banner
banner

जता हेर्यो ह्वाङ्गै, लाजमर्दो लोकतन्त्र

राजन कार्की -
१० वर्षे जनयुद्ध, ०६३ सालको १९ दिने जनआन्दोलन, ०६५ सालको गणतन्त्र कार्यान्वयन र ०७२ सालको संविधानप्रति लोकले गर्व गर्दैनन् । ती सबै घटनाक्रमप्रति सर्वसाधारणहरु पश्चाताप गर्छन् । प्रायाश्चित्त गर्न‘पर्ने नेतृत्व बर्ग असफलताको शीरमा भ्रमको मयुरपंखे श्रीपेच लगाएर मुस्कुराइरहेका छन् । मानौं, यी मूर्ख बादशाह हुन्, जो नयाँ लुगाका नाममा नाङ्गै छन् । बादशाहलाई लज्जाबोध छैन, देख्ने लोक सरकारको यो नङ्गा नाचे हजार दाउ देखेर लज्जित छन् ।
बसन्त परिवर्तनपछि देशमा हौसला थियो, पानी नपाएको विरुवाजसरी म¥यो । बसन्त नै आएन, त्यत्तिकै ऋतु परिवर्तन सत्ता फर्ने कोतपर्वभन्दा भिन्न रहेन । लोकतन्त्र राणा शासनजस्तोमात्र हुनपुग्यो । लोकतन्त्रप्रति गौरव कसैलाई छ भने सत्तासीनलाई मात्र छ । लोकतन्त्र लोकका लागि हुनुपर्ने, दलका नेता कार्यकर्ताका लागि बक्सिस हुनपुग्यो । पञ्चायत निरंकूश थियो, बहुदल वाकवाकी बनेको थियो, लोकतन्त्र त उल्टी नै हुनथालेको छ । देश र जनताको मुहारमा परिवर्तनको झल्को सम्म देखिन्न । परिवर्तनको नेतृत्वकर्ताहरुले राजनीतिलाई व्यापार बनाइदिए । व्यापारी, पसले, फौबञ्जार मुनाफाखोर हुन्छन् । बनियाको देश हुन्न, व्यापारीका लागि मुनाफा नै सबैथोक हो । नेतृत्व बर्गको पनि देश छैन, सत्ता, स्वार्थ, सम्पत्ति र आफन्तमात्र छन् । यिनमा जे छ स्वार्थपूर्तिमात्र छ ।
यिनले संविधान आफै घोषणा गरे, संविधान कुल्चेर आफूलाई संविधानभन्दा माथि देखाए । जर्ज अरवेलले भनेका थिए– एनीमल आर इक्वेल, सम एनीमल आर मोर इक्वेल । हाम्रो राजनीतिक नेतृत्व भिन्न जीव हुन् । विवेकहीन जीव हुन् ।
यिनलाई राष्ट्रप्रति गौरव छैन । माटोप्रति ममता छैन । जनताप्रति जिम्मेवारी छैन, संविधानप्रति आस्था छैन । कर्तव्यप्रति उत्तरदायित्व छैन । संविधान कानुनले, कानुनलाई ऐनले र ऐनलाई परिपत्रले थिच्छन्, यिनका लागि विधिको शासन हात्तीको देखाउने दाँतमात्र हो ।
जब सर्वोच्च अदालत सर्वदलीय देखिन्छ, अख्तियारलाई सरकारको हनुमान बनाइन्छ, निर्वाचन आयोग सरकारको इसारामा हुन्छ, हुन्न भन्छ, महालेखाको रिापेर्ट राष्ट्रापति बुझ्छिन् र सरकार दराजमा थन्क्याउँछ । राजदूत पद लिलाम बढाबढ हुन्छ । राजनीतिक प्रभावमा प्रशासन चल्छ । प्रधानमन्त्रीको आदेशमा सभामुख संसद चलाउँछन् । सुरक्षा निकायसमेत राजनीतिको भ्रष्ट कालो छायाँमा लठ्ठिन्छ । यस्तो संघीय लोकतान्त्रिक गणतन्त्रलाई गौरवपूर्ण कसरी मान्ने ? लोकतन्त्रमा त असामाजिक तत्वले छुट पाउन्न, तस्कर माफिया जेलनेलमा पर्छन् । भ्रष्टतत्व दण्डित हुन्छन् । सेटिङमा चल्ने चलाउने, विकृति फैलाउने कानुनको दुश्मन मानिन्छन्  । लोक आकांक्षा, अपेक्षा, आवाज प्रताडित गर्नेहरु सरकारमा छन्, प्रभाबिला छन्, सरकारका सहयोगीका रुपमा छन्, सल्लाहकार हुँ भन्छन्, अपराधिकरण व्याप्त लोकतन्त्र जिन्दावाद कसरी भन्ने ?
जनताले यिनैलाई पटक पटक मौका दिएका छन् । विकल्प भएर वा नभएर, भ्रममा परेर वा भर गरेर, जनताले यिनैलाई चुनाव जिताए । जनताको विश्वासलाई कायम राख्न नसक्नु नेताहरुको अकर्मण्यता हो ।
दोष नेताहरुमा छ । यही दोषका कारण नेताहरुले जनविश्वास गुमाइरहेका छन् । नेताहरुलाई जनता घृणा गर्न थालेका छन् । यस्तो घृणित राजनीतिक नामको प्राणीहरुलाई दयामात्र गर्न सकिन्छ । दयापात्रले हाँकेको लोकतन्त्र लुटतन्त्र बनिरहेछ, लोकतन्त्र कसरी जनगौरव हुनसक्छ ?
लोकतन्त्र मीठो व्यवस्था बन्नुपर्ने थियो, असाध्य रोग साबित भइसक्यो ।
हो, त्यसैले लोकनेताहरु ख्यातीको शिखरबाट घृणाको खाडलमा खस्दैछन् । मनलागी सपना देखाउने, दयनीय शासन चलाउने र जे जंग चल्छ त्यही निर्णय गर्ने जंगेशैली बढेको छ । मनपर्दी विधेयक ल्याउने, अविवेकी अनेक निर्णयहरु गरेर अधिनाकयकी राजनीतिक पात्रका रुपमा सत्तासीनहरु स्थापित हुनपुगेका छन् । यसैवीच राजनीतिक स्थिरता दिनुको साटो सत्रासीनवीच नै पालैपालो सरकार चलाउन पाउनुपर्छ भनेर द्वन्द्व बढ्नु र ध्रुविकरण हुनुले राजनीति दुर्घटनाउन्मुख हुनपुगिसकेको छ । त्यसो त बिधि र मर्यादा पालना नगर्दा संविधान दुर्घटना परिसकेको स्थितिमा राजनीति दुर्घटनामा पर्देछ भन्नु के आश्चर्य भयो र ?
ठूलो दोष प्रतिपक्षीको पनि छ । सानो आकारमा खुम्चिनु परेको होस्, विपक्षी त विपक्षी नै हो र उसले सरकारलाई खबरदार गर्नैपर्ने हो, कमजोर छु भनेर आत्मग्लानीमा परेकै कारण सरकारले जनविरोधी, संविधान विरोधी, धर्मविरोधी विधेयक ल्याएर म सर्वसत्तावादी हुँ भनेर फुइँकी हाँक्ने साहस गर्नसक्ने थिएन । कमजोर प्रतिपक्षी सत्तापक्षको ब्रम्हास्त्र बनिदिँदा स्थापित पद्धति बिधिले होइन, दुई तिहाइको आदेशले चल्ने हुनपुग्यो । लोकतन्त्र ल्यायौं भन्नेहरुले गर्व गर्न नसक्ने पद्धति संरक्षक बिनाको टुहुरो बन्न पुगेको छ ।
परिवर्तन यसकारण देशका लागि सराप बन्यो कि नेता तत्कालको स्वार्थबाट निर्देशित हुँदा राजनेताको अभाव खट्किन पुग्यो । राजनेता थिए भने ती देशको बृहत्तर स्वार्थबाट प्रेरित भएको देखिनुपथ्र्यो । देखिएन । राजनीतिक मैदानमा जो छन्, ती गल्लीका सान्चा पहलमानभन्दा भिन्न छैनन् । जसले सर्वसाधारणलाई भयको नागपासले बेरेर राखेका छन् ।
देशका लागि दिल्लीमा गरिएको १२ बुँदे सम्झौता ग्रहण नै हुनपुग्यो । लोकतन्त्रप्रति प्रत्यक्ष भारत र अप्रत्यक्ष पश्चिमा मुलुकहरुलाई एम्पायर बनाइरहेको छ । यसको अर्थ जो हाम्रा नेता छन्, ती मैदानमा देखिने खेलाडीमात्र हुन् । जनताले लडेर ल्याएको देखिने र दानमा पाएको अर्थ लाग्ने लोकतन्त्र देशको सुदूर भविष्यका लागि हातको सफाइमात्र बनेको छ । १३ वर्षमा १० थान सरकार बन्नु र चुनावबाट आएको दुई तिहाइको सरकार समेत कानै चिरिएको जोगी हुनु भनेजस्तो नेतृत्व निर्णायक होइन भन्ने प्रत्यक्ष प्रमाण हो ।
वीपी र मदन भण्डारीको दर्शनमात्र मरेन, नेतृत्वको मुटुभित्र नेपालीत्व समेत मरेका अनेक घटनाक्रम हाम्रा सामु छन् । नेपाली हित र हकका लागि, सार्वभौमिकता र स्वतन्त्रताका लागि नेतृत्व उभिनै सक्दैन, भिजेको परालखुट्टे देखिन्छ, यस्तो राजनीति भनेको ब्रम्हनालमा पुगेको देख्नहरुले देखेका छन् । केही गर्ने बेलामा विदेशीको परिक्रमा गर्ने र आन्तरिक रुपम घुर्की र भाग शान्तिमा रमाएको देख्दा यस्तो नेतृत्व न भाग्य हो, न भविष्य । यिनले सुखी नेपाली, समृद्ध नेपालको बैतर्णी तार्दैनन् । जो देश र जनता भाडमे जाय गरिरहेका छन्, नैतिकहीन तत्वमात्र हुन् ।
देशका प्रधानमन्त्री नै हास्य कलाकार बन्छन् । भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाइन्छ, भ्रष्टाचारी देख्नासाथ टिपेर फाल्छु भन्छन् । वाइडबडी काण्ड, सुन र हत्याकाण्ड, बलात्कार काण्ड, एनसेल काण्ड, नेपाल ट्रष्टको सम्पत्ति दुरुपयोग काण्ड, नाटकीय इन्काउण्टर काण्ड, इसाइकरणको होलीवाइन महामारी, अनेक नीतिगत र अनियमित भ्रष्टाचार प्रकरण खुलस्त देखिन्छ, शून्य सहनशील प्रधानमन्त्री हेरिरहन्छन्, प्रधानमन्त्री आफूले आफैलाई बुख्याँचा बनाइरहेका छन् । गाईजात्रा देखाइरहेको छैनन् त ?
मिडिया काउन्सिल विधेयक र मानवाधिकार आयोगलाई अरौटे बनाउने नियतले ल्याएको विधेयक, गुठी विधेयकले सरकारको कालो आकांक्षा अव प्रष्ट भइसकेको छ । प्रधानमन्त्रीका सल्लाहकार सत्ता उल्टाउने साजिस भइरहेको दोष देखाउँछन् भने सरकारमा बस्ने मन्त्रीहरु जनविद्रोहलाई राजाले किनेर ल्याएको जुलुस देख्छन् । यी सबै सरकारका भनाइ र गराइले राजनीति र संविधान दुबै दुर्घटनामा प¥यो भन्न सकिन्छ । दुई पाइलटले चलाएको नेकपा जहाज र ओली नेतृत्वको दुई तिहाइको सरकार असफल, अलोकप्रिय र राष्ट्राविरोध साबित हुन डेढवर्ष पनि लागेन । देशमा स्वतन्त्र चिन्तक छन्, विचारक छन् भने तिनले अव के ? भन्ने विषयमा गहन विश्लेषण गर्न जरुरी छ ।
लोकतन्त्रको लाठीले लोकलाई सताउने सरकार र नेताहरुलाई सित्तैमा एउटा सल्लाह– सुभाषचन्द्र बोसले विवाह नगरेपछि उनका सहयोगीहरुले सामुहिक रुपमा यो कुरा उठाए– नेताजी तपाई किन विवाह गर्नुहुन्न ? भारतमा अंग्रेजको शासनकाल । सुभाषचन्द्र बोसले भने– विवाह त म अहिले नै गर्छु, तर मलाई दाइजो चाहिन्छ, मैले माँगेको दाइजो दिने कसले ? सहयोगीहरुले भने– तपाईलाई छोरी र दाइजो दिन धेरै तैयार छन्, भन्नोस् तपाईलाई के दाइजो चाहियो ? मलाई दाइजोमा मेरो देशको स्वतन्त्रता चाहियो । कसले दिनसक्छ मलाई स्वतन्त्रता ? त्यसपछि सबै चुप लागे ।
आज त्यही भारत नेपालमा अंग्रेज बनेर सताइरहेको छ । त्यही भारतको १२ बुँदे जालमा नेताहरु र नेपाललाई पारिएको छ । सुभाषचन्द्र बोसलाई चाहिएजस्तै नेपालीलाई नेपालको स्वाधिनता, सार्वभौमिकता र स्वतन्त्रता चाहिएको छ । त्यो दिने कसले ? कुनै नेता दिन तैयार छैनन् भने जनता एक भएर नेपालीत्व जगाउने, जोगाउने बेला यही हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper