banner
banner

तीतो अनुभव शिक्षा पनि हो

गंगा दाहाल -
चीनका राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण भयो । राष्ट्रपति सी चिनफिङले राष्ट्रपति, प्रधानमन्त्रीमात्र होइन, ठूला दलका नेताहरुसँग पनि भेटवार्ता गरे, नेपाल र नेपालीका कुरा सुने । यही क्रममा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डसँग पनि राष्ट्रपतिको भेटवार्ता भयो । भेटपछि प्रचण्डको अनुभूतिले झस्काएको छ ।
प्रचण्डले आफ्नो अनुभूति चितवन पुगेर सुनाएका छन्– सीले तिमीहरु अराजक छौ भनेझैं महसुस गरेको छु मैले । चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई भेटेर भने, ‘शासन सञ्चालन गर्न कम्युनिस्ट पार्टीले पहिले आफूभित्र स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ । यो हाम्रो अनुभव हो । पार्टीमा छलफल गरेर निर्णय भएपछि नौ करोड पार्टी सदस्यले कार्यान्वयन गर्ने वातावरण बनाएका छौं । अनि, सिंगै पार्टी जनताको सेवामा खटिएको छ । यदि प्रत्येक पार्टी सदस्य जनताको सेवामा खट्ने वातावरण बनाउन नसकेको भए एक अर्ब ६० करोड जनतालाई खुसी, सन्तुष्ट बनाएर राख्न सम्भव थियो त ? प्रचण्डले भनेका छन्– महामहिम राष्ट्रपति सीले यसो भनिरहँदा आफूलाई नेकपाका नेता कार्यकर्तालाई तिमीहरु स्वार्थी छौं, अराजक छौं’ भने झै लाग्यो । भन्नलाई चिनियाँ नेताहरुले आफ्नो उदाहरण भनेका होलान्, मलाई चाहिं आलोचना गरेको जस्तो महसुस भयो । त्यहाँ मैले कुनै प्रतिक्रिया जनाइन, तर मलाई लाग्यो– हाम्रो त आठ नौ लाख पार्टी सदस्यलाई नियन्त्रण गर्न नसकेर जसलाई जे मन लाग्यो त्यही गर्ने, जसलाई जे मन लाग्यो त्यही भन्ने भइराखेको छ । ३ करोड जनतालाई पनि खुसी पार्न सकेका छैनौं । राष्ट्रपति सीले तिमीहरु अराजक छौं भनेको हो कि जस्तो लागेको छ ।
अहा, आत्ममिमांसा सबैभन्दा महत्वपूर्ण पक्ष हो नेकपाका लागि । चुनाव जितेर सरकार बनाएको झण्डै दुई वर्षमा नेकपाको ठूलो आलोचना भइरहेको छ । नेकपा कहाँ चुक्यो, किन जनता र प्रतिपक्षको नजरमा कमजार भइरहेको छ, यही कुरामा ध्यान दिनका लागि चीनका राष्ट्रपति सी चिनफिङले सुझाएका छन् । नेपालमा भरपर्दो सरकार नै चीनका लागि भरपर्दो मित्र र सुरक्षा कवच पनि हुनसक्छ । शायद त्यसैका लागि महामहिम राष्ट्रपतिले नेकपाका नेताहरुलाई कूटनीतिक नरमताका साथ सम्झाएका हुनसक्छन् । व्यापार गर्ने र धन थुपार्ने कम्युनिष्ट हुँदैनन् भन्ने राष्ट्रपति सीले नेपालमा आएर जे संकेत गरेका छन्, त्यसबाट अलिकति पनि शिक्षा लिने हो भने नेकपाले जनाधार बढाउन जम्प गर्न सक्छ । आजको आवश्यकता इमानदारीता र जवाफदेहीता नै हो । यत्ति भयो भने नेकपाको शासनमा भ्रष्टाचार व्यापक भयो भन्ने गुनासोको अन्त हुनसक्छ ।
न भूतो न भविष्यति । त्यस्तो लोकप्रियताको शिखरमा छ नेकपा । प्रजातन्त्रको डंका पिट्नेहरुसमेत नेकपाको चुनावी सफलताबाट आत्तिएका छन् । कसरी नेकपालाई छिर्की लगाएर जनताले दिएको राष्ट्रिय जिम्मेवारीबाट खगार्ने भन्ने नै प्रतिपक्ष र कम्युनिष्ट बिरोधीहरुको एकमात्र लक्ष्य रहेको छ । यसप्रकारका अभिष्टहरुलाई चिर्नका लागि समेत स्वच्छता र समानताका साथ सुशासन दिनेतिर नेकपाको ध्यान जाने हो भने बिरोधीहरु जसरी निर्वाचनमा पराजीत भए, आगामी दिनमा नेकपाको जनप्रियताबाट अझ पछारिनेछन् । स्मरणीय के पनि छ भने चीनका राष्ट्रपतिको सुझावमा अमल नगरे नेकपा आफैबाट हार्नेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper