banner
banner

सीको सफल भ्रमण

शाश्वत शर्मा -
२०७६ को दशैं अनेक कारणले यादगार भयो । सामाजिक अभियन्ता ज्ञानेन्द्र शहीले चितवनमा कुटाइ खाए, सभामुख कृष्णबहादुर महरा हिरासतमा पुगे र अन्त्यमा चिनियाँ राष्ट्रपतिले २३ वर्षपछि नेपालको राजकीय भ्रमण सम्पन्न गरे । दशैंताका यसै पनि समाचारको खडेरी पर्छ, यसपटक चैं राम्रै खुराक पाएका छन् मिडियाले ।
दशैंको टीका लगाउन राष्ट्रपतिकोमा भन्दा पूर्वराजाको मा नेपालीहरुको बढी भीड लाग्यो, प्रधानमन्त्री र नेतागणले पनि राजा बनेर समर्थकलाई टीका लगाइदिने होडबाजी नै गरे । अष्टमीका दिन पूर्वराजा शक्तिपीठहरुमा दर्शन गर्न जाँदा जनताले लगाएको नारा सुन्दा र पूर्वराजाको अनुहार हेर्दा उत्साहमात्र देखिन्थ्यो । बाँकी भगवान भरोसे ।
त्यसो त यो दशैंमा महँगी, चोरी र यात्रुबस दुर्घटनाले शोक पनि बढायो । यी सबै आन्तरिक घटनाक्रम भन्दा पनि चिनियाँ राष्ट्रपति सी चिनफिङको २ दिने नेपाल भ्रमणले भारतलाई मात्र होइन, अमेरिकासम्मलाई तताएको देखियो । यही मौकामा अमेरिकी राजदूतले इण्डो प्यासिफिक रणनीतिको व्याख्या गरेको भिडियोसमेत सार्वजनिक भयो । नेपालले सुनिरह्यो ।
सधैंं दक्षिणको भारतबाट प्रताडित भइरहेको र यही दशैंमा घर फर्कन लाग्दा नेपालीहरु सीमामा लुटिएका कारणले पनि चिनियाँ राष्ट्रपतिको स्वागतमा व्यापकता देखियो, भव्य स्वागत भयो । राष्ट्रपतिले दिल खोलेर नेपाललाई भूपरिबेष्ठित होइन, भूजडित देश बनाउन र विकासशील मुलुक भएको हेर्न चाहेको अभिव्यक्ति र सहयोगको उदारता पनि देखाए । रात्रिभोजका बेलामा राष्ट्रपति सीले नेपाल र चीनवीच कुनै समस्या नरहेको उल्लेख गरे । तर त्यही चीनसँग लिपुलेकको मामिला नेपालले उठाउन सकेन । रेलमार्ग, सुरुङमार्ग र चीनले भूजडित देश बनाउन सहयोग गर्ने भनेको विषय र अनुदान दिएको ५६ अर्वजस्ता ठूलठूला कुरामा नै नेपाल सरकार मख्ख परेको देखियो । नेपाल र चीनको सम्बन्ध उचाइमा पुगेको भनिरहेछ सरकार । उचाइमा पुगेको सम्बन्धलाई कायम राख्न नेपालले खुट्टा लरबरायो भने... ।
नेपाल आउनुअघि भारतको चेन्नई पुगेका राष्ट्रपतिले काश्मिर समस्या उठाएनन्, नेपालले लिपुलेक समस्या उठाएन । होलीवाइन काण्ड र परराष्ट्रमन्त्रीको अमेरिका पुगेर इण्डो प्यासिफिक रणनीतिमा सहमति गरेर आएपछि चीनका राष्ट्रपति नआउने बहस चलेको थियो, तर आश्चर्य भयो । नेपालमा चीनको पनि सुरक्षा चासो छ र सी बीआरआईमार्फत नेपालबाट सिंगो विश्व हेर्न चाहन्छन् भन्ने स्पष्ट हुनपुगेको छ ।
१४ छिमेकी रहेको चीनले नेपाललाई महत्वपूर्ण छिमेकी भनेको छ । ०४६ साल र ०६३ सालको परिवर्तनपछि ओझेलमा परेको नेपाल चीन सम्बन्धलाई चीनको सक्रियतामा तातो बनाइएको छ र यसको प्रमाण सीको भ्रमण हो । चीन बीआरआईलाई सफल पार्न आक्रामक कुटनीति अपनाइरहेको छ । सधैं भारततिर लहसिएको नेपाली राजनीतिज्ञहरु बाध्यताले चीनतिर ढल्केको देखिएका छन् । यहीकारण चीनले इमान खोजिरहेको संकेत गरेको छ भने भारत नेपाल चीनको कति नजिक पुग्यो भनेर प्रश्न गर्न थालेको छ । विश्लेषकहरु पञ्चायतविरुद्ध भारतले नाकावन्दी गरेको विषयको चर्चा गर्दै गणतन्त्रमा पनि भारतले नाकावन्दी गरिदिएको विषयका कारण भारत नेपालको हित होइन, आफ्नो स्वार्थ हेर्छ भन्ने प्रमाणित भइसकेको बताउँछन् । यहीकारणले गर्दा पनि नेताहरु सुरक्षाकै लागि चीनतिर पनि लहसिएको बताउँछन् । जेहोस् बडो कठिन परिश्रमबाट चीनका राष्ट्रपति नेपाल भ्रमण गराउन सफलता मिलेको छ । प्रत्येक स्तरबाट नेपाल एकचीन नीतिमा अडिग छ, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता बकाइएको छ । केही सहमति कार्यान्वयन होलान् नहोलान, वाचा ढिलाचाँढो पूरा होलान्, प्रष्ट के भयो भने चीनले नेपाललाई उच्च प्राथमिकता दिएर नेपालमा चलखेल गर्ने भारतलगायतका सबै शक्तिशाली मुलुकहरुलाई जोल्ट दिएको छ ।
चीनसँग साह्रै निकट रहेर सम्बन्ध विकास गर्ने महेन्द्र, वीरेन्द्र र सार्कमा चीनलाई भित्र्याउन खोज्दा सति गएका ज्ञानेन्द्रको नामसम्म उच्चारण नहुनु कन्जुस्याइ हो । चीन र नेपालतर्फबाट सम्बन्ध विकासमा राजतन्त्रको पनि योगदान थियो भन्दा न नेपालको लोकतन्त्र डगमगाउने कुरा त थिएन । इतिहास त इतिहास नै हो, मेटेर मेटिएला र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper