banner
banner

अपराधी बचाउन किन मरिहत्ते

धर्मरत्न श्रेष्ठ -
चुनावमा तर्साउन बम बनाउँदा, पड्काउँदा देख्ने र घाइते भएकाहरुलाई प्रमाण मेटाउन कालागि इटाभट्टामा हालेर मारेको आरोपमा मोहम्मद अफताव आलम पक्राउ परेका छन् । सुन्दैमा योभन्दा अमानवीय घटना अरु हुनसक्दैन । बंगलादेशमा नारी नुसरत जहाँ रफीलाई बलात्कारपछि आगो लगाउने १६ जनालाई अदालतले फाँसीको सजाय सुनाएको छ ।
रौतहट हत्याकाण्डका दोषीलाई बचाउने प्रयासमा नेपाली कांग्रेस लाग्नु अथवा महरा  प्रकरणमा नेकपा लाग्नु, दुबै नेपालमा दण्डहीनता बढ्नुका पछिल्ला उदाहरण हुन् । 
जनयुद्धकालीन मुद्दाको निरुपण भएका छैनन् । जन्मकैद परेकालाई आममाफीमा छुटाइयो । भ्रष्टाचार लागेकाहरुलाई राजनीतिक आधारमा न्यायाधीश बनेकाहरुले सख्ती गर्न सकेका छैनन, अदालतबाट न्याय पाइन्छ भन्ने जनविश्वास घट्दै गएको छ । एनसेल काण्ड होस् कि बालुवाटार जग्गा प्रकरण, वाइडबडी होस् कि सुन काण्ड, सबैमा राजनीतिले बीचबचाउ गरिरहेको घामजत्तिकै छर्लङ्ग छ । यसकारण पनि नेपालमा विधिको शासन कर्मकाण्डीमा सिमित हुनपुगेको छ ।
रौतहट हत्याकाण्डले मानवाधिकार, प्रशासन, प्रहरीमात्र होइन, समाजको मानवीय संवेदनालाई समेत ठूलो चोट दिएको छ । जंगलीराजको नमूना हो यो । आगोमा हालेर मान्छेलाई जिउँदै जलाउनेलाई राज्यले जोगाउने ? यो काण्डमा सर्वशक्तिमान आयोग गठन गरेर छानबिन हुनुपर्छ । मृतकका नातेदार समसुल मियाँ भन्छन्– राज्यशक्ति दोषीलाई उन्मुक्ति दिने कार्यका लागि दुरुपयोग गरियो ।
उनको यो आवाज आमनागरिकको आवाज पनि हो । न्यायको गुहार लगाउने यो आवाजलाई विधिको शासन चलाउनेहरुले बुझ्ने, सुन्ने कहिले ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper