banner
banner

अव कांग्रेसमुक्त नेपाल

शाश्वत शर्मा -
विश्लेषकहरु भन्न थालेका छन्– अव कांग्रेसमुक्त नेपाल हुनेछ । कम्युनिष्टले दुःखै गर्नु परेन, सभापति देउवाले नै कांग्रेसको कलमी गरिदिए । कार्यकर्ता अराजक, सभापति अपराधीको संरक्षक, सक्किगो नि । २०६४ साल चैत २७ गतेको राजपुरमा २२ जनालाई जिउँदै इटाभट्टाको चिम्नीमा पोलेर मार्ने आरोपित कांग्रेसभित्रका सुजाता पक्षीय सांसद मोहम्मद आफताव आलम १२ वर्षपछि प्रहरीको फन्दामा परेका छन् । यसपछि धेरैलाई लाग्यो– खोलो फर्कियो ।
कांग्रेस सिध्याउन लागिपरेका सभापति देउवालाई सांसद पक्राउ परेको अपाच्य भयो र उनले भाषण ठोकिहाले– यो कांग्रेसविरुद्धको षडयन्त्र हो । १२ वर्ष अघिको कुरालाई लिएर अहिले कार्वाही गर्न पाइन्छ ? सभापतिले यति के भनेका थिए, देउवाको दिमागी हालत चिन्ताजनक भएछ भन्ने हावा विश्वभरि फैलियो ।
२२ जनालाई जिउँदै जलाउनेजस्तो जघन्य अपराध गर्ने आरोपितलाई कारवाही गर्न पाइन्न भनेर प्रजातन्त्रवादी पार्टीका सभापति शेरबहादुर देउवाले शेर गर्जनजसरी बोल्नु आफैमा अपराध थियो । तत्कालीन प्रम गिरिजाप्रसाद कोइराला बितिसके, गृहमन्त्री थिए कृष्णप्रसाद सिटौला । सिटौलासमेत आफू फस्ने भएपछि यो पक्राउलाई ग्य्राण्ड डिजाइन देख्छन् । कांग्रेस सिध्याउने खेल देख्छन् । योभन्दा दिवालियापन अरु केही होला ?
आफ्नो भनाईको बिरोध भएपछि सभापति देउवाले आफ्नो पूर्व भनाइ सच्याएका छन्, अनुसन्धानमा सघाउने बताएका छन् । यति हुँदा पनि देउवाको बिरोध चुँलिदो छ ।
सभामुख महरा यौनकाण्डमा फस्दा खुच्चिङ भन्ने कांग्रेसमाथि नै बज्रपात हुनपुगेको छ । २२ जनालई जिउँदै जलाइयो, प्रत्यक्षदर्शीदेखि जाहेरीवालालाई मारियो । जो बाँचेका थिए, तिनले हुलाकबाट अदालतमा जाहेरी पठाए, प्रहरीले समेत पीडितको आवाज सुनेन । १२ वर्षसम्म पैसा र शक्तिका आडमा जोगिएका आलम अव भने कठघरामा पुगेका छन् । यद्यपि उनको पैसाको कमाल, उनका पक्षमा नाराबाजी जारी देखिन्छ । कस्तो देश होला यो ?
रौटहट नरसंहारका पीडितहरु सम्पर्कमा आएका छन् । निष्पक्ष छानबिन गर्न जनदबाब बढेको छ । मानवाधिकारवादीहरु पनि सक्रिय भएका छन् । बाहुबली सांसद आलमलाई भेट्न भारत विहारका एक सांसद पनि आएको चर्चा छ । ओली सरकारले दुई वर्षको अवधिमा बल्ल एउटा राम्रो काम गरेको छ । अपराधी छुट्दैनन्, कारवाही हुन्छ भन्ने सन्देश दिएको छ । बिगत १२ वर्षमा रौटहट कमाण्डमा खटिएका १४ एसपी जसले जाहेरी लिएनन्, तिनीहरुमाथि पनि अनुसन्धान गरेर कारवाही हुनुपर्छ । सत्य सेवा सुरक्षाको सपथ खानेहरुमाथि कारवाही भएन भने असत्य गर्नेको बिगबिगी हुनेछ । प्रहरी झन झन बदनाम हुँदै जानेछ ।
त्यतिबेलाका प्रहरी महानिरीक्षक ओमविक्रम राणा थिए, उनको जानकारीमा पनि यो काण्ड छ, रातारात प्रहरी एसपीको सरुवाले पनि यो कुरा प्रमाणित हुन्छ, उनीमाथि समेत अनुसन्धान हुनु जरुरी छ । उनीपछिका प्रहरी हाकिमहरुले किन यति ठूलो नरसंहारको फाइल लुकाएर राखे, यो गम्भीर विषय हो । आफ्नो जिम्मोवारी पूरा नगर्ने अधिकारी जो सुकै हुन्, तिनीहरुमाथि कानुनी कारवाही हुनैपर्छ, तवमात्र बिधिको शासन र लोकतन्त्रको इज्जत पनि रहला ।
निश्चित रुपमा सधै गुटमा रलमलिएको नेपाली कांग्रेसलाई रौतहट काण्ड र आलमको नरसंहार चरित्रले ठूलै धक्का दिएको छ । भन्नेहरु त आलममात्रैले यो घटना घटाउने आँट गर्नै सक्दैनन्, यसमा पक्का पनि कांग्रेसका उपरका नेताहरुको समर्थन र सहयोग छ भन्छन् । झन आलमको पक्षमा देउवा र सिटौलाको बक्तव्य सार्वजनिक भएपछि शकाको सुई झन धारिलो बनेको छ । शक्तिशाली छु भन्दैमा जे पनि गर्ने छुट कसैलाई पनि हुँदैन । यदुबंशी चरित्रमा देखिएका कांग्रेसीहरु अव अन्तिम अवस्थातिर पो देखिन थाले ।
रामचन्द्र पौडेल नातावाद, जहाज खरिदकाण्डमा मुछिएका थिए भने देउवा अनेक भ्रष्टाचारसहित यो हत्याकाण्डमा मुछिएको देखिएपछि देउवामाथिसमेत कारवाही हुनुपर्छ भन्ने आवाज जनस्तर र पार्टीस्तरबाटै उठेको छ ।
सुजाता कोइरालाबाट हटेर देउवा क्याम्पमा पुगेका आलमले यतिसम्मको अमानवीय काम गरेपछि सुजाता कोइारलाले देउवा कांग्रेसका लागिमात्र होइन, देशकै लागि अयोग्य भएको टिप्पणी गर्न थालेकी छिन् । लाग्छ देश अव चाँडै नै कांग्रेसमुक्त हुनेवाला छ । आफै आफै झगडा गर्ने, अपराधी संरक्षण गर्ने र भ्रष्टाचारमा मात्र रमाउने कांग्रेस ०१५ सालमा सराप बन्यो, ०७६ सालमा आएर नरसंहारकारी पो साबित हुनपुग्यो । कठै कांग्रेकसको नियति ? – शाश्वत शर्मा

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper