banner
banner

जनताको प्रधानमन्त्री कि हनुमान सेनापति ?

धर्मरत्न श्रेष्ड -
प्रधानमन्त्रीले सरकारको विरोध गर्ने कुनै कुरा नपाएर मास्क लगाएर बिरोध गर्न थाले भन्दा नेकपाका नेता कार्यकर्ता मरीमरी हाँसेर बसे । यो हाँसो समर्थन हो भन्ठानेका छन् प्रधानमन्त्रीले ।
सहन गर्न नसकेर प्रतिपक्षी सांसदले प्रधानमन्त्रीलाई सिंहदरवारदेखि बालाजुसम्म आफ्नो मोटरसाइकलमा बिना मास्क चढ्न चुनौती दिइन् । यो चुनौतीको जवाफ कुनै नेकपाका सांसदले दिएनन् । हाँसीरहे । मानौं नेकपामा हनुमानहरुको कमी छैन र प्रधानमन्त्री तिनका सेनापति हुन् । सेनापति हुनु त देशको हुनु, जनताको आवाज सुन्ने सेनापति हुनु । जनताको आवाज नसुन्ने यो कस्तो लोकसेनापति ?
आगो बलेपछि खरानी हुन्छ, अति गरेखति हुन्छ । यत्ति सानो कुरा बुझ्न प्रधानमन्त्रीले १७ महिनामा पनि सकेनन् ।
सुनकाण्डदेखि बलात्कार हत्या काण्डसम्म, करछुट, भ्याट छलीदेखि फोरजी हुँदै जहाज खरिदकाण्ड सम्म पनि सरकारलाई जनताले सहेकै थिए । जब गुठी बिधेयक र मिडिया काउन्सिल बिधेयक आयो, मेडिकल विधेयकजसरी जबरजस्ती गर्न खोज्ने सरकारलाई जनताले स्वाद चखाइदिए । खबरदार, सरकार ढल्नसक्छ, ढाल्न सक्छौं भनेर जब जनता सडकमा उत्रिए, सरकारको सातो गयो । सञ्चारमन्त्री गुठी बिधेयक फिर्ता हुन्न भन्दै थिए, अव सरकार ढल्छ भन्नु दिवा सपना हो भन्न थालेका छन् ।
यसैवीच नेकपाका नेता युवराज ज्ञवालीले भनेका छन्– खिचातानी बढ्यो, यसैगरी खिचातान बढ्ने हो भने गणतन्त्र जान्छ, सरकार पनि ढल्छ । गुठी त आगोको झिल मात्र हो, सरकारका जे जति निर्णय छन्, सबै देश र जनताविरोधी भएकाले डढेलो सल्कन सक्छ र खरानी हुन बेर छैन ।
जनता जाग्नु भनेको आगो बल्नु हो । आगो बल्नु भनेको खरानी हुनु हो । जनतालाई दास बनाउन खोज्नेहरुले अहिले नसोचे खरानी हुन तैयार भए हुन्छ । समयको आवाज हो यो ।
जनजनमा छलफल हुन थालेको छ । पुराना जति छन्, सुध्रेलान्, गतिलो काम गर्लान् भनेको त्यो आश हरायो अव । नयाँ छान्नुपर्ने र नयाँलाई अवसर दिएर पुराना फाल्नुपर्ने बेला आयो । जनताको यो कुरा कांग्रेसका नेता रामचन्द्र पौडेललाई अपाच्य भएछ, उनी पहिलो बिरोधकर्ता भएका छन् । नेता कहिले बुढो हुन्न रे ।
बुढो सोच हो । जनयुद्ध र जनआन्दोलनका जो जो अगुवा थिए, ती सबैले अवसर पाए र अवसरलाई अवसरवाद बनाएर लुटे । लुटियो देश र जनता । देश र जनताले अव प्राणमात्र लुटाउन बाँकी छ । यसैले जनतावीच छलफल सुरु भएको हो, पुरानालाई नफाल्ने हो भने सुख, समृद्धि र शान्ति सम्भव छैन ।
जनताले पत्याएका व्यक्ति हनुमानगिरी मन पराउँछन् भने यस्ता हनुमान सेनापतिले देशलाई पार लगाउन सक्दैनन्, किनभने यो त्रेतायुग होइन, आधुनिक युग हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper