banner
banner

किन सुरक्षित छैनन् छोरी ?

देवी काफ्ले -
भरखरैको ताजा समाचार अनुसार रुपन्देहीको दुईवटा फरक फरक घटना घटे दुबैमा पिडीत महिला नै हुन् पिडक पुरूष । एउटा घटना दुई युवतीलाई सांझ सात बजेतिर नास्ता खान भन्दै चिनेको एक पुरूषले रेष्टुरेन्टमा बोलाउँछ । नौ बजेसम्म बसेर घर पुर्याईदिन मोटरसाइकलमा बसालेर केही पर पु¥याए पछी मोटरसाइकल रोकेर केही कुरा गर्नुछ भन्छ अनि युवतीमाथी बलात्कारको प्रयास गर्छ । युवती चिच्याएपछी नजिकै गाउँबाट लाठी लिएर १०–१२ जनाको युवा जत्था आउँछ जसमध्ये कोही कर्मचारी पनि थिए । त्यसपछी उनीहरूले पालैपालो बलात्कार गर्छन् । अन्त्यमा भनिस् भने जे पनि हुन सक्छ भनेर धम्क्याउँछन् ।
त्यसैगरी अर्को घटनामा युवायुवती प्रेममा पर्छन् । उनीहरू एक अर्कालाई छोड्न चांहदैनन् । बिवाहको कुरा चले पछी केटी चांही केटाभन्दा तल्लो जातकी र गरीब भएको कारण हत्या गरीन्छ । हत्या गर्ने प्रेमी भनाउँदो असिरूद्धिन मुसलमान र नीजको परीवार हो । मृतक शवनमको  जात र धनसंग जोखिंदा वजन पुगेन । मृत्यु बरण गर्न बाध्य बनिन् ।
सप्तरी सिराहामा लगभग श्रृंखलाबद्ध बुहारीहरु मारीए जसको मूल कारण दाइजो थियो । बिहेमा दिएको दाइजो कम भए पछी दिनानुदिन दाइजोको माग बढाउने दिन सकेनन् भने मट्टीतेलमा दन्काउने, घाँटी थिच्ने, पंखामा झुण्ड्याउने, अति कठोर मानसिक यातना दिएर आफै बिष सेवन गर्न बाध्य पार्ने र बुहारीबाट छुट्कारा पाउने यो नियती नै बनेको छ तराईमा  । जतिपनि हत्या हुन्छ आफन्तबाटै, स्वयं लोग्नेबाटै हुन्छ ।
बलात्कारको बिषयमा त झन् भयावह अवस्था छ । जन्मदिने बाबुले छोरी समेत छोडेको छैन, हजुरबाउले नातिनी छोडेको छैन । दाजुले बहिनी , मामाले भान्जी छोडेको छैन, शिक्षकले बिद्यार्थी छोडेको छैन,छिमेकीले छिमेकी बच्ची छोडेको छैन ,प्रहरीले युवती, हुँदाहुँदा गाडीका चालक, सहचालक मिलेर गाडीभित्रै युवती जबरजस्ती गरेका घटना दैनिकी जस्ता भइसके ।
आखिर यतिका अत्याचारको सामना किन गर्नुपर्छ छोरीले ? अब हामीले बिश्वास कसलाई गरौं ? हाम्रो सुरक्षा कसले गर्ने ? हामी सुरक्षित कहां छौं ? 
हाम्रो समाजले छोरीलाई छोरा बराबरको दर्जा कहिले दिएन । छोरी गर्भदेखि नै असुरक्षित छन् । जब गर्भमा हुन्छे तब भ्रुण परीक्षण गरी छोरी देखिएमा तुरुन्त भ्रुण हत्या गरिन्छ । यस धर्र्तीमा आउने अधिकारबाटै बन्चित गरिन्छ । यसरी भ्रुण हत्या गर्दा न त डाक्टरले, न परीवारले, न  बाबुले, न स्वयं आमाले नै अपराध महसुस गर्छन् । भ्रुण हत्या डाक्टरको लागि कमाउने भाँडो, परिवारलाई बोझ हल्का हुनु, बाबुको समस्या समाधान हुनु र आमालाई आफूले भोगेका दुःख कष्ट र माथि उल्लेखित घटनाहरूबाट बचाउने अबतरण हो ।
गर्भमा हुँदा भ्रुण हत्या, जन्मन्छे बा दाजुभाई अनि सामाजिक मर्यादाको जंजीरले कसिन्छ । जब यौवन अवस्थामा पुग्छे प्रेमी तथा पति सासु ससुरा र फेरी अर्को नयाँ सामाजिक दायराको सामना गर्नुपर्ने हुन्छ । ऊ स्वतन्त्र बाँच्न कहिले पाउने ? आफूखुशी प्रेम गर्नु पाप मानिन्छ भने बिहे त महापाप ठानिन्छ । जुनसुकै परिवेशमा पनि पुरूषको बराबर निर्णय गर्न छुट छैन ।े समाजमा घट्ने घटनाको धेरै भागको सजायं निर्दोष हुँदाहुँदै पनि महिलाले नै बेहोर्नु परेको अवस्था छ । प्रेम गरोस् प्रेमीले उसँग यौन प्यास मेटाएपछी बिभिन्न बहानामा चरीत्रहत्या गरी मर्न बाध्य बनाउँछ । बिहे गरोस् दाइजो नामको भौतिक साधनसंग तुलना गर्दै मोलमोलाई हुन्छ । यदी मोल मिलेन भने उसले प्राण आहुती दिनुपर्छ । त्यतिबेला छोरी सुन, काठका सामग्रीसंग तुलना हुन्छे कस्तो बिडम्वना ? के छोरी पाल्दा र छोरा पाल्दा फरक परीश्रम लाग्छ र ? छोरीको मूल्य कम छोराको बढी हुने ? पराईघर जाँदा बुहारीले दाइजोमा के ल्याई भनेर नियाल्ने समाजका मनुष्यहरू जन्मघरमा के के छोडेर आइ कसैले नियाल्छ ?
भौतिक साधनसँग तुलना गर्नेहरूलाई के थाहा छोरी हुनुको महत्व ? आफ्नो यौनदासीको रूपमा देख्ने कुपात्रलाई के थाहा छोरीको महत्व ? अझै पनि छोरी पढाउनु भनेको उसलाई सक्षम र आत्मनिर्भर अनि स्वाभिमानी बनाउन होइन की बिबाहको बजारमा मूल्य बढोस् भनेर पढाएको देखिन्छ । ए समाजका ठेकेदारहरू छोरीलाई मानिसको रूपमा कहिले देख्छौ ? संबिधानमा महिला हक अधिकार प्रशस्त ब्याख्या गरीए पनि त्यसका बाहक नै महिला महिला अधिकारको खिल्ली उडाउन पछि पर्दैनन् ।
पुरूषले जति महिलासँग रंगरेलिया मनाएर हिड्दा पनि पुरूषार्थी भनेर हौसला प्रदान गर्ने हामी महिलालाई कसैसँग बोलेकै भरमा पनि रण्डीको उपमा दिन्छौं । यस्ता सोंचले महिलालाई हेर्ने दृष्टिकोण कहिले बदलिन्छ ? संबिधानले पुरूष बराबर हकको ब्यवस्था गरे पनि ब्यावहारिकतामा महिला सधैं दोस्रो दर्जामा रहेको पाइन्छ । पुरूषले बलात्कार गर्छ तर अनि महिलालाई बेश्याको उपमा दिइन्छ । ईज्जत बचाऊनका लागि अपराध चुपचाप सहन बाध्य हाम्रै परीवार, हाम्रै समाजले पार्छ । बालिका, महिला बलात्कार गर्ने पुरूषले सजाय पाइ हाल्यो भने पनि तोकिएको सजाय सकिएपछी ऊ खुलेआम हिंड्छ तर त्यसको मानसिक र सामाजिक सजायं त महिलाले जीवनभर भोगिरहेकी हुन्छे । सत्य यही हो ।
निर्णायक मिटिंङ होस, सभा होस् महिलाले ल्याएका योजनालाई चुरा बजेको भन्नेहरू त्यही कुरा पुरूषले बोल्यो भने पररर.. ताली बज्छ । अनि महिला संकुचित हुन पुग्छिन् ।
जबसम्म महिला आर्थिक, राजनैतिक र शैक्षिक रूपमा सबल हुन सक्दिनन् तब सम्म छोरीको अबतरण सुरक्षित हुँदैन । महिलाको कमाईलाई अतिरिक्त कमाई ठान्नेहरूको सोंच बदल्नु पर्छ ।
समाजमा जुनजुन तगारो छोरीमाथि लगाइन्छ त्यसको केही अंश पनि छोरालाई लगाइन्छ भने छोरी सुरक्षित होलिन् केही हद सम्म ।
फेरी अर्को भयावह घटना घट्यो रौतहटमा एउटा अपराधी बाबुले छोरीलाई बिमा रकम पाउने लोभमा चार बर्षिया छोरी लक्ष्मीको घाँटी च्यापेर हत्या ग¥यो । यस घटनाले के दर्शाउँछ भने छोरी पैसा कमाउने साधन हो मरेर होस् या जिउँदो होस् । अनि छोरी बोझ हो जसरी पनि छोरी दोस्रो दर्जाको बस्तु हो उसलाई पुरूषले जसरी खेलाए पनि हुन्छ  । यदी त्यही ठाउँमा छोरा हुन्थ्यो भने बाउले मार्ने थियो होला त ? छोराको पालनपोषण खर्च, पढाई खर्च सबै लगानी त उ जवान भए पछी बिहेमा तोकेर अर्को घरकी छोरीबाट अशुल उपर हुन्छ भन्ने मानसिकता बोकेरै छोरो स्याहार गर्ने थियो । समाजमा यतिसम्मको कुरिती ?
 आज हामी कुन मानसिकता बोकेर गौरवान्वित छौं ? हामी नै अनभिज्ञ छौं । आरक्षणका कोटा पाएर मक्ख ! आरक्षणबाट माथिल्लो ओहोदामा पुगेकाहरूले पूर्ण रूपमा महिला मुक्त देख्नुहुन्छ कि क्या हो । महिला मुक्ती र अधिकारका बिषय उठान गर्नु पर्दैन उहाँहरूले ? अनि महिला संगठनहरूको काम कर्तब्य र अधिकार के हो ? के सबै महिलालाई सांगठनिक गर्न सकिएको छ ? अनि एनजिओ, आइएनजिओको काम के हो ? यिनिहरूले पर्याप्त मात्रामा महिला शसक्तीकरणका काम गरेका छन् त ?
हुन त सबै महिला सोझै छन्, अनपढ र निरीह छन् होइन । केही महिलाहरूका कारण आज कतिपय घरमा बिचल्ली परेका छन्  । महिलाको प्रमुख शत्रुको रूपमा स्वयं महिला नै सौताको रूपमा देखिएका छन् । यी कान्छी बन्ने होडबाजीमा महिलालाई तुच्छ बन्नु परेको छ । यिनलाई कसरी त्यो गलत प्रभावबाट बाहिर निकाल्ने समस्याको बिषय हो ।
सबै तह र तप्काका मान्छे, सामाजिक अभियन्ता, महिलावादी संगठन, एनजिओ आइ एनजिओ छाउगोठ भत्काउँदैमा महिला शसक्तीकरण हुँदैन । समस्या खडा गरेर डलरको खेती छोडेर टड्कारो रूपमा समग्र महिलाको हितमा काम गर ।जनचेतना फैलाउँ । उनलाई तिमी पनि मानिस हौ भन्ने आभाष गराऔं । आर्थिक र सामाजिकीकरणमा पोख्त बनाऊं । ताकी घरघरमा छोरीमाथि गर्व.गरियोस् ।
अबको बेला भनेको भ्रुण परीक्षण गरेर छोरी हत्या होइन गर्वसाथ छोरी स्वीकार्नु ठीक हो । सबैभन्दा पहिले यो कुरा परीवारले बुझ्नुप¥यो । अनि समाजले छोरीलाई दोस्रो दर्जामा हेर्नु भएन । राज्यले पैसा र पावरको आडमा छोरीमाथी दमन गरोस् । अपराध गर्ने अपराधीको अगाडी न्याय नझुकोस् । ता की भोली फेरी कुनै निर्मलाको अपराधी पत्ता नलागेर छोरीहरू आफूलाई असुरक्षित नठानुन् । कुनै मनिषाले दाइजोको तराजुमा जोखिन नपरोस् । कुनै शवनमले गरीवी र कथित जातीय बिभेदका कारण अकालमा मर्नु नपरोस् । साथीको अबिश्वास गर्नु नपरोस्  । परीवार, समाज र देशैभरी सुरक्षित महसुस गरेर खुला आकाशमा हिंड्न पाउन् । अनि हरेक बाबाआमाले भनुन् हाम्री छोरी हाम्रो आशा र हाम्रो भरोसा । हाम्रो गौरव ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper