banner
banner

किसानमाथि माफियाकरण

शिव सिग्देल -
युरिया मल र उखुको व्यथा जटिल बन्दै गएको छ । सरकारको सफलता र असफलता, शासन र कुशासनको मापन पनि यही दुई विषय बिश्लेषण गर्दा देखिन्छ, भेटिन्छ । जुन सुरकार किसानको कुरा सुन्दैन, त्यस्तो सरकार कसरी लोकसरकार हुनसक्छ ? अचम्म छ ।
खेती गर्ने समयमा जुनसुकै वर्ष पनि मलको हाहाकार हुन्छ । मल माफियाकरण भएकैले सरकारले मलको समुचित प्रवन्ध गर्न नसकेको हो । मल जत्ति पाइन्छ, डबल पैसा दिएर कालो बजारमा किन्न गयो भने । सर्वसाधारण भारतको नक्कली मल अथवा कम ओजनको नेपाली बितरकबाट मल किन्छन्, त्यो पनि बढी मूल्यमा । सहज रुपमा मल वितरण गर्ने प्रवन्ध सरकारले कहिल्यै गर्न सकेन ।
यसको अर्थ मल माफियासँग सरकारमा बस्नेको सेटिङ छ । सेटिङ आफैमा भ्रष्टाचार हो । सरकारको काम किसानलाई चाहिने बेलामा मलको प्रवन्ध गर्नु हो, सरकारले सहकारीलाई दिदा समेत सहकारीमासमेत माफियाको लामो हात पुग्यो र युरिया २५ सय र डिएपी ६२०० सम्ममा कालोबजारी गरेको थाहा पाएपछि र व्यापक उजुरी परेपछि सरकारले स्थानीय सरकारकै मातहत विक्री वितरण गर्ने निर्णयमा पुगेको छ । स्थानीय निकायमा पनि भ्रष्टाचार फैलदै गएको छ ।
ठूलो समस्या उखु किसानको पनि छ । उखु किसानले ७ वर्षदेखि उखु बेचेको मूल्य पाएका छैनन् । नेकपाको सरकार किसानमुखी हो, किसानको कुरा सुन्छ र उत्पादन बढाउने सोच राख्छ भने उखु किसानले उखु मिलहरुबाट किन मूल्य पाएनन्, यसमा ध्यान जरुरी छ । बल्ल बल्ल उखुको मूल्य तोक्छ र आफैले तोकेको मूल्यसमेत लागू गराएर किसानलाई समयमै तिनको उत्पादनको मूल्य किन पाएनन् भनेर सरकारले सोच्दैन । उखु मिलवालाहरु किसानको पसिनामा वर्षौंदेखि मजा लुटिरहेका छन्, किसान खान नपाएर ऋणको व्याज तिरेर मर्णान्त भइरहेका छन् । किसानको पीडा सरकारले बुझ्दैन भने बुझ्ने कसले ?
कृषि प्रधान देश नेपालमा किसानको जुन हविगत छ, त्यो कुनै मुलुकमा पनि छैन । किसान उखु बेच्छ र सात वर्षसम्म मूल्य पाउँदैन । किन पाएन भनेर संसदमा कुरा उठ्छ, सरकार एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छ । किसानको मर्काको कुरा सुनेर सरकारले त्यसमा एक्सन लिदैन भने यसको अर्थ चिनी कारखानावालासँग सरकारको मिलेमतो छ भनेर मान्नैपर्छ । अन्यथा सरकारको निर्णय किन लागू भएन, सरकारले छानबिन गर्नुपर्छ कि पर्दैन ?
किसानहरु आत्महत्या गर्न र जो बाँचेका छन्, तिनले उखु उत्पादन गर्न छाड्न थालेका छन् । उखु पनि भारतबाट आयात गरेर चिनी उत्पादन गर्ने, योभन्दा दुःखद कुरा के हुन्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper