महिना दिन देखि पार्टी प्यालेसमा महँगा लुगा लगाएर ऋणमा गहना भिरेर अडियोमा नाच्न थालियो । जसले चाडबाडको मौलिकता र बिशेषता नै उथलपुथल बनाइदियो ।
दशैँमा पनि अर्काको देखासिकी गरेर सिँगो खसी ढाल्नु पर्ने सकेसम्म नयाँ बस्त्र किन्नै पर्ने हुनथाल्यो तै पनि तिजको बिथोलिएको अवस्था भन्दा पृथक हुनाले दशैँले सम्म केहि मौलिकता धानेको छ । आफूभन्दा ठूलासँग आशिरवाद लिनु, मान्यजनको हातबाट टिका जमरा ग्रहण गर्नु जस्ता रीतले बाटो मोडेको छैन तथापि मान्छेहरू बढी खर्चिलो भयको कारण हो वा ब्यस्तताले हो सकेसम्म दशैँ टार्न खोज्दैछन् । शास्त्रमा नलेखिएका कुराहरूलाई पनि मान्यता दिएर बार्नु नपर्नेलाई पनि मान्यतामा राखेर उम्काउँदैछन् । तर पनि हाम्रो परम्परा, रीती रिवाज र संस्कृतिलाई चटक्कै बिर्सन र त्याग्न सकिन्न भन्नेहरूले सँस्कृति हस्तान्तरण गरेकै छन् ।
बिकृतिले उग्र रूप लिएको हाम्रो अति महत्व पूर्ण चाड हो तिहार । तिहारले धेरै कुराको सकारात्मक सन्देश दिन्छ । तिहार वास्तवमा एउटा चाड मात्रै हैन कि दाजुबैनी दिदी भाईको अमर, अटुट सम्बन्धको ग्रेटवाल नै हो । यतिबेला सबैका घर झिलीमिली छन् । मान्छेको मनमा छुट्टै किसिमको उत्साह छ । डाँडापाखा, करेसाबारी, घरका गमला जताततै सयपत्री, मखमली, गोदावरी फूलले ढकमक्क छ । मानौँ अहिले हाम्रो घर आँगन स्वर्गैको टुक्रा हो । यमपञ्चक सुरु भएदेखि नै घर आँगन कोठा चोटा जताततै फूलका महक, बत्तीका झिलीमिली, द्यौसी भैलिनीका आशिरवादले गुञ्जायमान छ । सूचनाको संवाहक कागलाई अरूबेला कटुवचन भएको रूखो हेर्दा पनि अशुभ भनेर धपाइन्छ तर कागतिहारको दिन उसको पूजा हुन्छ ।
इमान्दारीताको प्रतिकको रूपमा कुकूर पुजिन्छ । धनधान्यले भरीपूर्ण होस् भनेर माता लक्ष्मीको पूजा गरीन्छ  । गाईको पूजा, गोबर्द्धन पूजा पछी भाइको पूजा तथा सप्तरंगी टिका र कहिले न ओइलिने मखमलीको माला लगाइन्छ । भैलोमा द्यौसीमा दाजुभाईले बैनीको हातको टिका लगाउन आउँदा अनेक बाधाहरू आएका र बैनीले यमराजसँग दाजुको आयुको लागि गरेको याचनाले दाजुबैनीको भेट भयका गाथाहरू गाइन्छ । सुन्दा लाग्छ सबै दाजुभाइले दिदीबहिनीलाई कति माया गर्छन् । तर कतिपय आफ्नै दाजुभाइ पनि यो यथार्थबाट पर सरेर दिदीबैनीलाई आदरमा देख्दैनन् ।
तिहारको रौनक र दाजुभाइ दिदीबैनी सम्बन्ध त्यो माया प्रेम देख्दा कुनै नकारात्मक अवस्था आउला जस्तो लाग्दैन तर सँगै भैलो खेल्न हिँडेका दिदीभाई दाजुबैनीको माया र सम्बन्धका गाथा गाउनेहरू बाटै कैयौँ बहिनी बलात्कृत हुन पुग्छन् । आफ्नै सहोदर दाजुबाट बैनी बलात्कृत हुन पुग्छन् । आखिर आफ्नैबाट किन बलात्कृत हुन्छन् ? दाजुबाट, बाबुबाट, छिमेकीबाट, सुरक्षाकर्मीबाट, शिक्षकबाट कसैबाट पनि आज बालिका सुरक्षित छैनन् । हुँदाहुँदै अहिले आएर छोराबाट आमा असुरक्षित हुन थालिन् । मादक पदार्थ या लागु पदार्थ सेवन गरेपछी छोराले आमालाई नै बलात्कारको प्रयास गरेको घटना तरोताजा छँदैछ । छोराबाट आमा बाबुबाट छोरी सुरक्षित छैनन् भने अब महिला कहाँ सुरक्षित छन् त ? धार्मिक र सृष्टीकै नियम अनुसार नारी पुज्य छिन् । उनी कहिले आमाको रूपमा कहिले सहधर्मिणीको रूपमा त कहिले छोरीको रूपमा । मनुस्मृतिमा उल्लेख गरीए अनुसार जहाँ नारीको सम्मान हुन्छ त्यहा देवता खुशी रहन्छन् । तर यो भनाईलाई पनि धमिल्याईदिएको छ ।
जसलाई पायो बलात्कार गरिदिने । न आमा बँचेको छ न छोरी ।  किन पुरूषमा यस्तो बिकार बढ्यो ? किन घटना घट्नुको सट्टा बढेको छ ?
सामाजिक पुरूषवादी सोँचले ग्रस्त समाज, रूढीवादी परम्परा, सरकारको स्पष्ट नीति भए तापनि दलीय कारणले शक्ति र पैसाको खेल अनि माथिल्लो तहबाट अपराधीलाई संरक्षण हुनुको कारण नै आज बलात्कार जन्य घटना मौलाउँदो छ । अपराधीलाई सजाय होइन, नेपालमा उन्मुक्ति बढी छ । बंगलादेशको न्यायालयले सुनाएको नुशरत अलि केश हेर्ने हो भने बलात्कारीलाई फाँसी, यो फैसलालाई सलाम ठोक्नुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper