banner
banner

किन छोरै चाहिने होला ?

अधिवक्ता गंगा दाहाल -
समाजमा छोरै चाहिने चिन्तन यसरी ढुंगे छाप बनेर बसेको छ कि यही हो महिलामाथिको सबैभन्दा ठूलो हिंसा । छोरा पाउने कि छोरी ? यो महिलाको मात्र दोष होइन,  प्रकृतिले मिलाउने विषय हो । यसमा महिलालाई मात्र छोरो पाइन भनेर दोष दिने जुन परम्परागत सोच छ, त्यसमा अव सुधार गर्नैपर्छ । महिला हिंसा रोक्ने हो भने हिंसाको जरो छोरै चाहिने मानसिकता हो, यसमा कडा कानुन, कडा सुधारात्मक कार्यक्रम र संसददेखि सरकारसम्ममा चेत फिर्नुपर्छ ।
अहिले पनि पहाड, तराईमा छोरी जन्मदा पीडाबोध गर्ने र छोरा जन्मियो भने भोजभत्तेर, बाजागाजा गरेर पर्व मनाइने परम्परा छँदैछ । अझ छोरी जन्माइ भने घरनिकाला गर्ने, खान नदिने, हेलाँ गर्ने प्रवृत्ति पनि बाक्लैछ । गाउँ किन, राजधानीमै पनि छोरा पाउनै पर्ने बाध्यतामा छन् महिलाहरु । यहीकारणले गर्दा आधुनिक विज्ञानको ज्यादा प्रयोग गरेर गर्भमा छोरा छ कि छोरी भनेर जाँच गर्ने र छोरी भए भ्रुण हत्या गर्ने गरिन्छ । कानुनले बन्देज लगाए पनि भित्रभित्रै यो कूकर्म भइरहेको छ र सपथ खाने डाक्छर पैसा खाइरहेका छन् । छोरा छोरी बराबर भनेर भाषण गर्ने, बौद्धिकता छाँट्नेहरुमा पनि यो दोष बाक्लै छ ।
पहाड र तराईमा छोरी पाउने महिलामाथि जुन अत्याचार गरिन्छ, लोग्नेले छोडिदिन्छन्, सौता हाल्छन् र महिला अवला बनेर बस्ने बाससम्म पाउँदिनन्, यो पीडावोध महिला अधिकारकर्मीले कहिले गर्ने हो ? महिला अधिकारकर्मीहरु तीज मनाउँछन्, छठ देवीको पूजा गर्छन्, लक्ष्मीको आराधना गरेर सम्पन्नताको लागि धूपदीप गरेर थाक्दैनन्, यसमा समाज र सरकार, सामाजिक प्राणी र राजनीतिज्ञहरु कोही पनि अछुत छैनन्, तर तिनै महिलामाथि गर्भदेखि नै महिलाको बाँच्ने अधिकारमाथि धावा बोलिरहेका हुन्छन् । यो अत्याचारको जड भनेको छोरै चाहिन्छ भन्ने परम्परागत सोच जिम्मेवार छ । यो सोच बदल्ने कसरी ? यसमा देशव्यापी बहस र छलफल हुनुपर्छ र कानुनको पालना नगर्नेलाई दण्ड दिइनुपर्छ । त्यो आत्मबल, त्यो नैतिक बल कानुनमा छ कि छैन, देखिन्न । देखिएको छैन ।
छोरी जन्मिदा विभेद र अमानवीयताको पराकाष्ठा भोग्ने महिला कति छन् छन् । हरेक वर्ष छोरी जन्माएको आरोपमा घर निकाला भएका पनि छन् । कतिलाई मारिने र मर्नैपर्ने बाध्यतामा पनि पारिन्छन् । एउटी नारी माइतीघर छाडेर जीवनको सुख खोज्न लोग्नेको घर जान्छे, छोरी पाई भनेर लोग्न परिवारको खप्की खाएर ज्यूँदै मरेतुल्य जीवनको किनारामा पुग्छे । यसमा कानुन जिम्मेवार छैन ? सरकार र संसद जिम्मेवार छैन ? हामी सबै जिम्मेवार छैनौं ।
तराई र कर्णाली लगायतका क्षेत्र महिलामाथिको हिंसाको ज्यूँदो तस्वीर हो । तराईमा त दहेजको प्रभावले गर्दा छोरी जन्मदा रुने चलन पनि छ । पहाडमा त महिलालाई छोरा जन्माउने कारखानाकै रुपमा हेरिन्छ । यो दुस्चक्रलाई रोक्ने जिम्मेवारी हामी सबैको हो । जबसम्म यो दुस्चक्र रोकिन्न महिलामाथिको हिंसा र महिला अधिकारको रक्षा सुरक्षा कोरा कल्पनामात्र हुनेछ । विश्लेषक र अनुन्धानकर्ताहरुका अनुसार जो बढी शिक्षित छन्, तिनीहरु महिलामाथिको हिंसामा सबैभन्दा अगाडि देखिन्छन् । शिक्षितमै विवेक यसरी मरेको छ भने अशिक्षित समाजमा महिलामाथि कुन हदसम्मको अन्याय हुने गरेको होला ? सोचौं त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper