banner
banner

गणतन्त्र कृष्णभीरमा....

शाश्वत शर्मा -
हिंसात्मक आन्दोलनको बलमा आएको गणतन्त्र अनितम चरणमा पुगेजस्तो छ । केही पार्टीका नेताको स्वार्थमा २०७२ साल असोज ३ गते जारी गरिएको संविधान संस्थागत भइसक्यो, अव मुलुक आर्थिक सामाजिक विकासको चरणमा हिडिसक्यो भनेर जतिसुकै फलाके पनि वास्तवमा मुलुक अगाडि बढेको होइन, पछाडि धकेलिएको छ । एक त कम्युनिष्टहरु सत्तामा, त्यो पनि दुई तिहाइ बहुमतका साथ, यो नै संविधानलाई असफल बनाउने कामका लागि काफी भनेर एकथरि चिन्तकहरुले तीन तहको निर्वाचनको परिणाम सार्वजनिक हुनेबित्तिकै भनेका थिए । लामो समय आलोपालो शासन भोगेर वाक्क भएका जनताले तत्कालीन एमालेलाई बहुमत दिएर संसदमा पु¥याए, त्यसमा माओवादी मिसाएर नेकपा बनेपछि दुई तिहाइको दम्भ र अहंले नेकपाको शासन तानाशाही बन्नपुगेको विचार विश्लेषकहरुको छ ।
नेकपाको अहं यसरी बढेको छ कि पुरातन परम्परा, संस्कृति र संस्कार नै मस्न लागिपरेको छ । त्यसो त नेकपाको सरकारले कुनै पनि क्षेत्रलाई नेकपाकरण गर्न छाडेको छैन । अदालत, सेना, प्रहरी, निजामती कर्मचारी, मिडिया, शिक्षा, स्वास्थ्य, कुनै पनि व्यवसायमा समेत नेकपाकरण भइरहेको छ । कुनै क्ष्ँेत्र सन्तुष्ट छैन, मुलुक बिधिले होइन, नेकपाकरणले चल्न थालेको छ ।
नेकपाको सरकार लोकतान्त्रिकरणका प्रकृया, मर्म र मर्यादाबाट चल्न छाडेको छ । जतिसक्यो नेकपाकरण गरेर शक्ति सञ्चय गर्नु एकमात्र उद्देश्य देखिन्छ । कसरी सबै संवेदनशील निकायहरु आफ्नो पकडमा राख्न सकिन्छ, सत्ता सधैंका लागि कब्जा गर्न सकिन्छ, हरेक क्षेत्रमा नेकपाका मान्छे, अझ आफ्ना आसेपासेलाई भर्ति गरेर एकछत्र हुकुमी शासन स्थापित गराउन सकिन्छ भनेर लागिपरेको देखिन्छ । समयमै सचेत भएर छाडा साँढे प्रवृत्तिमा सुधार गर्न सकिएन भने नेकपा फुक्काफाक हुँदै जानेछ ।
मिडिया बिधेयकको विरुद्धमा सल्केको आन्दोलनको रापमा ताप थप्दै गुठी विधेयक अगाडि आएको छ । गुठी विधेयकका विरुद्धमा उपत्यकामात्र होइन, मुलुक नै तातेको छ । सडकमा सरकारका विरुद्ध राँके जुलुस, मसालसहितको विरोधसभाहरु भइरहेका छन् । संस्कृतविद तथा शताव्दी पुरुष सत्यमोहन जोशीले समेत गुठीलाई चलाएर सरकारले आफ्नो अन्त्य निम्त्याएको टिप्पणी गरिसकेका छन् । नेपाल चिनारी दिन सफल गुठी संस्कृति जोगाउन गुठियारहरु सडकमा उत्रेका छन् । गुठी मासेर त्यसको जिम्मा नेकपाका मान्छेले हाँक्ने प्राधिकरणलाई दिने भन्ने सोच नै गलत हो ।
हुँदाहुँदा थाइलेण्डमा रहेका पूर्वराजाले समेत त्यस विषयमा गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन् । पूर्वराजाले मुलुकको संस्कृति, धर्म, परम्परासँग जोडिएका संस्थाहरु सामाजिक सौहाद्रता र राष्ट्रिय एकताका दरिलो आधारहरु हुन् भन्ने कुरलाई मनन गर्दै तिनीहरुलाई कुनै पनि रुपमा खल्बल्याउन नहुने भनेर बताएको प्रकाशमा आएको छ । साथै पूर्वराजाले यस्तो परिस्थिति आए यसको परिणाम राम्रो नहुने संकेत पनि गरेका छन् । सरकार बेलैमा सचेत भएन सुधारिएन भने यसको ज्वालाले सरकारलाई मात्रै होइन कि वर्तमान संविधान र यसमा जबरजस्ती राखिएका गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई खरानी पार्छ भन्नेमा विश्लेषकहरु विश्वस्त छन् ।
त्यसो त विज्ञहरु गत महिना भारतमा भएको लोकसभाको निर्वाचन र यसको परिणामका कारण सत्तारुढ भाजपाका प्रधानमन्त्री नरेन्द्र मोदीका कारण नेपालमा कुनै न कुनै परिवर्तन हुने अनुमान गर्छन् । सबै क्षेत्रमा भाँडतन्त्र चलाएर वर्तमान शासन व्यवस्थाप्रति नै सर्वसाधारणमा वितृष्णा फैलाउन नेकपाको टिम लागिपरेको प्रष्टै देखिन्छ । त्यसो त गणतन्त्र घोषणा गरेर राजतन्त्रलाई किनारा लगाउने षडयन्त्रले देशको स्थिति अराजक र अस्थिर छँदैछ, त्यसमाथि नेकपाकरणविरुद्ध संविधान बाहिरका शक्तिको असन्तुष्टिले खरानीको भुतभुते आगो देखिन थालेको छ, जुन जुनसुकै बेला डढेलो सल्कन सक्छ ।
अहिले दुई तिहाइ भएकै बेलामा नेकपाकरण गरिहाल्न हतारिएको नेकपाको सरकारले मिडियालाई बसमा पार्न र गुठीलाई नेकपाकरण गर्न हतारिनु आफैमा आत्महत्याको प्रयास हुने सम्भाबना छ । जनमतको बलमा अधिनायकवादी बन्ने सोच नै नेकपाको गलत नीति हुनपुगेको छ । केही लेखकहरुले त होली वाइन प्रकरणदेखि गुठी प्रकरणसम्म डिजाइनअनुसार नै भइरहेको भन्दैछन् । हिन्दुहरुको पर्वविदासमेत कटौती गर्दै शनै शनै सुरु गरिएको परम्परा, संस्कृति, रितिरिवाज आदि मास्ने कम्युनिष्टकरणलाई धेरैले माओको सांस्कृतिक कार्यक्रमसँग पनि जोडेका छन् । त्यसो त इन्द्रजात्रालाई तत्कालीन डा.बाबुराम भट्टराईको सरकारले चलाउन खोज्दा देखिएको भित्री काठमाडौंको रुपलाई वर्तमान सरकारले सम्झिएको भए राम्रो हुन्थ्यो । बाहिरबाट आएकाले राजधानीको जात्रामात्र, गुठी समाप्त गर्न खोजेको जातिगत कुरा पनि उछालिन थालेका छन् । अर्थात ओली सरकारले यो विधेयकलाई जनभावना अनुसार संशोधन, अझ फिर्तँ नलिए, मुलुक अर्को संकटमा फस्न पुग्नेछ । आदिवासी र बाहिरियावीच विवाद बढ्न थालिसक्यो । अहिले मौखिक र लिखितमा सुरु भएको यो विवाद भोलिकादिनमा मारामारको स्थितिमा पुग्न बेर छैन । त्यसो त, अधिकांश नेपालीलाई वर्तमान संविधान रहोस् वा नरहोस् त्यसको मतलव नै छैन । किनभने यो संविधान नेपाल र नेपालीले छलफल गरेर बनाएकै होइन, जनसुझावलाई समेटेकै छैन । विदेशी षडयन्त्रमा नेपाललाई ध्वस्त पार्ने निर्माण गरिएको संविधानका कारण नेपालीको मनोभावनामा रहेको एकता भाँडिन पुगेको छ । एकताप्रति नेपाली नै सजग हुनुपर्ने छ । भन्नैपर्छ, यो गणतान्त्रिक संविधान आफ्नो अन्तिम चरणमा पुगिसक्यो ।
समस्याको जड संविधान हो । यो संविधान केही व्यक्तिको सत्ता स्वार्थ र विदेशीलाई खुशी पार्न निर्माण गरिएका कारण शान्ति र समृद्धि सपना बन्न पुगेको हो । यो संविधानले आमनेपाली भावनालाई समेटेकै छैन । त्यसको परिणाम हो, अराजकता र अस्थिरता ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper