banner
banner

स्थिति किन परिवर्तन भएन ?

अधिवक्ता गंगा दाहाल-
राजनीतिक परिवर्तन भयो, जुन कव्जियत थियो ०६३ साल वैशाख ११ गतेसम्म त्यो कव्जियत खुल्यो र परिवर्तन भयो । त्यो परिवर्तन सहजरुपमा ०७६ साल साउनसम्म आइपुगेका छौं । यस वीचमा किनारा लागेका राजाले अथवा हिन्दुधर्म चाहिन्छ भन्नेहरुले नै कुनै बाधा व्यवधान गरे । हो, आवाज उठ्यो । माँग उठ्यो । तर, राजनीति सलल पानी बगेजस्तै गरी बगेको छ ।
दुई पटकको संविधानसभाको निर्वाचन सहजै सम्भव भयो । दुई पटक संविधानसभाको निर्वाचन गरेर संविधान बनाउने नेपाल पहिलो मुलुक हो । संविधान जारी भएपछि निर्वाचन सम्पन्न भएको पनि २ वर्ष भइसकेको छ । संसदीय निर्वाचनको डेढवर्ष व्यतित भएको छ र केपी ओलीको नेकपा नेतृत्वको सरकार यतिबेला चलिरहेको छ । व्यवस्था रुपान्तरण भयो । पञ्चायतबाट बहुदल बनेको थियो, बहुदलको नयाँ नामकरण गरेर लोकतन्त्र राखिएको छ । पञ्चहरु थिए, बहुदलबादी सत्तामा गए । बहुदलबादीहरु त उनै छन्, तिनीहरु लोकतन्त्रवादी बनेर आए । लोकतन्त्र सहज रुपमा सञ्चालन  भइरहेको छ । प्रचण्ड र माधवकुमार नेपालका अनुसार अव लोकतान्त्रिक स्थानीयदेखि प्रदेश र संघीय सरकारको काम र परिणममको विश्लेषण गर्ने बेला भयो । जनताले जुन अपेक्षा राखेका थिए, पार्टीहरुले जुन प्रतिवद्धता व्यक्त गरेका थिए, त्यसमा तलबितल भएरै सुधारको सम्भाबना सत्तारुढ दलभित्रैबाट आएको हुनुपर्छ । यति नै बेला प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार कमीकमजोरीहरु सुधार गरेर अघि बढ्न प्रधानमन्त्री तैयार छन् ।
अर्थात व्यवस्था रुपान्तरण हुँदैमा राष्ट्रको अवस्था परिवर्तन हुने होइन रहेछ । राष्ट्र रुपान्तरणका लागि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन मुख्य विषय हुनेरहेछन् । तिनै विषयहरुमा रुपान्तरण हुननसक्दा आज सत्तारुढ दलभित्रै र सरकार प्रमुखले समेत आत्म मिमांसा गर्न तैयार भएको स्थितिले जन्म लिन पुगेको छ । घण्टाघरको घडीको सुई रोकिएको छैन । कसैले रोक्न खोजेर पनि समयको गति रोक्न सक्ने कुरा भएन । माथिका रुपान्तरणका चार विषयको सूत्रवद्ध सफल कार्यान्वयनका लागि विवेक र दूरदर्शिता, इमान र इच्छाशक्तिको उत्तिकै जरुरत पर्छ । प्रधानमन्त्रीले देखाएका सपनाहरु सुन्दा हेर्दा गौरव लाग्छ तर परिणाम निस्कन नसकेकाले राष्ट्रव्यापी चिन्ता र चासो बढेको छ । यही चिन्ता र चासोको हाँमा हाँ प्रधानमन्त्री, अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले मिलाएका छन् । लाग्छ, आगामी दिनमा बिगतको अनुभवले उहाँहरुलाई मार्गदर्शन गर्नेछ र परिणाममा असल सरकार र सुशासनको झल्काहरु अनुभूति गर्न पाइनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper