banner
banner

पार्टी सुध्रिएनन्, जनता सुध्रिनुप¥यो

शाश्वत शर्मा -
राजतन्त्र फर्कने भयो भनेर चर्चा खुब चुलिएको छ । प्रचण्डले अनायास नागार्जुन दरवारबाट निकालिदिने धमास दिएपछि चर्चा चुलिए पनि नातिनातिनाको पढाइका लागि थाइलेण्डतिर पूर्वराजा लगे पछि नेकपाभित्र पद विभाजन भयो र तेश्रो बरियताबाट धकेलिएका माधव नेपालले मुख खोलेका छन्– पुरानो व्यवस्था फर्काउने चलखेल सुरु भयो । यिनै माधव नेपाल हुन्, जसले मदन भण्डारीको शैलीमा राजनीति गर्ने भए पार्टि खोलेर आउ भनेका थिए ।
०६३ सालको परिवर्तनपछि राजनीतिक दलहरु मुलुक हाँक्न असफल र असक्षम हुँदै गएपछि पूर्वराजा लोकप्रियताको शिखरमा पुगेका छन् । पूर्वराजालाई गाली गरेपछि आफ्ना असफलता ढाकिन्छन् भन्ने भ्रम अझै नेताहरुमा छ । संविधान जारी गरे मृत प्रायः भइसक्यो । संसद र सरकार छ, प्रभाव शून्य हुँदै गयो । जुन अवस्था ०१७ सालमा थियो, अहिले त्यस्तै अराजक स्थिति सिर्जना भइसकेको छ । फरक यत्ति छ, त्यतिबेला कांग्रेसको बलबती सरकार थियो, अहिले नेकपाको दुई तिहाइको सरकार छ । त्यतिबेला राजा गद्दीमा थिए र सेना साथमा थियो । आज राजा जंगलमा छन् र जनता साथमा देखिन्छन् ।
सेना स्पष्ट छैन, संविधानले निर्दिष्ट गरेको भूमिका सेनाको हुन्छ भनिरहेको छ । देशको स्थिति नाजुक भइसक्दा र सुरक्षा दयनीय भइसक्दा पनि सेना प्रष्ट हुनसकेको देखिदैन । मुलुक बर्बाद भइसक्दा सेना कमजोर हुनु, टुलुटुलु हेरेर बस्नु भनेको दुर्भाग्य हो । मुलुक रसातलतिर गइसक्दा पूर्वराजाले चिन्ता के लिएका छन्, उनीमाथि अरिंगाल बर्सन्छन् । साँचो भन्ने हो भने पूर्वराजा असल नागरिकको सीमाभन्दा एकइन्ची पनि तलमाथि छैनन् ।
हामी जनता पनि उस्तै छौं । सार्वभौम जनताको हैसियतमा पुग्ने कहिले ? भ्रामक कुरामा होहल्ला गर्ने, आफैमाथि र देशमाथि खतराको घण्टी बजिसक्दा पनि चुपचाप हेरेर बस्ने ? जो गलत छन्, तिनलाई सत्तामा पु¥याएर खप्परमा हात राखेर पश्चाताप गर्ने र चुनाव आयो कि तिनैलाई मतदान गर्ने हामी नै हौं । संविधान निर्माण गर्दा जनताले सुझाव दिए, ती सुझावलाई रद्दीको टोकरीमा फालियो, जनता पटक्कै बोलेनन् ? हामी नेपाली कस्ता ?
देश निर्माताको शालिक फुटाउने, नेपालको झण्डा फेर्नुपर्छ भन्ने, टोपीमा थुक्नेहरुलाई हामी नेता बनाउँछौं र छुट दिन्छौं । बिखण्डन र बिभाजनकारीलाई लोकतन्त्रवादीको मुकुट लगाएर अँगालो मारेको हेरिरहन्छौं । भ्रष्टाचार र अनियमितताका, हत्या, बलात्कार र हिंसाका घटनाहरु, तस्करी र माफियाकरणका घटनाहरुबारे चुप्पी साधेर बस्छौं । सरकार यो के गरेको भनेर सोध्दैनौं ? हामी कस्ता नागरिक ? कति सार्वभौम नेपाली ?
नेपाल र नेपाली भन्ने त नारामात्र हो । चपाउने त माल, स्वार्थ हो । जनतामा चेतना छ । सबै दुस्कर्मबारे जनता जानकार छन् । तर बोल्दैनन् । यही नबोल्दा यसलाई कमजोरी ठान्ने राजनीतिक नेताहरुले जनताको नसामा पसेर जुकाले झैं रगत चुसिरहेका छन् । चिया पसलदेखि तारे होटलहरुमा समेत सरकारको नालायकीबारे कुरा हुनछ । अफसोस, यो हदसम्मको बिकृति र बिसंगति हटाउ भन्न जनता सक्दैनन् । जनता राजा देख्यो कि राजा आउ देश बचाउ भन्छन्, त्यसपछि मौन हन्छन् । हिन्दुवादीहरु हिन्दुराष्ट्र हुनुपर्छ भन्छन् तर संघर्र्ष गर्दैनन् । हिन्दुराष्ट्र र राजतन्त्रलाई सिद्धान्त बनाउनेहरु पनि कोरा नारावाजी र प्रदर्शन गर्छन् साँच्चिकै वारपारको बिद्रोह गर्न सक्दैनन् ।
नेपाली जनताको विवेकको बिर्को खुल्ने कहिले ? यिनै असक्षमहरुको रमिता कहिलेसम्म हेरिरहने ? वास्तवमा नेपाली जनतामा नै कमजोरी छ, विश्लेषकहरु जनता जस्ता छन्, त्यस्तै नेता पाउने हुन् भनेका छन् । भ्रष्ट र अनैतिक नेताहरुलाई उक्साउने जनता नै हुन् । जनता जागरुक नहुने हो भने नेता अझ भाँडिनेछन्, अझ नेताहरु नङ्गानाचे हजार दाउ खेल्नेछन् । १३ वर्ष भइसक्यो, जनताले यिनलाई जिम्मेवारी सुम्पेको । यिनीहरु त सम्पन्न भए, देश र जनता नाङ्गेझार पारेर । अझै जनता सहेर बस्ने ?
सेना मौन रहेको र पूर्वराजालाई राजनीतिक दलहरुले थिचोमिचो पारेर देश र जनता लुटिरहने रणनीति बनाएकाले देश र जनताको स्वाभिमान, सार्वभौमिकता र अस्तित्वको रक्षा गर्ने दायित्व जनताको काँधमा आइसकेको छ । जनताले निर्णय गर्ने र विद्रोह नगर्ने हो भने देश बच्ला र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper