banner
banner

अव चाडै केही हुदैछ

शाश्वत शर्मा -
संकेतहरु हेर्दा लाग्छ, मुलुक एकपल्ट फेरि कोल्टे फेर्न लागेजस्तो छ । १३ वर्ष अघिदेखि गरिएका कुनै पनि शासन व्ववस्थाका अंगहरुले काम गर्न नसकेपछि र अझ भन्नुपर्दा, मुलुकको परम्परागत शक्तिलाई विभेद गरेर एकलौटी ढंगले अघि बढ्न खोज्दा परिवर्तनका गन्तव्य कता हो कता हुनपुग्यो । वर्तमान गणतान्त्रिक संविधानका हिमायतीहरु नै अव आफूहरुलाई सच्याउन खोज्दैछन् भन्ने भान विश्लेषकहरुले गरेका छन् ।
स्थिति आजै समालिनसक्नु भइसकेको छ, भोलिका दिनमा आउनसक्ने अझ संकटपूर्ण अवस्थाको मापन गरेर गणतन्त्रवादीहरु सुधारोन्मुख हुनथालेको अनुमान गर्न सकिन्छ ।
गत शुक्रवार वर्तमान सरकारका रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वराजाको निवासमा नै गएर भेटेको भन्ने सनसनीपूर्ण समाचार प्रकाशमा आइसकेपछि माथि परिस्थितिले पल्टा खान थालेको देखिन्छ । यो समाचारको कसैले खण्डन गरेका छैनन् । त्यसो त राजधानीका निर्वाचित सांसदका हैसियतले मतदाताको घरमा पुगेर सन्चो बिसन्चो सोध्नु सामान्य कुरा हो । यद्यपि भात भान्सा बार्नेहरु आज महाराजगञ्जमा पूर्वराजाकै दैलोमा पुग्नुको सन्देश अर्थपूर्ण हुन्छ नै । स्मरणीय छ, राष्ट्रपति भवनमा राष्ट्रपति विद्या भण्डारीले छोरीको विवाहमा निम्त्याइएका पूर्वराजा जाँदा ईश्वर पोखरेल मर्काका नेताहरु छड्किएर बसे र लोकेन्द्रबहादुर चन्द, प्यारजंग थापा, पशुपति शमशेरहरुसँग  चियापान गरेर फर्केका थिए । 
अकस्मात पूर्वराजाको घरेमा पुगेर अप्रत्यासित मेलमिलाप ? पछिल्लो समय पूर्वराजाको सम्पर्क बढ्नु, भेटघाट बढ्नु र समर्थकहरु सक्रिय भएपछि त्यसलाई रोक्न अनुरोध गर्न गएको हल्ला पनि छ । पूर्वराजा आफै अनुशासित छन्, मन्दिर गइरहेका छन् र भेट्न आउनेका कुरा सुनिरहेका छन् । कुनै असंवैधानिक कदम चालेकै छैनन्, सरकार थरहरि हुनथाल्यो । दालमा केही न केही कालो छ ।
यसकारण पनि सरकार डराएको हुनसक्छ कि संविधानले काम गर्न छाडिसक्यो, पार्टीहरु आन्तरिक कलहमा छन् र सरकार असफल भइसकेको छ । बिदेशीहरुसमेत नेपाली नेता र शासकका क्रियाकलापबाट आजित भएका छन् ।
आउँदो भदौ ४ गते भारतीय विदेशमन्त्री डा.एस जयशंकर नेपाल आउँदैछन् । उनले भारतका लागि नेपाली राजदूतलाई भेट्न ३ महिना लगाएर जे संकेत गरेका थिए, उनको नेपाल भ्रमणमा पनि त्यसको कालो छायँ देखिने नै छ । भन्नलाई नेपाल भारत संयुक्त आयोगको बैठक भने पनि जय शंकरले दिने जोल्ट दह्रै हुनसक्छ । यही मौकामा अन्य मन्त्री र प्रधानमन्त्रीलाई पनि भारतीय विदेशमन्त्रीले झस्काएर जाने अनुमान गर्न सकिन्छ । संविधान जारी गर्न ३ दिन रोक भन्दा फास्ट ट्य्राकमा जारी गरेर यिनै ओली प्रधानमन्त्री बनेका थिए, त्यो राग जय शंकरको भ्रमणमा अनुभव हुनेछ ।
त्यतिबेला असफल भएपछि भारत सरकारले नेपालमाथि नाकावन्दी नै लगायो । जसका कारण एमाले देशभक्त देखियो र चुनाव जित्यो । नेकपा बनेपछि देशबिरोधी काम गर्न थालेको छ ।
विदेश मन्त्रीको भ्रमणले भारतका प्रम नरेन्द्र मोदीको नेपाल भ्रमण पनि मिलाएर फर्किनेछन् । मोदी लुम्बिनी जान चाहन्छन् र दलाई लामालाई लुम्बिनीमा अवतरण गराएर नेपाल चीन सम्बन्धमा अमिलो निचोर्ने भारतीय रणनीति हुनसक्छ । त्यसै पनि यो वर्ष चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउन सक्ने समाचार ग्लोबल टाइम्सले छापिरहेको छ ।
नेपालको राजनीति स्थिर हुनसकेन, तरल छ । यहीकारण पनि शक्तिशाली छिमेकी क्रियाकलापले नेपालमा अर्को राजनीतिक परिवर्तन हुनसक्ने वातावरण बन्दै गएको छ । नेपालको विदेशनीति र संविधानले चीन र भारतको स्वार्थ रक्षा गर्न नसकेपछि दुबै मुलुक छटपटिएका कारणले पनि अर्को परिवर्तनको छनकमनक देखिन थालेको हो । पश्चिमा राइँदाइँ रोक्न नसके भारत र चीन बिखण्डनको मारमा पर्न सक्छन्, नेपाल त बर्बाद हुन्छ हुन्छ । नेपालको हिम्मत, हैसियत र ताकत बढाउन पनि भारत र चीन बढी अनुकूल बनेर देखापरेको विज्ञहरुको ठहर छ ।
नेपालका नेताहरु स्वार्थका हुन्, विश्वासिला छैनन् भन्ने बुझेर नै चीन र भारत नेपाल मामिलामा एक भएको हुनुपर्छ । १३ वर्षदेखि राजनीतिक खिचडी देखिएकै छ । कतै ईश्वर पोखरेलले हाइजम्प गर्न खोजेका त छैनन् ? भारतीय नेताहरु नेपाललाई हिन्दुराष्ट्र देख्न चाहन्छन् भने छिटै नेपालमा अर्को परिवर्तनको रुपरेखा कोर्न थालेछ भनेर बुझ्नुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper