banner
banner

सरकारको लोकप्रियता कता बढेछ ?

धर्मरत्न श्रेष्ठ -
सत्ताधारीहरुको आँखामा मोतीविन्दु भएछ कि के हो, नेकपाका अवसर पाएका सबै एकै श्वरमा भन्न थालेका छन्– ओली सरकारको लोकप्रियता बढेको छ रे ।
कता बढेछ लोकप्रियता ? सुनकाण्डमा कि जहाज खरिद कमिशनमा ? निर्मलाको बलात्कारपछि हत्यामा कि हत्यारा लुकाउने साजिसमा ? भ्रष्ट ठेकेदारको संरक्षणमा कि सिण्डिकेटको निर्णय लागू गर्न नसकेकोमा ? कि संवैधानिक अंगहरुलाई भ्रष्ट पार्न र राजनीतिकरण गरेर सर्वदलीय सिण्डिकेट चलाउनमा ?
शासन प्रशासनका सबै अंगहरु भ्रष्टाचार र अनियमितताले गलित छन् । कतै पनि स्वस्थता छैन । समृद्ध नेपाल र सुखी नेपाली नारामा सिमित छ । हावाबाट बिजुली, पानीजहाजदेखि भान्छासम्म ग्यासका पाइप जोड्ने रमाइला चटकहरु आइरहेका छन् । जसले सरकारको बिरोध गर्छ तिनलाई प्रधानमन्त्री नै अपशव्द बोलिरहेका छन् । कार्यकर्ताहरुलाई प्रतिरोध गर्न उक्साइरहेका छन् ।
सरकार चलाउनेले जनताको कुरा सुन्नुपर्छ, जनताको अपैक्षामा ध्यान दिनुपर्छ र दैनिक प्रशासन चलाउने मात्र होइन, देशमा परिआएका दैनिक समस्याको समाधान गर्दै चुनावमा बेलामा जनतालाई घोषणापत्रमार्फत दिएका आश्वासनहरु कसरी पूरा गर्ने गराउने भनेर सोच्नुपर्छ, कार्यान्वयनमा उत्रनुपर्छ ।
डेढवर्ष भयो चुनावपछि बनेको यो सरकार । डेढवर्षमा यो सरकारले गरेको एउटा पनि कार्य छैन, जुन जनतालाई देखाउन सकियोस् । पहिले भूकम्पबाट पीडित जनता, यतिबेला बाढी पहिरोबाट घरबारबिहीन हुनपुगेका छन् । भारतले बनाएको बाँध, सडकका कारणले गर्दा सीमा मिचिएकोमात्र छैन, सीमा क्षेत्रका नेपाली गाउँहरु, बालीहरु डुबानमा परेका छन् । परराष्ट्र मन्त्री भन्छन्– भारतसँग गम्भीर भएर कुरा उठाइने छ । कुरा उठाउने भाषण होइन, कूटनीतिक पहल किन हुनसकेन । सीमा समस्या राजनीतिक र कूटनीतिक रुपमा समाधान गर्न सक्नुपर्छ, हल्ला गरेर यो विकराल समस्या, सीमा मिचिएको समस्या, सीमामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको समस्या समाधान हुनसक्दैन । सरकारमा चेत होस् ।
मुख्य सवाल भनेको १८ महिने सरकारले के ग¥यो र यो सरकारको लोकप्रियता बढेछ । जनमत पाएर बनेको सरकारको लोकप्रियता जनमनमा बढ्नुपर्छ । सरकार छ भन्ने अनुभूति गर्न नपाएका लोकले यो सरकारप्रति विश्वस्त हुनै सकेको छैन । जब सरकारको विश्वास घटेको छ भने सरकारको लोकप्रियता कसरी बढ्छ ?
हो, सिंहदरवारको वातानुकूलित कोठामा बसे योजना सफल भएको ग्राफ ताने झैं यो सरकारको विकास पनि कागजमा भएको भए सत्ताधारीलाई थाहा होला । लोकलाई यो सरकारको लोप्रियता बढेको एउटा पनि अनुभव छैन, चेतना रहोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper