banner
banner

छोरीलाई शिक्षा किन ?

देवी काफ्ले -
समाज परीवर्तन गर्न एक्लो पुरूषले कदापी सामर्थ्य राख्दैन तर पनि नारी शिक्षाको आवश्यकतालाई महसुस गर्न पनि खोज्दैन । नेपालको पितृसत्ता यस्तै छ ।
स्वास्नी मानिसले न त राजनीति जान्दछन् न त अर्थनीति नै । न त यिनीहरू अप्ठेरा काम गर्न सामर्थ्य राख्छन् । हाम्रो समाजका महावाणी हुन् यी । आखिर कसरी गर्ने अप्ठेरा काम ? आँट गरून् त समाजका तिखा बचनवाण, चुरापोतेको जञ्जीरले बाँधेर सौन्दर्यताको कालकोठरीमा जाकिएको हुन्छ महिलालाई ।
आज स्वास्नीमानिसहरू शहरमा बसेर कुटोकोदालो, दाउराघांस, गोबरसोत्तर गर्न नपर्नु राम्रा र महँगा श्रृंगारका सामानले पोतिएर सिनेमा जानु, होटलमा खानु, एक दुई कार्यक्रममा जानु, पाए माइकमा बोल्नुलाई स्वतन्त्रताको नाम दिएर मक्ख छन् । तर यो नारी स्वतन्त्रता होइन भन्ने मेरो ठम््याइ छ । यो पूर्ण रूपमा गलत छ ।
पुरूषले नारीलाई तिमी राम्री, सुन्दरी भनिदियो कि उनी आफ्नो भित्री सुन्दरता र क्षमतालाई चटक्कै बिर्सेर बाहिरी सुन्दरताको लागि सौन्दर्यताको महंगा सौन्दर्य प्रशाधन प्रयोग गर्छिन् । भित्री सुन्दरतालाई कुनै भाऊ दिन चाहदिनन् । उनी त केवल बस्तुको मोलमोलाई गर्दा ब्यापारीले गरेको बस्तुको जस्तो तारीफ सुन्न लालायित हुन्छीन् । किन ? महिलामा विकास गरिएको ठूलो दुर्गुण हो यो । महिला जसलाई आधा आकाश भनिन्छ, आधा आकाश भनेको भोगविलाशमात्र हो, अरु के के हुन् महिला, यसबारेमा महिलाहरुले व्यापक छलफल गर्न जरुरी छ ।
स्वास्नीमानिसभित्र अद्वैत क्षमता हुन्छ । उनले चाहे जस्तोसुकै काम पनि गर्न सक्छिन् । उनी हृदयले अति कोमल पनि भैहाल्छिन् । महिला कोमलतामात्र होइनन्, परिआए कठोर भन्दा कठोर बनेर जस्तोसुकै चुनौतिको सामना गर्न सक्छिन् । त्यो अवशर स्वास्नीमानिसले पाउनुपर्छ । परीक्षण गरेपछि थाहा हुन्छ, स्वास्नीमानिसमा कुन ताकत छ, कुन आँट र अवसर पाए के सम्म गर्न सक्छन् ?
हाम्रो देशमा अहिले केही मात्रामा मात्र शिक्षित छन् । पूर्णरूपमा हैन । सरकारले तिनै केही महिलालाई आरक्षणको नाममा बिभिन्न तहतप्कामा पु¥याउँदैमा सम्पूर्ण नारी शिक्षित भन्न मिल्दैन होला पक्कै पनि । महिलालाई आरक्षण होइन, आजका महिलाका लागि चाहिने अवसर सवलीकरणको हो । सवलीकरणले महिलाई प्रतिस्पर्धी बनाउन सक्छ । प्रतिस्पर्धी बनाउने महिलाको खाँचो हो ।
सरकारले चलाएको साक्षरता अभियानले गाऊंघरमा प्रौढ शिक्षा लागु गर्यो । आफ्नो नाम लेख्न सक्ने हुंदैमा पूर्ण साक्षरताको ट्याग लगाइदियो गाऊं टोललाई । यतिले शैक्षिक गुणस्तर र शैक्षिक जनस्तर बढ्यो त ??
छोरीलाई स्कूल पढ्न पठाएको के साँच्चै शिक्षित बनाउन हो त ? केही मानिसले मात्र यो कुरा स्वीकार गरेर छोरी पढ्न पठाएका छन् । तर अधिकांशले बिवाहको बजारमा केटीहरूको भाऊ बढाउन मोलतोल गर्न मात्रै स्कूल पठाएका छन् । यस्तो सानो सोचले महिला सवल र सक्षम हुन सक्दिनन् ।
हाम्रो समाजका उच्च शिक्षा हासिल गरेका छोरीहरूले कति बुझेका छन्– स्वास्नीमानिस र लोग्नेमानिस दुबै मानिस हुन् भन्ने कुरा ?
जुनसुकै पदमा पुगे पनि घरको काम स्वास्नीमानिसले नै गर्नुपर्छ, बाहिरको काम स्वास्नीमानिसले गर्नु हँुदैन, स्वास्नीमानिसको कमाई पुरूषले प्रयोग ग¥यो भने नामर्दको संज्ञा दिने, छोराछोरीको पालनपोषण, लोग्नेको चाकरी, परीवारका सदस्यहरूको सेवा सबै स्वास्नीमानिसको जिम्मा हो भन्ने सामाजिक बुझाइ छ । यो बुझाइबाट थाहा हुन्छ– अनि कसरी नारी स्वतन्त्र छिन त ??
केहि औंलामा गन्न मिल्ने महिला उच्च ओहोदामा पुग्दैमा नारी स्वतन्त्रता पाए ? यत्रो ओहोदामा पुग्नु नै नारी स्वतन्त्रता हो भन्नेहरूले कहिले देख्छन् हाम्रा बिकट गाऊंघरका आमा दिदीबैनी भाउजु बुहारीका पिडा र समस्या ??
यहां परिवारको एकजना सदस्यले मात्र परीवर्तन चाहेर खोजेर हुंदैन । यहां स्वास्नीमानिस नै स्वास्नीमानिसका शत्रु बनिरहेका छन् । सासु नन्द, आमाजुका कारण बुहारीले जल्नु परेको छ, झुण्डिनु परेको छ भने कैयौं सासुहरू बुहारीका कारण बृद्धाश्रममा शरण लिन बाध्य भयका छन् । समस्या अनेक छन् ।
सौता सौता त नारी मास्ने हतियारकै रूपमा प्रमाणित भएको सम्बन्ध हो । यसको सबै कारण महिलामा ब्याप्त संकिर्ण सोंच नै हो ।
यी संकिर्ण सोंचबाट पार तार्ने, आफुमा विद्यमान क्षमताको पहिचान गर्नको लागि र समाजमा केही गर्न सक्छु, म परिवर्तन गर्न सक्छु भन्ने आत्मबिश्वास जागृत गराउन पनि छोरीलाई अनिवार्य शिक्षाको आवश्यकता छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper