banner
banner

शिक्षाको भोकजस्तै होस् विकास

अधिवक्ता गंगा दाहाल- 
आमा पहिलो शिक्षिका, आधा आकाश, धर्ती, सन्तानको सुखको सपनाबाहेक आमाको आँखामा अरु केही हुन्न । आमाको मुटुमा सन्तानलाई आशीर्वादमात्र हुन्छ । आमा शिक्षित हुँदा सन्तान झन कति सुखी, समृद्ध र अर्जुनदृष्टिवाला हुनसक्ला । समयसँगै शिक्षाको महत्व बढेको छ । अझ आमा शिक्षित हुँदा देशले सम्पन्नता चाँडो प्राप्त गर्छ । यो समय आमाहरुको हो ।
यी आमा हुन्– ओखलढुंगाकी युगमायाँ । यिनी ६९ वर्षकी रहिछन् । भक्तपुरमा बसोबास गर्दै अनामनगरको उत्प्रेरणा विद्यालयबाट यसवर्ष एसइइ परीक्षा दिएकी यी आमाले पास गरेर देखाइन् । ६९ वर्षमा यिनमा पढ्ने भोक । सुन्दै आश्चर्य लाग्छ, तर जहाँ इच्छा त्यहाँ उपाय, मनमा इच्छाशक्ति भएपछि जतिसुकै अप्ठेरो लाग्ने सपना पनि साकार हुनेरहेछ ।
यी आमाका सात सन्तान छन् । उनले नातीसँगै परीक्षा दिइन् र पास गरिन्, नाती र हजुरआमा दुबै खुशी, अहा नेपालको प्रगतिको ढोका खुल्दैछ ।
हुन त शान्ता चौधरी, करिश्मा मानन्धरदेखि अनेक आमाहरु यसपटक परीक्षामा सहभागी भए र उत्तीर्ण पनि गरे । सबे आमाहरुलाई बधाई छ ।
सरकारले सपना देखाएको छ, देशले सपना देखेको छ– विधिको शासन, शान्ति, समानता, समृद्ध नेपाल, सुखी नेपाली ।
यो सपना साकार पार्न यी आमाले जस्तै अठोट, इच्छाशक्ति सरकार, संसद, विचारकहरुले देखाउन सक्नुपर्छ । यी आमाहरुको जस्तो आँट र अठोट बिना नयाँ नेपाल, लोकतान्त्रिक नेपाल निर्माण सम्भव छैन ।
हो, केही व्यक्तिहरु आमाहरुविरुद्ध तथानाम बोल्न थालेका छन् । तिनलाई आमाको महत्व, आधा आकाशको गरिमा बुझाउने जिम्मा सरकारको हो, कानुनको हो । समाजले छिःछिः दूरदूर गरेका व्यक्तिहरु दण्डित हुनुपर्छ । समाजले असल मानेका व्यक्तिहरुलाई सही ठाउँको जिम्मेवारी दिनुपर्छ । जनता र सरकारवीच फैलदै गएको विश्वासको खाडल कम गर्न सरकारले ध्यान दिनैपर्छ । पार्टीले पाएको जनबल भनेको आवधिक हो, सधैंको लागि बरदान होइन । राम्रो काम गर्नेले जनताबाट पटक पटक बरदान पाइरहन्छ भने जनइच्छामा चल्न नसक्ने र जनताको कुरा नसुन्ने जो कोही होस्, उसले जनताबाट लतारिनै पर्छ, पछारिनै पर्छ । त्यसैले यी आमाहरुबाट सिकौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper